सन्दीपलाई पुर्पक्षका लागि थुनामा पठाउने अदालतको आदेश

काठमाडौं । बालिका बलात्कार आरोपमा क्रिकेटर सन्दीप लामिछानेलाई काठमाडौं जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ। 
शुक्रबार थुनछेक बहस सकिएपछि न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासले सन्दीपलाई केन्द्रीय कारागार जगन्नाथदेवल पठाउने आदेश गरेको अदालतका सूचना अधिकृत दीपक दाहालले बताए ।
बुधबार सुरु भएको थुनछेक बहस तीन दिन चलेको थियो। सन्दीपका तर्फबाट वरिष्ठ अधिवक्ताहरुसहित झण्डै एक दर्जन कानुन व्यवसायीले बहस गरेका थिए।
सन्दीपविरुद्ध मुलुकी अपराध संहिता ऐन २०७४ को दफा २१९ को उपदफा २ अन्तर्गतको कसुर लगाइ १० देखि १२ वर्षसम्मको कैद सजाय माग गरिएको छ। जिल्ला सरकारी वकिलको कार्यालयले सोमबार मुद्दा दर्ता गरे पनि मंगलबार दिनभर सन्दीपको बयान भएकाले बुधबार मात्रै थुनछेक बहस सुरु भएको थियोे।
इजलास समक्ष भएको बयानका क्रममा सन्दीपले इन्कारी बयान दिएका थिए। अब उनले अदालतको अन्तिम फैसला नभएसम्म कारागारमै बसेर मुद्दा लड्नेछन्। 
पुर्पक्ष थुनामा पठाउने अदालतको आदेश चित्त नबुझे उनी पुनरावलोकनका लागि उच्च अदालत पनि जान सक्नेछन्। 
लामिछानेविरुद्ध १७ वर्षीया एक किशोरीले आफूमाथि जर्वजस्ती करणी गरेको भन्दै गत भदौ २१ गते प्रहरीमा जाहेरी दिएकी थिइन् ।
त्यतिबेला क्यारेबियन प्रिमियर लिग (सिपिएल) क्रिकेट खेल्न वेष्टइण्डिज पुगेका लामिछाने झण्डै एक महिनापछि असोज २० गते मात्रै स्वदेश फर्किएका हुन् । उनलाई प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै पक्राउ गरेको थियो । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here