‘सहायक श्रीमान’ नामको बहुपति प्रथाको वृत्तचित्र विदेशी फिल्म महोत्सवमा छनोट

काठमाडौ । बहुपति प्रथाबारे निर्मित वृत्तचित्र फिल्म ‘सहायक श्रीमान’ (को-हजबेन्ड) विश्वका विभिन्न देशका फिल्म महोत्सवमा छनोट भएको छ।
भारतको केलरामा यही फेबु्रअरी २० देखि २३ सम्म हुने साइन अन्तर्राष्ट्रिय फिल्म महोत्सव, बेलायतको लण्डनमा २० फेबु्रअरीदेखि ५ मार्चसम्म हुने लण्डन माउेन्टन फिल्म महोत्सव, मार्च २४ देखि २६ सम्म क्यानडाको नर्थ बे ओन्टारियोमा हुने गेटवे अन्तर्राष्ट्रिय फिल्म महोत्सव तथा युरोपियन मुलुक स्लोभाकियामा आयोजित टाट्रास अन्तर्राष्ट्रिय फिल्म महोत्सवमा ‘सहायक श्रीमान’ छनोट भएको निर्देशक गणेश पाण्डेले जानकारी दिए।
सहायक श्रीमानले गत अगष्ट ४ देखि ७ सम्म अमेरिकाको जर्जियामा आयोजित आठौं कब इन्टरनेशनल फिल्म फेस्टिवलमा ‘बेस्ट इन्टरनेशनल डकुमेन्ट्री अवार्ड’ जित्न सफल भएको थियो। 
काठमाडौं इन्टरनेशनल माउन्टेन फिल्म फेस्टिभल (किम्फ) बाट यात्रा आरम्भ गरेको वृत्तचितले नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा एक हजार डलरसहित उत्कृष्ट डकुमेन्ट्री अवार्डका रुपमा ‘माउण्ट एभरेष्ट अवार्ड’ जितेको थियो। 
यसैगरी नेपालमै आयोजित नेपाल-अफ्रिका चलचित्र महोत्सवमा ‘एडिम क्रियटिभ पुरस्कार २०२१’, भारतको सिम्ला अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा ‘उत्कृष्ट डकुमेन्ट्री अवार्ड’ र रसियामा आयोजित अन्तर्राष्ट्रिय कान्स भिडिओ फेस्टिभलमा सर्वोत्कृष्ट पुरस्कार ‘ग्राण्ड प्रिक्स अवार्ड’, स्लोभाकियाको पोपरोडमा आयोजित प्रतिष्ठित २९ औं इन्टरनेशनल फिल्म फेस्टिभल अफ माउन्टेन फिल्म्स पोपराडमा ‘अनरेवल मेन्सन अवार्ड’ जितेको थियो।
बहुपति प्रथामा आधारित ३५ मिनेटको यो डकुमेन्ट्री फिल्म कर्णाली प्रदेशको हुम्लामा छायांकन गरिएको हो। घरमा जति दाजुभाइ छन्, एउटै श्रीमती बिहे गर्ने चलन अहिले पनि नेपालका कतिपय हिमाली जिल्लामा छ। सोही विषयलाई निर्देशक पाण्डेले पहिलोपटक पर्दामा उतारेका हुन्।

साइन मिडिया प्रालिको ब्यानरमा बनेको यो वृत्तचित्रमा शारदा गैरेको लगानी छ।
यसअघि निर्देशक पाण्डेले डकुमेन्ट्री फिल्म ‘भाग्यले बाँचेकाहरू’ (नेपाल अर्थक्वेक: हिरोज, सर्भाइभर्स एण्ड मिराकल्स) ले पनि डेढ दर्जन अन्तर्राष्ट्रिय अवार्ड जितेको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here