तामाङभाषी र नेवार भाषीलाई खुसीको खबर

युनिस तामाङ
हेटौंडा।वाग्मती प्रदेशमा तामाङ र नेपाल (नेवारी) भाषा सरकारी कामकाजको भाषाको रुपमा प्रचलनमा आउने भएको छ ।

वाग्मती प्रदेशसभामा सोमबार प्रदेश सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सर्वसम्मतिले पारित भएसँगै तामाङ र नेवारी भाषा सरकारी कामकाजको भाषाको रुपमा प्रचलनमा आउने निश्चित भएको हो ।

प्रदेश सरकारका संस्कृति, पर्यटन तथा सहकारी मन्त्री पुकार महर्जनले प्रस्तुत गरेको विधेयकमाथि छलफलपछि सोमबार सभामुख भुवनकुमार पाठकले निर्णयार्थ पेस गरेका थिए ।

अब प्रदेशसभा सचिवालयले प्रदेश सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकलाई प्रदेश प्रमुखसमक्ष प्रमाणीकरणका लागि पठाइने छ ।

प्रदेश प्रमुखले प्रमाणित गरेपछि प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले राजपत्रमा प्रकाशित गर्नेछ । राजपत्रमा प्रकाशित भएको मितिले १ सय ८० दिनपछि प्रदेशसभाबाट पारित विधेयक लागू हुनेछ ।

प्रदेशसभामा विधेयक पारित गर्न प्रस्ताव गर्ने क्रममा सभामुख पाठकले प्रस्तावना वाचन गरेर सुनाएका थिए । मौलिक भाषाको संरक्षण र प्रवर्द्धनमा सहयोग पुग्ने उद्देश्यले सरकारी कामकाजको भाषाको रुपमा प्रदेशका बहुसंख्यक जनताको बोलीचालीको भाषा प्रयोगमा ल्याउने प्रयास भएको उनले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here