विवादित रास्वपा सांसद डा. श्रेष्ठलाई पार्टीबाट निलम्बन: सांसद पद धरापमा

पोखरा । गएको पुस ११ गते राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने उपप्रधानसहित गृह मन्त्रालयको जिम्मेवारी लिएर सरकारमा सहभागी भए । नेकपा (एमाले) नेतृत्वको तत्कालीन सातदलीय गठबन्धनको सरकार निर्माणमा रास्वपा पनि एक महत्त्वपूर्ण शक्ति थियो ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वासको मत लिएपछि मन्त्रिपरिषद् विस्तारको गृहकार्य अघि बढाइयो । त्यसक्रममा रास्वपाबाट मन्त्रीका आकांक्षीमध्ये एक थिए, डा. ढाकाकुमार श्रेष्ठ ।

रास्वपाले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा पनि दाबी गरेको थियो । सांसद डा. तोसिमा कार्की, डा. चन्दा कार्की भण्डारी र डा. श्रेष्ठले भूगोलदेखि समावेशितासम्मको पृष्ठभूमि भन्दै मन्त्रीका लागि पहल थालेका थिए । मन्त्रीका लागि ‘लबिइङ’कै क्रममा रहेका बेला डा. श्रेष्ठ संलग्न कास्कीको एक सहकारी आर्थिक हिनामिनामा मुछिन पुग्यो ।

राष्ट्रिय स्वतन्त्र पार्टी सांसद डा. ढाकाकुमार श्रेष्ठ सहकारी विवादमा मुछिए

सहकारीमा लाखौँ रुपैयाँ राखेका बचतकर्ताले उजुरी दिएपछि घटना बाहिरिएको थियो । बचतकर्ताले पोखरा महानगरपालिकाको सहकारी महाशाखामा उजुरी दिएका थिए । त्यति बेला सांसद श्रेष्ठ स्वास्थ्यमन्त्री बन्नका लागि काठमाडौंमा लबिइङ गरिरहेका थिए ।

घटनापछि रातारात पोखरा आएर उनले पत्रकार सम्मेलन गरे । आफूलाई फसाउन खोजिएको सन्देश दिएर घटना सामसुम पार्न खोजे । पत्रकार सम्मेलनमै उनले सहकारीमा समस्या रहेको भने स्वीकार गरेका थिए ।

सांसद हुनुअघिसम्म खासै चर्चामा नरहेका श्रेष्ठले केही वर्ष पश्चिमाञ्चल स्वास्थ्य विज्ञान प्रतिष्ठानमा काम गरेका थिए । निजी क्लिनिक पनि चलाउँथे । राष्ट्रिय स्वतन्त्र पार्टी स्थापना भएपछि उनी त्यसको गण्डकी प्रदेश सभापति बने । जिल्लामा संगठन पनि बनाए । रास्वपाको सबैभन्दा बढी संगठन गण्डकीमा नै बनेको जस लिँदै उनी आदिवासी जनजाति क्लस्टरबाट समानुपातिक सांसद बन्न पुगे ।

आमनिर्वाचन हुनुभन्दा एक महिनाअघि मात्र सहकारी छाडेका श्रेष्ठमाथि पनि आर्थिक हिसाबकिताब नबुझाएको आरोप लागेको थियो । सहकारी प्रकरणमा मुछिएपछि विवादित बनेका उनी मन्त्री बन्न पाएनन् । स्वास्थ्य राज्यमन्त्रीमा रास्वपाले डा. कार्कीलाई पठायो ।

नागरिकता प्रकरणमा रास्वपाका सभापति रवि लामिछानेको सांसद पद खारेज भयो । उपप्रधान एवं गृहमन्त्री पद पनि स्वतः गयो । पार्टी सभापतिको सांसद पद सर्वोच्च अदालतले नागरिकता विवादका कारण खारेज गरिदिएपछि रास्वपाले सरकारबाट बाहिरिने निर्णय गर्‍यो । समर्थन कायम राख्यो ।

यता, राष्ट्रपति निर्वाचनसम्म आइपुग्दा एमाले सत्ताबाट प्रतिपक्षमा पुग्यो । नेपाली कांग्रेससहितको नयाँ गठबन्धन बन्यो । रास्वपाले नयाँ गठबन्धन अँगाल्यो । प्रधानमन्त्री प्रचण्डलाई दोस्रोपटक विश्वासको मत दियो ।

त्यसपछि उपनिर्वाचनप्रश्चात् प्रचण्ड सरकारमा पुनः सहभागी हुने विषयमा पार्टीभित्र छलफल भइरहेको थियो । उनै श्रेष्ठ पुनः मन्त्रीका लागि लबिइङ गर्दै थिए । सहकारी प्रकरण मत्थर भइसकेका कारण स्वास्थ्यमन्त्री बन्नका लागि उनी पार्टीदेखि बाहिरी व्यक्तिसँग समेत छलफलमा थिए । यहीबीच अघिल्लैपटक आफू स्वास्थ्यमन्त्री बन्ने भनेर उनले मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग ‘डिल’ गरेको अडियो बाहिरिएको छ ।

रविका सहयोगी को हुन्, जसले रास्वपाबाट मन्त्री बन्नेसँग पैसा असुल्छन् ?

त्यही रेकर्ड बाहिरिँदा आइतबार रास्वपाले उनलाई एक हप्ताका लागि साधारण सदस्य समेत नरहने गरी पार्टीबाट निलम्बन गरेको छ । घटना पुष्टि भए उनको सांसद पद पनि निलम्बन हुनसक्छ । रास्वपाले घटनाको छानबिन गर्न समिति गठन गर्ने जनाएको छ ।

रास्वपा सांसद ढाकाकुमार श्रेष्ठ पार्टीबाट निलम्बित : मन्त्री बन्न पैसा मागेको आरोप 

विवादित व्यवसायीसँग साढे दुई करोड रुपैयाँ माग्दा उनको छवि त विवादित बन्यो नै, मन्त्रीमोहको ‘च्याप्टर’ पनि करिब ‘क्लोज’ भएको छ ।

सार्वजनिक भएको उक्त अडियोमा मन्त्री बन्ने भए साढे दुई करोड बुझाउन पार्टी सभापति लामिछानेले भनेको उनले प्रसाईंलाई बताएका छन् । “त्यहाँ दुई/तीनजना हुनुहुन्छ, पार्टीलाई, रवि (सभापति रवि लामिछाने)लाई सुरुदेखि नै सहयोग गर्ने मान्छे, त्यही टिमबाट मलाई कुरा आएको हो । अब आज मैले फिक्स्ड गर्नुपर्छ पैसा । उधारो हुन्न भन्छन् फेरि । साढे दुई (करोड) भन्या छन् । आज मैले एक (करोड) दिएँ भने मान्छन् । अरू पछि चेक दियो भने हुन्छ,” अडियोमा श्रेष्ठले भनेका छन् ।

आफ्नो पार्टीको भागमा स्वास्थ्य मन्त्रालय परेको श्रेष्ठले प्रसाईंलाई सुनाएका छन् । उनले प्रसाईंसँग दुई करोड व्यवस्थापन गरिदिन आग्रह गरेका छन् । तत्काल एक करोड दिए पनि मन्त्री बनाउन सभापति लामिछाने तयार रहेको उनले प्रसाईंलाई सुनाएका छन् ।

प्रसाईंले श्रेष्ठलाई भनेका छन्, “तपाईं अगाडि बढ्नुस् । तर, दुई करोड दिएपछि तोसिमा कार्कीले लडाइँ त गर्दिनन् नि ? तोसिमाले पैसाका बारेमा कुरा पनि गर्न सक्दिनन् । उनले आफूलाई गोविन्द केसीको मानिस भनेकी छन् । उनले कहीँ कतै कुरै गर्न मिल्दैन ।”

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here