डा.भट्टराईको पार्टी नेसपा र माओवादी केन्द्रबीच एकीकरण हुने

 
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र पूर्वप्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईबीच भेटवार्ता भएको छ ।

पार्टी एकीकरणका विषयमा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रचण्ड र नेपाल समाजवादी पार्टीका अध्यक्ष भट्टराईबीच भेटवार्ता भएको हो ।

भेटका क्रममा दुई पार्टी एकताको प्रक्रियालाई अघि बढाउने विषयमा छलफल भएको छ । यी दुई दलबीच चुनावताका नै एकता गर्ने गरी छलफल भएको थियो ।

यस्तै भेटमा संसदमा विश्वासको मत लिने र अन्य समसामयिक विषयमा छलफल भट्टराईको सचिवालयले जनाएको छ ।

दुई पार्टीबीचमा एकता गर्नेबारेमा अध्यक्ष प्रचण्ड र भट्टराईबीच छलफल भएको नेसपाका नेता गंगा श्रेष्ठले बताए । 

शनिवार दिउँसो माओवादी केन्द्रको पदाधिकारी बैठकमा पार्टी एकताको प्रस्ताव गर्ने र आइतबार बस्ने नेसपाको राजनीतिक समितिको बैठकमा प्रस्ताव गरेर ती बैठकबाट पार्टी एकतालाई मूर्त रुप दिएर जाने सहमति भएको छ ।

श्रेष्ठकाअनुसार पार्टी एकता गरेर जाने कुरामा दुवै अध्यक्षबीच सकारात्मक ढङ्गले कुरा भएको छ । 

अन्य दलसँग एकता प्रक्रिया अघि नबढेपनि नेसपा र माओवादीबीच एकता गरेर जाने निश्चित भएको छ ।

नयाँ संविधान जारीपछि माओवादी केन्द्र छोडेर डा.भट्टराईले २०७३ जेठ ३० गते दशरथ रंगशालामा सभा गरेर नयाँ शक्ति पार्टीको घोषणा गरेका थिए । 

२०७६ साल बैशाख २१ गते उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम र डा.भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टीबीच एकता भएर समाजवादी पार्टी नेपाल बनेको थियो । २०७९ असारमा उपेन्द्र यादवसँग पनि छुट्टिएर भट्टराइले नेपाल समाजवादी पार्टी गठन गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here