हिटर बाल्दा यी कुराहरुमा ध्यान दिनुपर्छ: डाक्टर प्रज्वल श्रेष्ठ

काठमाडौं । उपत्यका लगायत देशैभर क्रमशः चिसो बढ्दै गएको छ । चिसोबाट जोगिन र शरीरलाई न्यानो बनाउन विभिन्न उपाय अपनाइन्छ । जाडोमा कोठा तातो बनाउन अर्थात् न्यानोपनका लागि इलेक्ट्रिक तथा इन्धनजन्य हिटर प्रयोग गरिन्छ । तर इलेक्ट्रिक तथा इन्धनजन्य हिटर प्रयोग गर्न नजान्दा मानिसको अनाहकमा मृत्यु भएका घटना बेलाबेला सार्वजनिक हुने गर्छन् ।

न्यानोपनका लागि हिटर प्रयोग उपयुक्त भए पनि सही तरिकाले प्रयोग गर्न नजान्दा जाडो मौसममा अप्रिय घटना घट्ने वीर अस्पतालका छाती रोग सघन उपचार कक्षका विषेशज्ञ डाक्टर प्रज्वल श्रेष्ठ बताउँछन् । उनी हिटर बाल्दा सावधानी अपनाउन सुझाव दिन्छन् ।

हिटर बाल्नु असुरक्षित होइन । तर, हावा ओहोरदोहोर हुन रोकी झ्याल–ढोका बन्द गरी कोठाभित्र हिटर बाल्दा स्वास्थ्यमा प्रतिकुल असर गर्छ । बन्द कोठाभित्र हिटर ताप्दा त्यहाँको हावामा आद्रता कम हुन्छ । अर्थात् हावालाई सुक्खा बनाइदिन्छ ।

बन्द कोठाभित्र हिटर ताप्दा अक्सिजन नभएको खण्डमा रातो रक्तकोषिकाहरुले शरीरमा कार्बन मोनो अक्साइडलाई सजिलै ग्रहण गर्छ । त्यसले कोसिका मार्फत शरीरका तन्तुमा कार्बन मोनो अक्साइड फैलिएपछि सधैंका लागि मष्तिष्कले काम गर्न छोड्छ । जसले गर्दा वाकवाक लाग्ने, झुम्म हुने, टाउको दुख्ने लगायतको लक्षण देखिएर मुटुको चाल नै बन्द हुने सक्ने अवस्था सिर्जना हुन सक्ने भएकाले सावधानी अपनाउन चिकित्सकहरुको सुझाव छ ।

रोगीले हिटर ताप्दा समस्या हुन्छ ?

हिटर ताप्दा सामान्यतया सबैलाई असर गर्छ । सुक्खा हावाले मुख, ओठ, नाक सुक्ने, नाकबाट रगत आउने, छाला फुस्रो, आँखालाई समेत कमजोर बनाउने जस्ता साधारण समस्या निम्तन्छ ।
यस्तै, दीर्घरोगी, एलर्जीका रोगी, दम, श्वासप्रश्वास, छातीका समस्या भएका बिरामीले हिटर ताप्दा खोकी लाग्ने, श्वास फुल्ने अर्थात् स्वाँस्वाँ हुने समस्या झन् बढ्छ । बन्द कोठामाभित्र हिटर ताप्दा विभिन्न किसिमका भाइरस, फङ्गस, इफ्लुएन्जा, कोभिड–१९ अर्थात् श्वासप्रश्वासका माध्यमबाट सर्ने रोगको जोखिम उच्च हुन्छ ।

इलेक्ट्रिक र इन्धनजन्य हिटरमा कुन खतरनाक ?
समुदायमा जाडो महिनामा न्यानोपनका लागि उपलब्धताका आधारमा विद्युतीय, इन्धनयुक्त र कोइला, गुइँठा, आगो बालेर ताप्ने गरिन्छ । विद्युतको सहयोगबाट बल्ने इलेक्ट्रिक हिटरले हावालाई सुक्खा बनाउने गर्छ । यद्यपि इन्धनबाट बल्ने हिटर विद्युतीयभन्दा केही खतरनाक हुन्छ ।
मट्टितेल, ग्यासबाट बालिने हिटरमा आगो बल्दा कोठाभित्र रहेको अक्सिजनलाई कम गर्दछ । आगो बोल्ने क्रममा कार्बन मोनो अक्साइड फैलिएपछि विषालु ग्यास उत्पन्न भई कोठामा बढ्दै जान्छ । बन्द कोठामा हिटर प्रयोग गर्दा सुरुमा टाउको दुख्ने, रिंगटा लाग्ने, वाकवाकी लाग्ने, त्यसपछि मन्द बेहोस भई मृत्युका घटनासमेत हुने गर्दछ ।
यस्तै,  इलेक्ट्रिक हिटरले हावालाई सुक्खा बनाएर स्वास्थ्यमा प्रतिकुल असर गर्छ । आद्रतालाई मेन्टेन गर्नका लागि खुल्ला भाडामा पानीहरु राख्नुपर्छ । जसले कोठाको मोस्चर मेन्टेन अर्थात् सुक्खा हावाबाट हुने प्रतिकुलतालाई रोक्न सहयोग गर्छ ।

हिटरको प्रयोग गर्दा कस्तो कुरामा ध्यान दिने ?
–चलिरहेको हिटरलाई समय समयमा बन्द गरिरहनुपर्छ ।
–राति सुत्नुभन्दा पहिला हिटरलाई बन्द गरेरमात्रै सुत्नुपर्छ ।
–हिटर बालेको समयमा ढोका र झ्याल खुला राख्नुपर्छ ।
–श्वासप्रश्वास, मुटु, नियमित खोकी लाग्ने व्यक्तिले सकेसम्म हिटरको प्रयोग नगर्ने ।
–लामो समयसम्म हिटरको प्रयोग गर्दा छाला, आँखालाई समेत सुक्खा बनाउँछ ।
–धेरै हिटर ताप्दा छालामा समस्या देखिने भएकाले छालामा नियमित चिल्लो पदार्थ लगाउनुपर्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here