दक्षिण एसियाकै ठूलो झार्लाङ पहिरो

युनिस तामाङ
धादिङ।खनियाबास गाऊँपालिका(झार्लाङ) मा बिरलै देख्ने भोगिने नमेटिने आँसुका आहालहरूको अव्यक्त दर्दहरु बोकेका कथा अनुभवहरूको गथासो बोकेर अझै पनि बाँचिरहेको छ ।

माथी आकाशमा बादल मडारिँदा र चट्याङका आवाज सुन्दा अहिले पनि स्थानीयको सातो पुत्लो उड्छ,वर्षात, बादल र पहिरोबाट त्रास भोग्नेहरू अझै धेरै छन् । 

सदीयौ देखी मिलेर बसेका २ परिवारमा फाटो पर्दा कस्तो समस्या पर्दो हो ? बसिरहेको घर बगेर विस्थापित हुनुपर्दाको व्यथा कस्तो हुन्छ होला ? अझ त्यसबेला लालाबाला र बाबा आमाहरू गुमाएर एक्लै रुखको छहारीमा बाँच्नुपर्दाको कहरलाई संसारको कुन भाषाले व्यक्त गर्दो हो ? बिरलै देखिने र भोगिने नमेटिने आँसुका आहालहरूको अव्यक्त दर्द बोकेका कथा सहितका अनुभवहरूको गथासो बोकेर अझै पनि बाँचिरहेको छ – झार्लाङ, जसको आँगन प्रतिवर्ष खसिरहन्छ, बगिरहन्छ- करेसा बारी, घर, गल्ली गल्छेडाहरू । ढलेका पर्खाल, करेसा, गोठ, कटेरालाई मात्र होइन, घरबारी र त्यसैसँग बिलाएका आफन्तहरूलाई पनि मुटु मिचेर बिर्सनुपर्ने नियतिका अनेक यथार्थ मिथकजस्तै बनेको छ झार्लाङका लागि । एकै डाँडाको बस्तीलाई पहिरोले चिरेर दुई भागमा विभाजित गरेपछि भूगोलमा मात्र होइन, सामाजिकता र सम्बन्धमा पनि चिरा पर्दो रहेछ । झार्लाङमा त्यस्तै भएको छ । पहिरो वारी र पहिरो पारीबीच केही हदसम्म वैमनस्यता देख्न पाइन्छ । 

६८ वर्षदेखि झार्लाङमा निरन्तर पहिरो बगिरहेको छ । पहिरोले बेला बेलामा बाटो बदलिरहन्छ । हिउँदमा केही सुख्खा स्थानहरूमा पहिरो थामिए पनि वर्षामा वारपार गर्ने बाटो बन्द हुने अवस्थामा छ । करिब एक किलोमिटरदेखि तलमाथि १२ किलोमिटर सिङ्गो गाउँ नै बगेर बगर र भिर बनेपछि त्यस स्थलमा झाडी बञ्जर बनेको छ ।
यसको कारण स्थिर संरचनाहरू निर्माण गर्न नसकिएको गाउँपालिका अध्यक्ष रणबहादुर तामाङले बताएका छन् । अध्यक्ष तामाङ वर्षमा दुई पटक बाटो बनाइने गरेपनि वर्षादमा पानीले र हिउँदमा सुख्खा पहिरोले बाटो बिगारि रहेको उल्लेख गर्छन् । “पैदल हिँड्न पनि त्राहिमाम् बनाइदिन्छ । गाउँ पालिकाको स्रोतबाट यो विशाल पहिरो रोक्न सकिन्न । त्यसैले यसका लागि सङ्घीय सरकार वा प्रदेश सरकारसँग सहकार्य गर्न लागिरहेका छौँ”, उनले भने । 
पहिरोले झार्लाङ एकै डाँडामा रहेको बस्तीलाई  पहिरो पारि र वारि दुई गाउँहरूमा विभाजन मात्र गरिदिएन, लामो पहिरो निरन्तर बगिरहने भएकाले वारपार गर्न सकिने अवस्था थिएन । पहिरो वर्षामा मात्र होइन हिउँदमा पनि खसिरहन्थ्यो । बाटोको नामोनिशान थिएन । त्यसैको कारण मिलेर बसेको गाउँ परदेशी जस्तो र सम्बन्धहरू बिरानो भइदियो । विद्यालय खोल्ने, बाटो बनाउने र विकास निर्माणका सानातिना सवालहरूमा पहिरो वारि र पारिको प्रतिस्पर्धा हुन थाल्यो । यसकै कारण पनि कहिले कहिले दुई गाउँहरू बिचमा अस्वस्थ्य प्रतिस्पर्धा बेमेल झैझगडाको स्तरमा पुगेको थियो ।

प्रतिस्पर्धाकै कारण एकै गाउँमा पहिरो पारि र वारि एकै गाउँमा दुई फरक फरक माध्यमिक विद्यालयहरू बनेका छन् ।
पहिरोपूर्व सम्म गाउँघरमा सुखै थियो । डोको बुन्ने, मान्द्रा, भकारी बुन्ने निगालाका घारी घरमाथिकै जङ्गलमा पाइन्थ्यो । भकारीमा टन्न आलु राखिन्थ्यो । केराउ, भटमास र गहुँको कमी थिएन ।
गोठमा ३०, ४० वटा भेडाबाख्राहरू र १०, १२ वटा गाईबस्तुहरू थिए । खानपिनमा कुनै दुःख थिएन । गोठ सार्दै सिङ्ल्हासम्म पुगिन्थ्यो । भेडीगोठ परम्परा आफ्नो यौवनमा थियो । जीवनको रौनक नै बेग्लै थियो त्यतिबेला । कहाँ कहाँबाट प्राकृतिक पहिरोको विनाशकारी आतङ्क आएपछि जीवन उजाड भइदियो । उतिबेला घरखेत जहान बगाएर पुनर्वास पुगेका कर्साङ लामा ग्रामीण सरल जीवन सम्झन्छन् ।
झार्लाङको पहिरोलाई दक्षिण एसियाकै ठुलो पहिरो भनेर पनि भनियो तर, त्यसको मानक कतै उल्लेख भएको भने छैन । पहिरो निकै ठुलो छ र यसको स्वरूप बदलिएर पश्चिमतर्फ फैलँदै गएको छ । चिन्ता बाँकी रहेका गाउँहरूमा पनि खतराको घण्टी बज्ने अवस्था आउँछ कि भन्नेतर्फ सतर्क रहनुपर्ने भएको छ । 

२०११ सालदेखि बग्न थालेको झार्लाङको पहिरो अझै रोकिएको छैन । त्यतिबेला घरबास उजाडिएका बेला जन्मिएकाहरू पनि अब त पाका भइसकेका छन् । पहिरोबाट २०११ सालदेखि विपद् भोगिरहेकाहरूलाई बल्ल २०२९ सालदेखि २०३६ सालसम्म अनेक छिनाझपटी र कागजी झन्झटिला प्रक्रिया पूरा गरेर स्थानान्तरण गरियो ।
सुदूर पश्चिमको पुनर्वास (हाल नगरपालिका) मा लगेर बस्ती फेरिएपछि धेरैको धर्म फेरियो, परम्परा फेरियो । सँगसँगै जीवनशैली पनि पनि फेरियो । सुख दुःखमा साथ दिनेहरू पनि भए, साथ लिनेहरू पनि  भए  । पिता पुर्खाले आर्जेको थातथलो छोड्न सजिलो थिएन, त्यसैले कतिले लीलबहादुर क्षेत्रीको बसाइँ उपन्यासका पात्रले जस्तै रुँदै रुँदै गाउँ छोडे, कतिले छोडेपछि पनि केही वर्ष बिताएर फर्की आए । 
पुनर्वास नगरपालिकाका पूर्वप्रमुख जीवनराज थापा भन्छन्, “यहाँ आइपुगेका धादिङका पहिरो पीडितहरूको जीवन शैली निकै बदलिएको छ । उहाँहरू शिक्षामा अगाडि हुनुहुन्छ, श्रम, सीप र जाँगर र  सामाजिक रूपमा उहाँहरू अगाडि आउनु भएको छ ।”
झार्लाङमै जन्मिएर पहिरोकै कारण बसाइँ सराइ गर्दै पुनर्वास पुगेका सुदूर पश्चिम प्रदेशका अर्थमन्त्री तारा लामा तामाङ भन्छन्, “मिश्रित समाज भएपछि सबैलाई चलाख बन्न र प्रतिस्पर्धा गर्ने बाध्यता आइलाग्दा चेतनाको उन्नयन हुनु स्वाभाविकै हो । धरै दाजुभाइको शैक्षिक र सामाजिक प्रगति भए पनि सबै जनाको आर्थिक हैसियत भने उस्तो बदलिन सकेको छैन ।” 
उतिबेलाको सरकारले पश्चिम तराईको पुनर्वासमा लगेर स्थापित गरेका करिब ५ सयभन्दा ज्यादा परिवारले त्यहाँका सांस्कृतिक तथा राजनैतिक पृष्ठभूमि पनि दरिलो बनाइसकेका छन् र स्थानीय निकायहरूमा प्रतिनिधित्व धेरैले गरिसकेका छन् । 
उत्तरी धादिङको अन्न भण्डारको रूपमा रहेको झार्लाङ लेकाली आलु, जौ, गहुँ, केराउ तथा भटमास उत्पादनका लागि प्रख्यात छ । यहाँको आलु आएपछि धादिङ बजारमा खोसाखोससँग बिक्री हुन्छ । 
एकै डाँडामा रहेको बस्तीलाई झार्लाङ पहिरो पारि र वारि दुई गाउँहरूमा विभाजन भएपछि उत्पादनमा भन्दा सुरक्षाको चिन्ता भएको, निगालो पाइने जङ्गल पहिरिएको र चित्राफुङ्गा बुन्न कठिन बन्दै गएको छ ।
विगत ६६ वर्षदेखि मान्द्रा, थुन्से, डोका बुन्दै आएका राहुल ग्रेँबा तामाङ आफू घर खेत पहिरिएर पुनर्वास गएपनि त्यहाँ हुने बाघ भालुको डर र सालका ठुटा काट्न नसकेर फर्किएको र यही जन्मेको माटोमा पुरानै डोका डालाको पेसा गरिरहेको बताउँछन् । विगत सम्झँदै उनी भन्छन्, “अहिले पनि पानी पर्दा मुटु हल्लिन्छ र घरमा कोही नदेख्दा केही भइहाल्छ कि भन्ने अत्यास लाग्छ ।” 

अहिले पनि झार्लाङ पहिरो वारि र पारिका करिब दुई सय बस्तीहरू जोखिममा नै छन् । उनीहरू घर परिवार छोडेर जानसक्ने अवस्थामा छैनन् । स्थानीय सरकारले वृक्षारोपण र भएका बोट बिरुवा संरक्षण गरेर रोकथामको प्रयास गरेपनि त्यो प्रयास मात्र पर्याप्त छैन । यसको दिगो समाधान खोज्न पालिकाले केन्द्र तथा प्रदेश सरकारलाई आग्रह पनि गरेको छ । स्थानीय जनता आकाशमा बादल लाग्नासाथ सम्भावित खतराबाट भयभीत बन्ने अवस्थाको अन्त्यको खोजीमा छन् झार्लाङ बासी।

फोटो \लेखक -डा:नबिन बिन्दु पहाडी

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here