भिटोफ नेपालले रुबीभ्यालीमा पर्यटकीय सम्भाव्यताको अध्ययन तथा अवलोकन गर्ने

धादिङ । गाउँ पर्यटन प्रवर्द्धन मञ्च (भिटोफ) नेपालले आगामी माघ ७ देखि ९ सम्म धादिङको रुवी भ्याली गाउँपालिका-४, स्थित चालिस गाउँमा पर्यटकीय सम्भाव्यताको अध्ययन तथा अवलोकन भ्रमण गर्ने भएको छ । रुवी भ्यालीको पर्यटन प्रवर्द्धनमा टेवा पुर्‍याउने उद्देश्यले भ्रमणको आयोजना गरिएको भिटोफ नेपालका अध्यक्ष गोपाल थापाले जानकारी दिएका छन् ।

नेपाल पर्यटन बोर्डको समन्वय तथा धादिङको रुवी भ्याली गाउँपालिकाको सहकार्यमा अध्ययन तथा अवलोकन भ्रमण गर्न लागिएको भिटोफ नेपालले जनाएको छ ।
‘लुकेको हिरा’को रूपमा रहेको रुवी भ्यालीमा पर्यटन प्रवर्द्धन गर्न सघाउने र ग्रामीण पर्यटनको माध्यमबाट सो क्षेत्रका समुदायको जीवनस्तर उकास्न सहयोग पुर्‍याउने उद्देश्यले भ्रमण गर्न लागिएको जनाएको छ । त्यसैगरी सो क्षेत्रका समुदायको प्रमुख आयस्रोत कृषि भएकाले कृषि पर्यटनको सम्भाव्यता पनि अध्ययन गर्न लागिएको जनाएको छ ।
करिब १५० घरधुरीको बसोबास रहेको चालिस गाउँमा तामाङ, गुरुङ र घले समुदायको बाहुल्यता रहेको छ । गाउँमा तामाङ, गुरुङ र घले लगायत समुदायको संस्कार, संस्कृति, भाषा, भेषभूषा, मौलिक खानपान, रहनसहन र विशिष्ट जीवनशैलीको अवलोकन गर्न पाइन्छ ।
गाउँबाट गणेश हिमाल अन्तर्गतका पाल्दोर हिमाल, याङ्गा हिमाल, लाप्साङ्गकार्पाे हिमशृङ्खलामा पर्ने बुद्ध हिमाललाई नजिकै देख्न सकिन्छ । त्यसैगरी हिमचुली, दोर्जेलाक्पा, मनासलु लगायतका हिमाललाई पनि देख्न सकिन्छ ।
गाउँमा विभिन्न स्थानीय छ्योर्तेन, गुम्बा, मन्दिर, स्तुपाहरू पनि रहेका छन् । सेतो दह, कालो दह, तातो पानी आदी पनि पर्यटकीय आकर्षणका रूपमा रहेका छन् ।
गाउँ र गाउँ परिसरमा रेड पाण्डा, घोरल, झारल, बँदेल, कस्तुरी मृग आदि वन्यजन्तुसँग पनि साक्षात्कार गर्न पाइन्छ ।
त्यसैगरी सुनाखरी, सुनपाति, निरमसि, पाँचऔँले, चिरायु, लगायत जडीबुटीहरू पनि पाइन्छ । लालीगुराँसको घना जङ्गल पनि रहेको छ । गुराँस फुल्ने बेलामा जङ्गलकाे मुहार अर्के देखिन्छ । बहुमुल्य पत्थर रुवी क्रिस्टल पाइन्छ । उक्त पत्थर पाइने भएकाले नै यस क्षेत्रको नाम रुवी भ्याली रहन गएको हो ।

तामाङ समुदायको तामाङसेलो, म्हेन्दोमाया, गुरुङ समुदायको रोधी, घाटु नाच, मारुनी नाच लगायत स्थानीय लोक भाका तथा नृत्यको श्रव्यदृष्यले पर्यटकहरूलाई  लोभ्याउने गरेको छ ।
कोदो, मकै, जौ, फापर लगायतको ढिँडो, सिस्नु, खोले साग, असला माछा, आलु, रुवी भ्यालीको लोकल मार्सी चामलको भात स्थानीय परिकार हुन् ।
प्राकृतिक सुन्दरता र जैविक विविधताले भरिपूर्ण रुवी भ्याली सांस्कृतिक हिसाबले पनि सम्पन्न छ । सङ्घीय राजधानी काठमाडौँसँगै जोडिएको जिल्ला धादिङको उत्तरी भेगमा हिमालयको काखमा लुकेर बसेकाे रुवी भ्यालीलाई पर्यटकीय गन्तव्यको रूपमा स्थापित गर्ने कार्यमा आफूहरू लागिपरिरहेको भिटोफ नेपालका अध्यक्ष गोपाल थापाले बताए ।
भिटोफ नेपाल, नेपालका गाउँहरूलाई पर्यटकीय आकर्षणको रूपमा विकास गरी गाउँ र गाउँलेको जीवनमा परिवर्तन ल्याउने, त्यहाँका मौलिक संस्कृतिलाई पर्यटनसँग जोडेर विश्वभर फैलाउने र तिनलाई जोगाउने कार्यमा महत्त्वपूर्ण भूमिका खेल्दै आएको संस्था हो ।
यस संस्थाले नेपालमा ग्रामीण पर्यटन खासगरी घरबास (होमस्टे) पर्यटनलाई प्रवर्द्धन गर्दै आएको छ । यस संस्थाको नेतृत्वमा सयौँ होमस्टेहरू सञ्चालनमा आएका छन् । जसमार्फत दूर-दराजका गाउँ बस्तीहरू संसारभर चिनिएका पनि छन् । भिटोफ नेपालले ग्रामीण पर्यटनको विकासका लागि स्थानीय निकायसँग सहकार्य गर्दै प्रचारप्रसार गर्ने, मौलिक संस्कार संस्कृतिको अध्ययन अनुसन्धान गर्ने, पर्यटकीय सम्भावना अध्ययन गर्ने, घरबास सञ्चालकहरूलाई तालिम आयोजना गर्ने लगायतका थुप्रै कार्यक्रमहरू गर्दै आएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here