नयाँ संसद्को पहिलो बैठक सोमबार: पुस २६ मा प्रधानमन्त्रीले विश्वासको मत लिने

काठमाडौँ । प्रतिनिनिधिसभा र राष्ट्रियसभाको बैठक २५ पुसबाट सुरु हुँदैछ । दुवै सदनको एकै दिन बैठक बस्ने भएकाले संसद् सचिवालयले आइतबार एक सिटको फरकमा भौतिक दुरी कायम राखेर सांसदहरू बस्ने सिटको व्यवस्थापन गर्दैछ । राष्ट्रियसभा स्थायी सदन भएकाले पुरानै नियमावली बमोजिम नै सञ्चालन हुनेछ भने प्रतिनिधिसभा भने नयाँ निर्वाचनपछि नयाँ नियमावलीबमोजिम सञ्चालन गर्नुपर्ने हुन्छ ।

शुक्रबार भएको सर्वदलीय बैठकमा प्रतिनिधिसभाको बैठक प्रतिनिधिसभाको नियमावली २०७५ बमोजिम बस्ने सहमति भएको छ । पहिलो बैठकमा नयाँ कार्यविधि बनाएर बैठक बस्ने वा प्रतिनिधिसभाको पुरानो नियमावलीबमोजिम बन्ने भन्ने विषयमा शुक्रबार ज्येष्ठ सदस्य पशुपतिशमशेर जबराले सर्वदलीय बैठकम छलफल गराएका थिए । प्रतिनिधिसभाको पहिलो बैठकको सुरुमा ज्येष्ठ सदस्यले प्रतिनिधिसभा नियमावली २०७५ बमोजिम बैठक सञ्चालन हुने प्रस्ताव राख्नेछन् । सो प्रस्ताव संसद्को बैठकबाट पारित भएपछि बैठकमा दलीय आधारमा छलफल सुरु हुने संसद् सचिवालयले जनाएको छ ।  

बैठकमा पार्टीका अध्यक्ष तथा संसदीय दलका नेताले सम्बोधन गर्नेछन् । प्रतिनिधिसभाको २६ पुस बस्ने बैठकमा प्रधानमन्त्रीले विश्वासको मत लिने भएकाले त्यस दिन पनि दलीय आधारमा छलफल हुनेछ । प्रधानमन्त्रीले विश्वासको मत लिने प्रस्तावका दिन छलफलका लागि २ घन्टाको समय छुट्याइएको संसद् सचिवालयले जनाएको छ ।