२ किलो चिनी किन्न धादिङबाट काठमाडौँ

युनिस तामाङ
काठमाडौं।कात्तिक २ गते। बजारमा चिनी अभाव भएपछि काठमाडौँको सुपथ मूल्य पसलमा धादिङदेखि मानिसहरू दुई किलो चिनी किन्नका लागि काठमाडौँ आएका छन् ।

नेपालीको मुख्य चाड दसैँ, तिहार र छठको समयमा बजारमा चिनी अभाव भएपछि धादिङ छत्रेदेउरालीका साधुरामप्रसाद भट्टराई काठमाडौँको कालीमाटीस्थित साल्ट ट्रेडिङ कर्पोरेसनमा आउनुभएको हो ।

दसैँ, तिहार र छठमा नेपालीले ठुलो मात्रामा चिनी प्रयोग गर्ने समयमा सरकारले दायित्व निर्वाह गर्न नसकेको भट्टराईले बताउनुभयो ।

उहाँले मुख्य चाडपर्वको समयमा दुई किलो चिनी खरिद गर्न धादिङदेखि काठमाडौँ आउनुपर्ने बाध्यता सरकारको लापरबाहीकै कारण भएको भन्दै आक्रोश व्यक्त गर्नुभयो ।

उहाँले चिनी लगायत दैनिक उपभोग्य वस्तुको उपलब्धता समयमा नै गराउनु राज्यको दायित्व भएको भन्दै राज्यले जनताप्रतिको दायित्व बिर्सेको आरोप लगाउनुभयो ।

भट्टराईले धादिङका खाद्यान्न पसलमा चिनी नपाएको र पाए पनि किलोको १६० रुपियाँसम्म पर्ने गरेको बताउनुभयो । उहाँले जन्मेदेखि पहिलो पटक धादिङबाट दुई किलो चिनी किन्न काठमाडौँमा आउनु परेको सुनाउनुभयो ।

त्यस्तै, सहुलियत पसलमा चिनी किन्न लाममा बस्नुभएकी सावित्री उप्रेतीले चिनी किन्न दुई घण्टा लाममा लाग्नुपरेका बताउनुभयो ।

उहाँले नेपालीको मुख्य चाड दसैँ, तिहार र छठ आउने समयमा सरकारले आवश्यकतालाई हेरेर समयमा नै उपलब्धता गराउन नसक्नु जनतालाई दुःख दिनुभएको बताउनुभयो ।

उहाँले सरकारले सञ्चालन गरेको सहुलियत पसल भन्दा बाहिरका पसलहरूमा चिनी नपाएको भन्दै दुई किलो भए पनि लाममा बसेर लिन आएको बताउनुभयो ।

उहाँले सरकार जनताप्रति उत्तरदायी नहुँदा हरेक वर्ष ग्यास, चिनी, नुनलगायत अन्य खाद्यान्नको अभाव झेल्दै आएको भन्दै जनतालाई सधैँ सास्ती मात्रै दिएको बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here