नेपाल पत्रकार महासङ्घले पत्रकार पौडेलको निधनमा १३ दिनसम्म शोक मनाउने

काठमाडौँ । नेपाल पत्रकार महासङ्घले पत्रकार त्रिभुवन पौडेलको विमान दुर्घटनामा भएको निधनमा १३ दिनसम्म केन्द्र, प्रदेश र सबै शाखामा शोक मनाउने भएको छ । महासङ्घका केन्द्रीय सदस्य पत्रकार पौडेलको निधनमा महासङ्घले माघ २ गते सोमबार महासङ्घका केन्द्र, प्रदेश र सबै शाखा कार्यालय बन्द गर्ने तथा १३ दिनसम्म शोकसभा बाहेकका कुनै पनि औपचारिक कार्यक्रम नगर्ने एवं भोलिदेखि नै १३ दिनसम्म केन्द्रीय कार्यालयलगायत प्रदेश र शाखा कार्यालयमा शोकपुस्तिका राख्ने निर्णय गरेको छ ।
महासङ्घले   शोक विज्ञप्ति जारी गरी स्व पौडेलसहित विमान दुर्घटनामा निधन भएकाप्रति हार्दिक श्रद्धाञ्जलि अर्पण गर्दै दिवङ्गत आत्माको चिरशान्तिको कामना गरेको छ । साथै, शोकको यस घडीमा शोकसन्तप्त सम्पूर्णको परिवारजनमा धैर्यधारण गर्ने शक्ति प्राप्त होस् भन्ने कामना गर्दै गहिरो समवेदना व्यक्त गरेको छ ।
महासङ्घका केन्द्रीय सदस्य पौडेलको ३७ वर्षको अल्पायुमै विमान दुर्घटनामा निधन भएको दुःखद् खबरले नेपाल पत्रकार महासङ्घ स्तब्ध र शोकमग्न भएको छ ।   बिहान काठमाडौँबाट पोखराको लागि उडेको नाइनएन एएनसी एटिआर–७२ जहाज अवतरण गर्ने क्रममा पोखराको पुरानो विमानस्थल र नयाँ विमानस्थलको बीचमा दुर्घटनाग्रस्त हुँदा केन्द्रीय सदस्य पौडेलको निधन भएको हो । पत्रकार पौडेल २०७७ फागुन ५ गते भएको नेपाल पत्रकार महासङ्घको २६औँ महाधिवेशनबाट निर्वाचित भई केन्द्रीय सदस्य हुनुहुन्थ्यो ।
विसं २०७४ मा महासङ्घको गण्डकी प्रदेश समितिको संस्थापक अध्यक्षका रूपमा रहेर काम गरेका पत्रकार पौडेलले त्यसअघि महासङ्घ कास्की शाखामा एकपटक उपाध्यक्ष र दुईपटक सचिवका रूपमा रही योगदान दिनुभएको थियो ।
पोखरा हटलाइन दैनिकबाट पत्रकारिता सुरु गर्नुभएका पौडेलले अन्नपूर्ण एफएम र केही समय नेपाल टेलिभिजनमा स्ट्रिन्जरका रूपमा काम गर्नुभएको थियो । विभिन्न पत्रपत्रिकामा स्तम्भ र लेख लेख्दै आउनुभएका पत्रकार पौडेल पछिल्लो समय पोखरा हटलाइन दैनिक पत्रिकाकै प्रकाशक÷सम्पादकका रूपमा कार्यरत हुनुहुन्थ्यो ।
स्व पौडेलका आमा, श्रीमती र एक छोरा हुनुहुन्छ । उहाँको निधनले नेपाली पत्रकारिता क्षेत्रले एक अनुभवी, जुझारु र ऊर्जाशील युवा पत्रकार गुमाएको छ भने महासङ्घले उदीयमान पत्रकार नेता गुमाएको महासङ्घको भनाइ छ । कास्की जिल्लाबाट पत्रकारिता क्षेत्रमा राम्रो पहिचान बनाएका पौडेलको निधनले नेपाली पत्रकारिता क्षेत्रमा अपूरणीय क्षति पुगेको महासङ्घले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here