हरिप्रसाद सोडारी । समय-समयमा भएका युद्ध, महामारी, दुईवटा विश्वयुद्धदेखि हरेक देशमा बढ्दै गएको अस्थिर राजनीतिक अवस्थाले पृथ्वी नष्ट हुँदैछ कि भन्ने डर पैदा गरिरहन्छ। कुनै कालखण्डमा धर्म, ज्ञान, विज्ञान र शान्ति पैदा गर्ने राष्ट्रहरु अभाव, आक्रान्त र अस्थिर बन्दै गएका छन्।
अर्कोतर्फ उपग्रह-उल्का आदि ठोकिन आएर तहसनहस गराउँदैछ भनेर विभिन्न माध्यमबाट हल्लाहरु आइरहन्छ। सन् २०१२ मा यस्तै हल्ला क्रिश्चियन धर्मकै नाममा मच्चाइयो। जेरुसेलमबाट युरोप र अमेरिकासम्म पुग्दा क्रिश्चियन धर्म धेरै चिरा र चौटामा विभाजित भइसकेको थियो।
उपनिवेशकालमा युरोपियन मुलुकहरूले धर्मलाई हतियार बनाएर व्यापार फैलाए, राज्य लुटे। यसकारण क्रिश्चियन धर्म नभएर कमाउने, झुक्याउने, फुटाउने अस्त्र बन्न पुग्यो।
पश्चिमाहरूले स्वर्ग जाने बाटो देखाइदिने, विभेद र रोग हटाइदिने, गरिबी र तनावबाट मुक्त गराइदिने नाममा धेरै राष्ट्र र समाजलाई नांगाे बनाए। माग्ने बनाएर सडकमा पुर्याएपछि आफैँले भिक्षा दिएर फेरि सेवा र दानका पितामह बने।
वैदिक शास्त्रले भ्रमद्वारा कसैलाई त्रसित बनाई दुःख दिँदैन। कीर्ते, मुडे विषय वैदिक ग्रन्थमा नभएकाले पश्चिमाहरूको आकर्षण वैदिक ग्रन्थमा बढ्दै गएको छ। आजसम्म हाम्रो धर्मलाई राष्ट्रले सुरक्षा दिएन बरु धर्मले राष्ट्र र जनताको कल्याण एवं सुरक्षा गर्यो।
ज्योतिषशास्त्रअनुसार वि. सं. २०७९ सम्म आइपुग्दा सृष्टिको प्रारम्भ भएको १,९५,५८,८५,१२३ वर्ष बितिसकेको छ। पाश्चात्यका यन्त्र र ग्रन्थले तत्कालबाहेक कहाँ, कति वर्षपछि, कुन ग्रहण लाग्छ पत्ता लगाउन सक्दैनन्।
ज्योतिषशास्त्रले हजारौँ वर्षपछि पृथ्वीको कुन-कुन स्थानमा खग्रास, खण्डग्रास ग्रहण, कति समयसम्म लाग्छ सजिलै बताइदिन्छ। गीताका अनुसार सत्यवादीलाई बाँच्न जब गाह्रो पर्दै जान्छ तब मानवहित, जगत्कल्याण एवं धर्मको अभ्युथान (पुनर्जागरण)का लागि भगवान्ले जन्म लिनुहुन्छ।
नृसिंहले हिरण्यकश्यपुको, परशुरामले उग्रस्वभावका क्षत्रीहरूको, रामले रावणको, कृष्णले कंसको, दुर्गाले रक्तबीज-शुम्भ-निशुम्भको, सीताले ऐरावणको विनाश गरेका थिए। संसार नष्ट हुनका लागि चारयुग पूरा हुनुपर्छ । ब्रम्हाजीको सय वर्षपछि महाप्रलय भई पृथ्वी नष्ट हुन्छ।
एक युगको समाप्त हुनेबित्तिकै पृथ्वी नष्ट हुँदैन, प्रकृतिमा रूपान्तरण, स्वभावमा भिन्नता मात्र आउँछ। प्रलय हुन समय लाग्दैन भन्ने विषयलाई वि. सं. २०७२ वैशाख १२ गते गएको ७.६ रेक्टर स्केलको भूकम्पले प्रष्ट बनाइदिएको छ।
दिउँसो ११ः५६ बजे लगभग एक मिनेट गएको महाभूकम्पले गरेको नोक्शान हामीले भोगेकै हो, देखेकै हो, सुनेकै हो। विश्वलाई हतियारले नष्ट गर्नुपर्दैन भन्ने तथ्यलाई कोरोनाले देखाएको छ।
यो अठ्ठाइसौँ कलियुग हो जसको आयु वि. सं. २०८० सालसम्म आइपुग्दा ५,१२४ वर्षमात्र बितेको छ। कुविचार, कुसंस्कार र कुकर्मको प्रभावले मानिसको आयु एकपछि अर्को युगमा छोटो हुँदै जान्छ।
हामी प्रविधिमा रमायौं, प्रकृतिलाई छोडिदियौं, संस्कृतिलाई तोडिदियौँ। प्रविधिले सुविधा र सुख दिन्छ, आनन्द दिँदैन। प्रकृतिले आनन्द र आयुमा वृद्धि गर्छ। अहिले विकाश भएको छ तर वैभव छैन, विचार छ तर विवेक छैन, सम्पत्ति छ तर संस्कार छैन।
श्रीदेवीभागवत् (९।८।२८)का अनुसार “शासक वर्गहरूमा कुनै तागत हुँदैन र प्रजाले मान्दैनन्। शासकले जनताबाट थेग्न नसक्ने कर उठाएर लिने छन्।” ठूला नदी, तलाउ, झरनाहरू सुक्ने छन्।
शास्त्रहरूले कलियुगको पाँच हजार वर्ष बितेपछि सबै नदीहरू प्रदूषित भई अन्त्यमा पानीको चरम अभाव हुने बताउँछन्। अहिले कलियुगको पाँचहजार वर्ष बितेको छ। काठमाडौँउपत्यकाभित्रका मात्र होइनन् अन्य नदीहरूसमेत प्रदूषित बन्दै गएका छन्।
गाईले दिसा खान्छन्, पीपलको पात फेदसम्म टुप्पोजस्तै मसिनो हुन्छ, उर्वरभूमिहरू मरुभूमि बन्दछन्, नदीहरू गहिरिँदै गएर लुप्त हुन्छन्, नैतिकताको नाश हुन्छ अनि कलियुग चरम अवस्थामा पुग्दछ।
नेपाल तीर्थहरुको शिरोभाग, ऋषिहरुको जन्मस्थल, देवीदेवताको विचरण भूमि हो तर यहाँका राजनीति हाम्रो मुठ्ठीमा कहिल्यै भएन। धर्मलाई संरक्षण गर्न सकेनौँ, भूगोलको ऊर्जालाई सदुपयोग गरेनौँ, युवाहरुलाई थेक्न अनि संस्कारलाई जोगाउनबाट चुक्यौं।
कुल पूजा, पितृको अनुष्ठानहरु ओझेलमा पर्दै गए। तुलसीका मोठ, गाईका गोठहरु पुस्तकमा पनि भेटिन छोडे। ब्रह्माण्डको चर्चा गर्न सक्ने, हरेकसँग बहस गर्न सक्ने तर गाँस, बास र कपडाको प्रबन्ध गर्न नसक्ने समाजलाई हेर्दा कतै पृथ्वी नष्ट पो हुन लाग्यो कि भन्ने कल्पना मानसपटलमा दौडन सक्छ।
आचरण, आदर, आत्मीयता पनि विस्तारै अस्ताउन लागे। परिवार, समाज, सम्प्रदायभित्र कोही कसैले भनेको सजिलै पत्याउने, मान्ने, बुझ्ने, साथ दिनेको अनिकाल पर्दै गएको छ।
मिली राखेको समाज, जग्मगाइरहेको संस्कृति, चम्किएरहेको शिक्षालाई निभाउनलाई आन्तरिक र बाह्य क्षेत्रबाट हदैसम्मको प्रयास हुँदै गइरहेको छ। यो गति नेपालजस्तै संस्कृति र सम्पादले भरिपूर्ण भएको मुलुकमा अधिक छ।
आफू, आफ्नो र आफन्तप्रतिको श्रद्धा दिन प्रतिदिन ओरालो लाग्दै गएको छ। पुर्खाको विज्ञान, विचार र विकासमा चासो दिनुलाई ढुङ्गेयुगतिर फर्कनु जस्तो ठानियो।
ऋषिमुनिहरूमध्ये निदान (डाइनोसिस)मा माधव, औषधिको ज्ञानमा वाग्भट, शल्य (सर्जरी)मा सुश्रुत एवं चिकित्सा (थेरापी)मा चरक श्रेष्ठ थिए। उनीहरूले रोगको पहिचान एवं निराकरणको सूक्ष्म विश्लेषण गरी उपचार गर्दथे।
कति वर्षपछि के हुन्छ, त्यसको सूचना शरीर, संस्कार, प्रकृति, प्राणीले कसरी दिन्छन्। उन्नतिका नाममा हरेक समाजपतनोन्मुख हुँदै विस्तारै विनाश उन्मुखतर्फ लम्कँदै छ। प्रकृतिको दोहन भएको छ तर सर्वनाश भएको छैन। खगोल, भूगोल, जीव सबैको अध्ययन नगरी प्रलयको हाउगुजी देखाउन हुँदैन।
सत्यहीना जनाः सर्वे सस्यहीना च मेदिनी ।
फलहीनाश्च तरवोगपत्यहीनाश्च योषितः ।।
-देवीभागवत (९।८।२६)