फ्रान्सका केलियन एम्बाप्पे गोल्डेन बुटको प्रबल दावेदार बन्दै

खेल खबर । विश्वकप फुटबलमा नकआउट चरणका खेलहरू जारी रहेका बेला गोल्डेन बुटको दौडमा सबैभन्दा अगाडि फ्रान्सका केलियन एम्बाप्पे छन्।
एम्बाप्पेले जारी विश्वकपमा सबैभन्दा बढी ५ गोल गरिसकेका छन्। राउण्ड १६ को खेलमा गए राति पोल्याण्डविरुद्ध २ गोल गर्दै उनी गोल्डेन बुटको दौडमा सबैभन्दा अगाडि रहेका हुन्।
एम्बाप्पेले २०१८ को विश्वकपमा कुल ४ गोल गरेका थिए भने यस विश्वकपका ४ खेलमा ५ गोल गरिसकेका छन्। फ्रान्सले अब क्वाटरफाइनल इङ्ल्याण्डविरूद्ध खेल्नेछ।
त्यस्तै यस दौडमा अहिलेसम्म ३-३ गोल गरेर ७ खेलाडीले पछ्याइरहेका छन्। जसमा अर्जेन्टिनाका लियोनेल मेसी, फ्रान्सकै ओलिभर जिरोउड, ईङल्याण्डका मार्कस राशफोर्ड र बुकाया साका, स्पेनका अल्भारो मोराटा, नेदरल्याण्डका कोडी गाक्पो र इक्वेडरका इनर भलेन्सिया छन्।
इक्वेडर विश्वकपबाट बाहिरिसकेकाले भलेन्सिया भने अब गोल्डेन बुटको दौड हुनेछैनन्।
ओलिभर जिरूड र केलिएन एम्बाप्पेले कीर्तिमानी गोल गरेपछि पोल्याण्डलाई ३-१ गोल अन्तरमा पराजित गर्दै साविक विजेता फ्रान्स फिफा विश्वकप २०२२ को क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

अल थुमाना रंगशालामा भएको खेलमा फ्रान्सका लागि एम्बाप्पेले दुई तथा जिरुडले एक गोल गरे । जिरुडले पहिलो हाफमा गोल गर्दै अग्रता दिलाएका थिए भने एम्बाप्पेले दोस्रो हाफमा दुई गोल थपे ।
खेलको अन्तिम मिनेटमा पोल्याण्डका लागि रोवर्ट लेवान्डोस्कीले पेनाल्टीमार्फत एक गोल फर्काए। 
जिरुडले खेलको ४४ मिनेटमा गोल गर्दै फ्रान्सलाई अग्रता दिलाए। उनलाई गोल गर्न एमबाप्पेले पास उपलब्ध गराए। 
यो गोलसँगै जिरूडले फ्रान्सका लागि सर्वाधिक अन्तर्राष्ट्रिय गोल गर्ने कीर्तिमान बनाए। उनले फ्रान्सको जर्सीमा ११६ खेल खेल्दै ५२ गोल गरिसकेका छन्। यसअघि यो कीर्तिमान थियरी हेनरीको नाममा थियो। थियरीले १२३ खेलमा ५१ अन्तर्राष्ट्रिय गोल गरेका थिए।
खेलको ७४ औं मिनेटमा फ्रान्सले अग्रता दोब्बर पार्‍यो। यसपटक एमबाप्पेले गोल गर्न सफल भए। उनले डेम्बेलेको पासमा गोल गरेका थिए। 
एम्बाप्पेले दोस्रो हाफको इन्जुरी टाइमको पहिलो मिनेटमा व्यक्तिगत दोस्रो तथा टिमका लागि तेस्रो गोल गर्न सफल भए। जारी विश्वकपमा उनको यो पाँचौ गोल हो। २३ वर्षकै उमेरमा विश्वकपमा ९ गोल गर्ने पहिलो खेलाडी बन्दै एम्बाप्पेले कीर्तिमान बनाएका छन्।
पोल्यान्डमाथि जित निकालेर अन्तिम आठमा पुगेको फ्रान्सले अब सेमिफाइनल प्रवेशका लागि इंग्ल्यान्डसँग खेल्नेछ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here