सुवास नेम्वाङको निधन

काठमाडौँ । नेकपा एमाले उपाध्यक्ष तथा संविधानसभा पूर्व अध्यक्ष सुवास नेम्वाङको निधन भएको छ । उनको हृदयघातका कारण त्रिवि शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भएको एमाले नेता खिमलाल भट्टराईले जानकारी दिए । बालुवाटारस्थित निवासमा हृदयघात भएसँगै उनलाई परिवारले त्रिवि शिक्षण अस्पताल लगे पनि चिकित्सकले मृत घोषणा गरेको बताइएको छ । 

नेम्वाङ गत मंसिरमा सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा इलाम–२ बाट विजयी भएका थिए । उनी एमाले संसदीय दलका उपनेता समेत हुन् । नेम्वाङ विस २०६३ मा पुनः स्थापित प्रतिनिसिधासभाको सभामुख, २०६४ सालमा व्यवस्थापिका संसदको सभामुख, २०६५ र २०७० सालमा संविधानसभा अध्यक्ष र २०७२ सालमा सभामुख भएका थिए ।यसैगरी विसं २०४८ देखि २०५२ सालसम्म राष्ट्रियसभा सदस्य बनेका उनी त्यस लगत्तै पुनः राष्ट्रियसभा सदस्य भएका थिए । प्रतिनिधिसभा निर्वाचन २०६५ मा इलाम २ बाट निर्वाचित उनी संविधानसभा निर्वाचन २०६४ र २०७० मा पनि इलाम २ बाट नै निर्वाचित भएका थिए । प्रतिनिधिसभा निर्वाचन २०७४ मा इलाम २ बाट निर्वाचित नेम्वाङ कानून समिति सदस्य, संसदीय दलको उपनेता र २०५६ सालमा सार्वजनिक लेखा समिति सभापति पनि भएका थिए ।    

विसं २०५१ मा न्याय कानून तथा संसदीय राज्यमन्त्री  भएका उनी सामान्य प्रशासनमन्त्री र स्थानीय विकासमन्त्री भए । राजनीतिमा प्रवेश गर्नुअघि नेपाल ल क्याम्पसमा प्राध्यापन र कानून व्यवसायी रहेका थिए । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here