नक्कली भुटानी शरणार्थी प्रकरणले नेपाली राष्ट्रिय राजनीति तरंगित

काठमाडौं। नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने ठगी धन्दामा राजनीतिक उच्च पदस्थ नेताहरुको संलग्नता उजागर भएपछि अहिले राष्ट्रिय राजनीति तरंगित भएको छ।
सरकारी उच्च पदस्थ कर्मचारी र राजनीतिक क्षेत्रका उच्च तहमा रहेका नेताहरु मुछिएपछि यसको पराकम्पन आउन अझै बाँकी रहेको बताइन्छ। गृह मन्त्रालयका तत्कालीन सचिव हाल उपराष्ट्रपति कार्यालयमा रहेका टेकनारायण पाण्डे बुधबार पक्राउ परिसकेका छन्।
यही प्रकरणमा प्रहरीले यसअघि केशव दुलाल, सानु भट्टराई, टंककुमार गुरुङ, सन्देश शर्मा र सागर राईलाई प्रहरीले पक्राउ गरिसकेको छ। यिनै पक्राउ परेका भुटानी शरणार्थी प्रकरणमा संलग्नता देखिएका आरोपितहरुको बयानका आधारमा मंगलबार तत्कालीन गृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार द्वन्द्वविद् इन्द्रजित राईलाई पनि मंगलबार पक्राउ गरेको छ।
सार्वजनिक विवरण अनुसार भुटानी शरणार्थीलाई तेस्रो मुलुक पुर्नवास कार्यक्रम अन्तर्गत नेपालमा रहेका भुटानी शरणार्थीलाई अमेरिकामा स्थानान्तरण गराउने प्रक्रियामा गृहमन्त्रालयमा रहेका उच्च पदस्थ कर्मचारी तथा नेताहरुले अवैध कामगजात बनाएर नेपाली नागरिकलाई लैजाने तयारी गरेका थिए।
पक्राउ परेका आरोपितको बयानका आधारमा पूर्वमाओवादीका नेता हाल एमालेका उपाध्यक्ष रहेका बादलपुत्र प्रतीकको समेत संलग्नता देखिएपछि उनीविरुद्ध प्रहरीले पक्राउपुर्जी जारी गरिसकेको छ। प्रहरीले अहिले उनको खोजीकार्य जारी राखेको छ। यद्यपि प्रतीकले बिहीबार यो विषयमा आफ्नो संलग्नता नरहेको भन्दै विज्ञप्ति जारी गरेका छन्।
पूर्वमाओवादी नेता हाल एमालेका सचिव टोपबहादुर रायमाझी र उनको छोरा सन्दीप रायमाझीसमेत यही प्र्रकरणमा संलग्नता देखिएको बताउँदै प्रहरीले अनुसन्धानका लागि पक्राउ गरिसकेको छ।
सन्दीपलाई बुधबार बुटवलबाट पक्राउ गरेर काठमाडौं ल्याएएको छ भने टोपबहादुर पनि पक्राउ परिसकेका छन्। यस प्रकरणमा संलग्नहरुको उजागर थप हुने र विशिष्ट राजनीतिक तथा अन्य व्यक्तिहरुको संलग्नता रहेको आशंका गरिएको छ। यद्यपि अनुसन्धानपछि थप खुलाशा हुने प्रहरी स्रोत बताउँछ।
बुधबार पक्राउ परेका सचिव पाण्डे शेरबहादुर देउवा नेतृत्वको सरकारमा गृहमन्त्री भएका बेला मन्त्रालयमा सचिव रहेका थिए। उनको समेत संलग्नता देखिएर पक्राउ परेपछि यसमा अन्य राजनीतिक पार्टीका नेताहरुको संलग्नताबारे थप पाटो उजागर हुने स्रोत बताउँछ।
माओवादीबाट एमाले बनेका तत्कालीन गृहमन्त्री बादलको सुरक्षा सल्लाहकार रहेका राईको पक्राउले बादल समेत विलखबन्दमा परेका छन्। उनकै छोराको संलग्नता देखिएसँगै बादलमाथि समेत नैतिक प्रश्न तेर्सिएको छ।
तर, बादलनिकट एक माओवादी नेताले उनको नियतवश संलग्नता नरहेको बताउँछन्। उनी आर्थिक मामिलामा जनयुद्धकालदेखि पारदर्शी व्यक्ति रहेको ती माओवादी नेता बताउँछन्।
बादलसँगै निकट रहेर काम गरेका ती माओवादी नेताका अनुसार पारिवारिक सदस्य र सचिवालयको कारणले कानूनी फन्दामा परेपनि नियतवश उनी आर्थिक अपचलनमा नपर्ने दाबी गर्दछन्।
माओवादीबाट एमाले बनेका दुई पूर्वमाओवादीका नेता र उनकै परिवारको संलग्नता देखिएपछि यस प्रकरणले माओवादी आन्दोलनलाई गिज्याएको समेत चर्चा हुन थालको छ।
माओवादीका नेताहरुको आर्थिक अपारदर्शीता र विचलनको उच्चतम स्वरुप भएको स्वयम माओवादीका नेताहरु नै स्वीकार्न थालिसकेका छन्।
भुटानी शणार्थी प्रकरणमा पूर्वमाओवादी नेताहरुको संलग्नता उजागर हुँदा माओवादी आन्दोलनको विद्रुपीकरणको पर्दाहरु उघारिएको ती माओवादी नेता बताउँछन्। यसका थप पराकम्पन विस्तारै देखिने उनले आशंका गरे।
‘गोलीका परवाह नगरेरै लडेका योद्धाहरु कसरी परिवारबादमा फसेर गैरकानूनी रुपमा कसरी आर्थिक अनियमिततामा गर्दा रहेछन् भन्ने ज्वलन्त उदाहरण हो।
यसका बाछिटाहरु विस्तारै अन्यत्र पनि समयक्रममा देखिनेछन्,’ ती माओवादी नेताले अगाडि थपे, ‘विगतको आदर्शबाट च्यूत भएर त्याग र बलिदानको आन्दोलनलाई यी र यस्तै प्रवृत्तिले धूलिसात बनाएको हो।’
माओवादी आन्दोलनको विचलनको पराकाष्ठाको रुपमा अहिलेको घटनाक्रमलाई लिएको ती नेता बताउँछन्। उनले प्रहरीको अनुसन्धानपछि यसको यर्थाथता उजागर हुने बताउँदै अहिल्यै नै यसबारेमा थप टिप्पणी गर्न उचित नहुने बताए।
उनले यस प्रकरणमा पूर्वमाओवादीका उच्च तहका नेताहरुको संलग्नता देखिएकाले बदनियतपूर्व प्रायोजित रुपमा माओवादीलाई कमजोर गर्ने प्रपञ्चका रुपमा आएको हुनसक्ने समेत आशंका गरे।
तसर्थ अनुसन्धानै क्रममा रहेकाले यसको वास्तविकता उजागर भए उक्त प्रकरणका दोषीलाई उन्मुक्ति दिन नहुने ती माओवादी नेताको टिप्पणी छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here