सामाजिक सञ्जालमा भुलेर पनि यस्ता पोस्टहरु नगर्नुहोस्

काठमाडौँ । सामाजिक सञ्जाल हरेकको दैनिकी भएको छ । सबैले सामाजिक सञ्जाललाई अत्यधिक प्रयोग गरेको पाइन्छ ।
सामाजिक सञ्जालको प्रयोगले फाइदा र बेफाइदा दुवै गर्छ । जानेको अवस्थामा सामाजिक सञ्जालले तपाईँलाई धेरै सूचना, जानकारी र मनोरञ्जन दिन्छ भने नजानको अवस्थामा यसले गम्भीर प्रकृतिका समस्याहरू पनि निम्त्याउन सक्छ । 
मानिसहरू सामाजिक सञ्जालमा दिनदिनै विभिन्न पोस्टहरू गर्छन् । अझ केही मानिसहरू व्यक्तिगत विषयलाई पनि सामाजिक सञ्जालमा शेयर गर्दछन् । तर व्यक्तिगत जीवनका कुराहरू सामाजिक सञ्जालमा पोस्ट गर्दा वा शेयर गर्दा यसले जीवनमा नकारात्मक प्रभाव पार्दछ । 
त्यसैले कुनै पनि कुरा सामाजिक सञ्जालमा शेयर गर्नुअघि सही गलत छुटाएर मात्र शेयर वा पोस्ट गर्नु उपयुक्त हुन्छ । यस्तोमा केही यस्ता विषयहरू हुन्छन् जो सामाजिक सञ्जालमा पोस्ट वा शेयर गर्नु हुँदैन ।

– निजी तस्बिर
कुनै विशेष परिस्थितिमा लिएको केही गोप्य वा निजी तस्बिर तथा भिडियोलाई केही मानिसले बहकाउमा आएर होस् वा बदलाको भावना राखेर सामाजिक सञ्जालमा पोस्ट गर्दिन्छन् । तर यो अपराध हो । यस्तो कार्य गर्ने कानुनी रूपमा अपराधी मानिन्छन् भने यसका लागी कानुनमा कैद र जरिवानाको व्यवस्था छ । तसर्थ कसैको पनि निजी जीवनमा खलल पुग्ने कुनै पनि निजी वा गोप्य तस्बिर सामाजिक सञ्जालमा पोस्ट गर्नु हुँदैन ।

– छुट्टीमा रहेको जानकारी
अधिकांश मानिसले आफू घर बाहिर वा छुट्टीमा रहेको जानकारी खुल्ने तस्बिर भिडियो सामाजिक सञ्जालमा राख्ने गर्दछन् । तर यस्ता जानकारी खुल्ने तस्बिर, भिडियो पोस्ट गर्दा यसैको जानकारीको आधारमा तपाईँको घरमा चोरी हुनसक्छ । पछिल्लो केही बर्सयता सामाजिक सञ्जालमा हालिएको पोस्ट हेरेर चोरी गर्ने क्रम बढेको छ । तसर्थ कतै बाहिर गएको वा छुट्टीमा रहेको तस्बिर पोस्ट गर्नै परे पनि घर फर्केपछि मात्र गरौँ । 

– ब्रेक अप भएको कुरा
प्रेममा धोका पाउन सकिन्छ । यसले व्यक्ति टुट्न सक्छ । तर तपाईँ र तपाईँको पार्टनर बिच भएको ब्रेक अपको जानकारी सामाजिक सञ्जालमा राख्नु हुँदैन । यसले तपाईँलाई भविष्यमा असर पर्न सक्छ । साथै ब्रेक अप वा प्रेमलाई खुलेर सामाजिक सञ्जालमा राख्दा यसले दुवैको गोपनीयतामा समेत असर गर्दछ । 

– आपसको झै–झगडाको विषय
केही मानिस घर, साथीभाइ, आफन्त वा सहकर्मीसँग भएको सामान्य विवाद वा झगडाको विषयलाई पनि सामाजिक सञ्जालमा लेख्ने गर्दछन् । जो कदापि राम्रो होइन । यसले दुई बिचको झगडालाई झन् बढवा दिन सक्छ भने उसको आत्मसम्मानमा समेत चोट पुग्दछ । त्यसैले यस्ता कुरा सामाजिक सञ्जालमा पोस्ट गरेर आफ्नो निजी जीवनमा भइरहेको कुरालाई बाहिर ल्याउनु राम्रो मानिँदैन । तर आफू माथि हिंसा वा कुनै दमन भइरहेको छ र यसबाट न्याय मिल्छ भने यस्ता कुरालाई पोस्ट गर्न पनि सकिन्छ ।

– उपहार लिए वा दिएको
कुनै विशेष कार्यक्रममा कसैले कसैबाट उपहार पाउनु वा दिनु सामान्य हो । यस्तोमा व्यक्तिले आफ्नो स्वेच्छा र आर्थिक हैसियत अनुसार महँगो उपहार पनि दिने गर्दछन् । तर यसरी दिइएको उपहार, कसैलाई गरेको सहयोगको तस्बिर, भिडियो सामाजिक सञ्जालमा राख्नु राम्रो मानिँदैन । अझ लाइक र कमेन्ट पाउने आसमा यस्ता कार्य त गर्नै हुँदैन । यसले अरूको नजरमा तपाईँको व्यक्तित्व कमजोर बन्दै जान्छ भने उपहार लिने वा दिनेको आत्मसम्मानमा पनि चोट लाग्न सक्छ । तसर्थ यस्ता विषय सामाजिक सञ्जालमा पोस्ट गर्नु हुँदैन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here