फुर्वा मोक्तान र भावना तामाङको मुद्दाले नयाँ मोड

काठमाडौ । कानुनमा ‘आफ्टर थट’ (after thought) भन्ने शब्दावली छ । ‘आफ्टर थट’ भनेको जाहेरी वा मुद्दा परेपछि त्यही मुद्दाको प्रतिवादी वा वादीले पीडित भनिएको पक्षलाई फसाउनका लागि आफू अनुकूल हुने गरी बनावटी घटना तयार पारी जाहेरी दिने कार्य हो । आफू फसेँपछि अर्को व्यक्तिलाई ‘किन त्यतिकै छाड्ने’ भन्दै जाहेरवाला वा पीडितलाई नै ‘पीडक’ भन्दै आरोपित गर्ने काम हुन्छ । भावना तामाङविरुद्ध फुर्वा तामाङको मुद्दामा पनि यही ‘आफ्टर थट’ आकर्षित हुने देखिएको छ ।

सामाजिक सञ्जालबाट चिनजान भएकी युवतीको प्रेमजालमा फसेर रौतहट स्थायी घर भई मलेसियामा रेष्टुरेण्ट व्यवसाय गरिरहेका फुर्वा मोक्तानले आफ्नो डेढ करोड गुमाएका थिए । यतिबेला तिनै युवतीका कारण फुर्वा तामाङ प्रहरी हिरासतसम्म पुगेका छन्, त्यो पनि बलात्कारजस्तो संगीन अपराधमा । सिन्धुपाल्चोकको साविक पिपलडाँडा वडा नम्बर ८ स्थायी घर भएकी ३८ वर्षीय भावना तामाङले ‘वैवाहिक बलात्कार’ को उजुरी दिएपछि फुर्वा प्रहरी हिरासतमा पुगेका हुन् । भावना आफै ठगी र आपराधिक विश्वासघातको कसुरमा भक्तपुर जिल्ला अदालत र उच्च अदालत पाटनको आदेशबाट सुन्धारास्थित कारागारमा बन्दी जीवन बिताइरहेकी छिन् । 

के थियो घटना ?

भावना र फुर्वा फेसबुकबाट साथी बनेका थिए । जापानमा व्यापार व्यवसाय गरिरहेको बताउने भावना आफू अविवाहित रहेको र राम्रो केटा पाए विवाह गर्ने तयारीमा रहेको भन्थिन् । ३४ वर्षीय फुर्वा पनि अविवाहित नै थिए र विवाहका लागि योग्य युवतीको खोजीमा थिए । दुवै तामाङ समुदायकै भएकाले विवाह गर्न पनि मिल्ने भन्दै उनीहरु दुवैजना विवाह गर्न राजी भए । विवाहपछि जापान गएर उतै व्यापार व्यवसाय गर्ने सहमति समेत भयो । 

विवाहको सहमति भएपछि फुर्वाले विवाह गर्ने प्रस्ताव राखे । भावनाले पनि प्रस्ताव स्वीकार गरिन् । २०७७ फागुन १० गते दुईबीच विवाह भयो । विवाहका लागि फुर्वाले दुलही भावना तामाङ, उनकी आमा, उनकी दिदी लगायतका आफन्तका लागि करिब २५ तोला सुन किने । अन्य कामका लागि भन्दै उनले करिब १५ लाख खर्च गरे ।

विवाह गरेको तीन दिन फुर्वाको घरमा बसेपछि भावना माइतीमा केही काम छ भन्दै फुर्वाको घरबाट निस्किइन् । फुर्वाको घरबाट निस्किएकी भोलिपल्टदेखि उनले मोबाइल अफ गरिन् । घरबाट निस्किएको चार दिनपछि बल्ल भावनाको मोबाइलको स्वीच अन भयो । किन अफ गरेको भन्दा माइतीमा केही काम थियो भन्ने जवाफ मात्रै दिइन्, अरू केही बताइनन् ।
फुर्वाले भावनासँग विवाह गरी जापान जाने र उतै व्यापार व्यवसाय गर्ने भनेर मलेसियामा भएको दुईवटै रेष्टुरेन्ट बेचेर नेपाल आएका थिए । नेपालमा बुवाको नाममा घर र दुई स्थानमा जग्गासमेत थियो । जापान जान सम्पत्ति देखाउनुपर्ने भन्दै भावनाले बुवाको नाममा रहेको घरसमेत आफू र फुर्वाको नाममा ल्याउन लगाइन् भने जग्गासमेत बिक्री गर्ने गरी ग्राहक खोजिन् । 
भावनाको नाममा बौद्धको नयाँ बस्ती र थलीमा घर थियो । फुर्वाले ती सबै घर पनि अब आफ्नोसमेत रहेको भन्दै भावनाले जे–जे भने त्यही त्यही गरिरहे । भावनाले घरसमेत बेच्ने योजना सुनाए पनि फुर्वाको बुवाले नमानेपछि त्यही घर धितोमा राखेर ऋण लिने योजना बनाइन् । फुर्वाले भावनाको त्यो योजनामा समेत साथ दिए ।
नेपाली परम्परा अनुसार विवाह गरेपछि केटाको घरमा गएर बस्ने भए पनि भावना भने फुर्वाको घरमा बस्न मानिनन् । फुर्वा पनि भावनासँगै नयाँ बस्तीमै गएर बस्न थाले ।
जब फुर्वा भावनाको नाममा रहेको नयाँ बस्तीको घरमा पुगे, त्यसपछि भावनाले सम्पत्ति हाम्रै त हो, यो घरको ऋण छ तिर्नुपर्‍यो भनी फुर्वासँग पैसा मागिन् । फुर्वाले पनि भावना आफ्नो श्रीमती भएको र सम्पत्ति आफ्नो पनि त हो नि भन्दै घर बनाउँदाको ऋण तिर्न सहमत भए ।
तर जब ऋण तिर्ने बेला भयो, भावनाले ऋण संयुक्तरुपमा लिएको कुरा सुनाइन् । भावनाले धादिङ घर भएका विकाश तामाङ (नाम परिवर्तन)लाई श्रीमान् बनाएर संयुक्तरुपमा ऋण लिएकी थिइन् । फुर्वाले यी व्यक्ति को हुन् भनेर सोध्दा भावनाले कागजी श्रीमान् भएको र जापान लैजाने प्रयोजनका लागि पैसा लिएर श्रीमान् बनाएको कुरा बताइन् । फुर्वाले त्यसबारे थप केही नबुझी उक्त घरको ऋणमध्ये २५ लाख रुपैयाँ तिरिदिए ।
भावनाले पटकपटक विभिन्न बहाना बनाएर सम्पत्ति देखाउन, सानो सानो ऋण तिर्न भन्दै पटकपटक लाखौँ रकम लिइन् । कहिले सानीआमाको ऋण तिर्नु छ भनेर त कहिले भाइ लगायतको ऋण तिर्नु छ भनेर पैसा लिएको फुर्वा बताउँछन् । फुर्वाले थलीमा रहेको भावनाको घरको रङरोगन र इन्टेरियर कामका लागि ६५ लाख रुपैयाँ खर्च गरे । 
तर जब जब फुर्वासँग रहेको पैसा सकिन थाल्यो, त्यसपछि भावनाले विभिन्न कुरा निकालेर निहुँ खोज्न थालिन् । यसबीचमा भावनाले फुर्वासँग करिब १ करोड १५ लाख नगद लिइसकेकी थिइन् भने सुनको गरगहना लगायतका सामान बनाउने कामका लागिसमेत समेत गरी कुल करिब १ करोड ४५ लाख रुपैयाँ खर्च गराइसकेकी थिइन् । 
फुर्वाको नाममा रहेको रहेको घर जग्गासमेत फुर्वा र आफ्नो संयुक्त नाममा ल्याइसकेपछि भावना २०२२ फेब्रुअरी ८ मा जापान गइन् । नेपालबाट जाँदा जापान पुगेर कागजात बनाएर पठाउने भनेकी भावना सुरुको केही दिन फुर्वासँग कुराकानी गर्ने गरे पनि त्यसपछि फुर्वासँग कुराकानी नै गर्न छाडिन् । बरु फुर्वासँग छुट्टिन चाहेको सन्देश पठाइन् । त्यसपछि मात्र फुर्वाले आफू लुटिएको पत्तो पाए ।
भावनाले उमेर र अविवाहित रहेको समेत ढाँटेकी थिइन्
फुर्वाका अनुसार सुरुमा भावनाले आफ्नो जन्मसाल २०४६ साल रहेको र आफू ३१ वर्षमात्रै भएको बताएकी थिइन् । आफूभन्दा कान्छी उमेरको नै भएको भन्दै फुर्वाले विवाह गर्न मिल्छ भन्दै विवाहको प्रस्ताव राखेका थिए । तर विवाहपछि मात्रै थाहा भयो कि भावना त आफूभन्दा ३ वर्ष जेठी अर्थात् त्यतिबेला ३७ वर्ष पुगिसकेकी रहिछिन् ।
फुर्वाले विवाहको कुरा गर्दा आफूले विवाह नगरेको र योग्य वरको खोजी गरिरहेको बताएकी थिइन् । फुर्वाले रातोपाटीसँग भने, ‘उनको बारेमा बुझ्दै गर्दा थाहा भयो, उनले त पहिले नै ४ जनासँग विवाह गरिसकेकी रहिछिन् भने एक जनासँग लिभिङ टुगेदरमा बसेको पाएँ ।’
आफूसँग विवाह गरी ३ दिनपछि घरबाट निस्किएकी भावनाले त्यसको तीन दिनपछि काठमाडौँ जिल्ला अदालतमा आफ्नो पतिसँग सम्बन्धविच्छेदको फिराद लगेकी थिइन् ।
फुर्वासँग विवाह गर्नुभन्दा अगाडि भावनाले साजन मोक्तान भन्ने व्यक्तिसँग विवाह गरेकी थिइन् । तर त्यसको जानकारी फुर्वालाई थिएन । भावनाले फुर्वासँग विवाह गरेको एक सातापछि फागुन १६ गते काठमाडौँ जिल्ला अदालतमा सम्बन्धविच्छेदको फिराद दर्ता गरी २०७७ फागुन १७ गते मोक्तानसँग सम्बन्धविच्छेद गरेको काठमाडौं जिल्ला अदालतको रेकर्डमा देखिन्छ । 
साजन मोक्तानसँग औपचारिकरुपमा सम्बन्धविच्छेद गरेपछि भावनाले २०७८ वैशाख २४ गते आफन्तहरूलाई बोलाएर पार्टी दिएकी थिइन् । त्यसपछि विवाह दर्ता गर्दा समेत भावनाले २०७७ फागुन १० गतेको मिति राख्न नमानेर २०७८ वैशाख २४ गते कै मिति राखेकी थिइन् ।
चार जनासँग विवाह, पैसा लिएर डिभोर्स !
भावनाले सुरुमा काठमाडौँको ठमेलमा काम गर्ने गरेको फुर्वाले सुनाए । फुर्वाका अनुसार सुरुमा ठमेलमा काम गर्ने क्रममा एक जापानी नागरिकले भावनालाई विवाह गरी जापान लगेका थिए । ती जापानी नागरिकको मृत्यु भएपछि भावनाले ती जापानीको सम्पत्तिबाट वौद्धको नयाँ बस्तीमा घर बनाएकी थिइन् ।
जापानी नागरिकको मृत्यु भएपछि २०७२ सालताका उनले धादिङका विनय लामासँग विवाह गरिन् । जापानमै रोजगारीका क्रममा विनय र भावनाको कुरा मिलेपछि विवाहको कुरा भएको र विवाह गरेरै डेढ वर्ष सँगै बसेको विनयले रातोपाटीलाई बताए । विनयलाई पनि उनले आफ्नो उमेर र अविवाहित रहेको भन्दै ढाँटेकी थिइन् । विवाहपछि कागजात बनाउने क्रममा मात्रै उनले आफू पहिले जापानी नागरिकसँग विवाह गरी आएको खुलाएकी थिइन् ।
विनयका अनुसार भावना जापानमा पनि काम नगरी बस्थिन् । भावना काम गर्न नखोज्ने तर मोजमस्ती गर्ने स्वभावकी थिइन् । विनयले रातोपाटीसँग भने, ‘म उनीसँग डेढ वर्ष बसेँ । पछि उनले नै सम्बन्ध अन्त्य गर्ने कुरा गरिन् । उनी काम नै गर्दैनथिन् । म नै काम गर्थे र मेरै आम्दानीले उनी आरामको जीवन बाँच्थिन् । पटकपटक उनले झुट बोलेपछि म पनि आजित भएर डिभोर्स गरेँ ।’
विनयपछि भावनाले नेपाल आएर साजन मोक्तानसँग विवाह गरेकी थिइन् । तर उक्त विवाह पनि टिकेन । मोक्तानसँग के कुन शर्त र सहमतिमा उनले डिभोर्स गरेकी हुन्, त्यो खुलेको छैन ।
यही बीचमा भावनाले सुन्दर घिसिङ (परिवर्तित नाम)सँग पनि विवाह गर्ने भन्दै लिभिङ टुगेदरमा बसेकी थिइन् । सुन्दरसँग भावनाले करिब २४ लाख रुपैयाँ लिएकी थिइन् । पछि भावनाले सुन्दरलाई वास्ता नगरेपछि उनले समेत भावनाको खोजी गरेका थिए । यद्यपि पछिल्लो समय सुन्दरले भावनासँग उक्त रकम लिई मुद्दा मामिला नगर्ने सहमति गरिसकेको फुर्वाले रातोपाटीलाई बताए ।
…अनि पक्राउ परिन् भावना
भावनाले ‘धोका’ दिएपछि फुर्वाले कन्सुलर सेवा विभागमार्फत भावना हराएको भन्दै निवेदन दिए । फुर्वाले यसको गर्नुको कारण थियो, भावनाले सबैतिरबाट फुर्वालाई ब्लक गर्नु । यो निवेदन लगत्तै कन्सुलर सेवा विभागले भावनाको खोजी गर्‍यो । फुर्वाले भावनालाई जापानबाट डिपोर्ट गरी नेपाल पठाउन निवेदन दिएपछि भावनाले पहिले लिएको सम्पत्ति र सुन फिर्ता नगर्ने तर अरू दाबी नगर्ने गरी डिभोर्स गर्ने प्रस्ताव पठाइन् । 
तर फुर्वाले भावनाको प्रस्ताव स्वीकार गरेनन् । पछि संयुक्त नाममा रहेको घरजग्गा फिर्ता गर्ने सर्तमा भावना नेपाल आइन् । तर नेपाल आएपछि भावनाले फुर्वालाई उनले कुनै रकम आफूलाई नदिएको भन्ने कागज गर्न लगाइन् । यसको अर्थ पहिले कागज बनाउने, डिभोर्स गर्ने अनि सम्पत्तिसहित सम्बन्धबिच्छेद गर्ने । यो रणनीति बुझेपछि फुर्वाले भावनाको प्रस्ताव अस्वीकार गर्दै ठगी, आपराधिक लाभ र आपराधिक विश्वासघातमा भक्तपुर प्रहरी परिसरमा उजुरी दिए । उजुरीपछि भक्तपुर जिल्ला अदालतबाट पक्राउ पुर्जी लिएर भावनालाई पक्राउ गर्‍यो । प्रहरीले ठगी र आपराधिक विश्वासघातको कसुरमा भावनामाथि भक्तपुर जिल्ला अदालतमा मुद्दा चलायो । 
भक्तपुर जिल्ला अदालतले तत्काल प्राप्त प्रमाणबाट भावना तामाङ कसुरदार होइनन् भन्न सकिएन भन्दै २०७९ असार १३ गते न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासले भावनालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दियो । 
भक्तपुर जिल्ला अदालतले भावनालाई थुनामै राखेर मुद्दाको पुर्पक्ष गर्ने आदेश दिएपछि भावना जिल्ला अदालतको थुनछेक आदेशविरुद्ध उच्च अदालत पाटनमा निवेदन लिएर पुगिन् । २०७९ असार २३ गते दर्ता भएको उक्त निवेदनमा साउन १२ गते न्यायाधीशद्वय बालेन्द्र रुपाखेती र राज्यलक्ष्मी बज्राचार्यको इजलासले थुनामा पठाउने जिल्ला अदालतको आदेश सदर गर्दै थुनामै राख्ने आदेश दियो । त्यसपछि भावना थुनामै रहनुपर्ने भयो र उनी हनी ट्रयाप (ठगी र आपराधिक विश्वासघात)को कसुरमा सुन्धारास्थित केन्द्रीय कारागारमा बन्दी जीवन बिताउन बाध्य बनिन् । 

घटनाबारे विस्तृतमा

हनी ट्र्याप : सम्पत्ति कुम्ल्याउन पटकपटक विवाह र सम्बन्धविच्छेद !

यहीबीचमा भावनाको परिवार र फुर्वाबीच भावनाले लिएको मध्ये केही रकम फुर्वाले छाड्ने र बाँकी रकम भावनाले फिर्ता गर्ने विषयमा पनि छलफल भयो । छलफल सकारात्मक नै भएपछि आफूले करिब १ करोड फिर्ता पाए मुद्दामा मिलापत्र गर्ने कुरा भयो । तर भावनाले भने ज्यादै न्युन रकम मात्रै फिर्ता गर्ने प्रस्ताव गरिन् । सहमति नभए बलात्कारको मुद्दा हालेर जेल पठाउने धम्कीसमेत दिन थालियो । फुर्वाले कम्तीमा ८० लाख फिर्ता नगरे सहमति नगर्ने खबर पठाए । सहमति नबनेपछि भावनाले कारागार कार्यालय सुन्धारामार्फत् फुर्वा मोक्तानको विरुद्ध जिल्ला प्रहरी परिसर भक्तपुरमा वैवाहिक बलात्कारको जाहेरी दिइन् । 
बलात्कारको जाहेरी दिएको थाहा पाएपछि फुर्वा भक्तपुरबाट भागेर काभ्रेको भकुण्डेबेशीमा गएर बसे । तर भक्तपुर प्रहरीले फुर्वालाई भकुण्डेबेशी नै पुगेर पक्राउ गरी भक्तपुर ल्यायो । गत असोज २७ गते पक्राउ परेका फुर्वाविरुद्ध यतिबेला जिल्ला प्रहरी परिसर भक्तपुरले वैवाहिक बलात्कारको कसुरमा अनुसन्धान गरिरहेका छ । जिल्ला प्रहरी परिसर भक्तपुरका प्रवक्तासमेत रहेका डीएसपी राजु पाण्डेका अनुसार सुरुमा जाहेरवाली भावना तामाङको स्वास्थ्य परीक्षण र बयान गराएको प्रहरीले अहिले फुर्वाको स्वास्थ्य परीक्षण गराई बयान लिने क्रम जारी राखेको छ । अब तिहारलगत्तै रायसहितको प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालयमा पठाउने तयारी गरिएको छ ।
जाहेरीमा भावनाले आफूमाथि अप्राकृतिक यौन क्रियाकलाप भएको भन्दै फुर्वाको स्वास्थ्य परीक्षणको मागसमेत गरेकी थिइन् । भावनाको माग बमोजिम नै प्रहरीको फुर्वाको लिङ्गको समेत परीक्षण गराएको छ । यद्यपि स्वास्थ्य परीक्षणको रिपोर्ट भने अझै नआइसकेको प्रहरीले जनाएको छ ।
यसरी विवाह गरेर जापान जाने भन्दै मलेसियाको व्यवसाय छाडेर नेपाल आएका फुर्वा र जापानमै व्यवसाय गरेकी भावना दुवैजना बन्दी जीवन बिताइरहेका छन् । भावनालाई ‘तत्काल प्राप्त प्रमाणबाट कसुरदार होइनन् भन्न मिलेन’ भन्दै जिल्ला र उच्च अदालतले थुनामै राख्ने आदेश दिएको छ भने फुर्वालाई अनुसन्धानकै क्रममा प्रहरी हिरासतमा राखिएको छ । 
… अनि आयो ‘आफ्टर थट’
फुर्वासँग पाँचौ विवाह गरी उनको नाममा रहेको सम्पत्तिहरु आफ्नो नाममा गराइसकेपछि जापान गएर सम्पर्कविच्छेद गर्ने योजना बनाएकी भावना ठगी र आपराधिक विश्वासघातको कसुरमा धरौटीसमेत नखोली थुनामा पुगिन् । आफूलाई थुनामा पठाउने फुर्वालाई पनि कुनै न कुनै कसुरमा जेल पठाएर बार्गेनिङ गर्न सके सम्पत्ति फिर्ता नै नगरी वा थोरै मात्रै सम्पत्ति फिर्ता गरेर मिलापत्र गर्न सकिन्छ भन्ने सोच भावनामा पलाएको देखिन्छ । 
आफू नेपालबाट जापान जाँदा र जापानबाट फर्किसकेपछि पनि फुर्वाविरुद्ध कुनै जाहेरी नदिएकी भावनाले आफू जेल पुगेको ५ महिनापछि फुर्वासँग बदला लिन वैवाहिक बलात्कारको जाहेरी दिएर फुर्वालाई हिरासतमा पुर्‍याउन सफल भइन् । भावनाको जाहेरीले फुर्वालाई जेल नै पुर्याउँछ वा उनी हिरासतबाट मुक्त हुन्छन् त्यो हेर्न त फुर्वाविरुद्धको जाहेरी मुद्दा बनेर अदालतसम्म पुग्नैपर्ने हुन्छ । यद्यपि फुवालाई फसाउने भावनाको आफ्टर थटले भने यसपटक काम गरेको छ । 
यस्तो छ ‘आफ्टर थट’ सम्बन्धी सर्वोच्चको नजिर
सर्वोच्च अदालतका न्यायाधीशद्वय तेजबहादुर केसी र हरिप्रसाद फुयालको संयुक्त इजलासले २०७६ असार १३ गते गरेको बलात्कारसम्बन्धी एक फैसलामा आफ्टर थट के हो र अदालतले त्यसलाई प्रमाणका रुपमा लिन मिल्ने कि नमिल्ने भनेर व्याख्या गरिएको छ । 
दाङको साविक पुरन्धरा गाविस वडा नम्बर ८ मा दुई महिलाबीच साँधको विषयलाई लिएर झैझगडा भयो । झैझगडामा एक महिला पवित्रा सुनार घाइते बनिन् र उनको उपचार नै गर्नुपर्ने भयो । 
आफूलाई आरोपित महिला शान्ति पुन, उनका पति र छोरालेसमेत कुटपिट गरी घाइते बनाएपछि पवित्राले प्रहरी चौकी हसंपुरमा उजुरी दिइन् । त्यसपछि प्रहरी चौकीबाट तीनजनाको प्रहरी टोली आरोपित महिला र उनका परिवारका अन्य सदस्यलाई ल्याउन महिलाकै घर गए । 
महिलाको पति घरमा नभएको कारण १७ वर्षीय छोरा र महिलालाई लिएर प्रहरीहरु प्रहरी कार्यालयतर्फ आए । उनीहरुसँगै कुटपिटबाट घाइते बनाइएकी महिलाका दिदी सुशीला पनि सँगै प्रहरी कार्यालयमा गए । 
प्रहरी कार्यालयमा छलफलपछि शान्ति पुनले कुटपिटबाट घाइते भएकी पवित्रा सुनारलाई उपचार खर्चवापत १८ हजार दिने सहमति भयो । २०६७ पुष १२ गते भएको छलफलपछि सबै घर फर्किए । 
तर २०६७ पुष १६ गते एकाएक शान्ति पुनले दुई प्रहरी कर्मचारीविरुद्ध आफूलाई जबरजस्ती करणी गरेको र घाइते महिलाकी दिदी सुशीलाले बलात्कार गर्नमा सहयोग पुराएको भन्दै प्रहरीमा जाहेरी पर्‍यो । जाहेरीमा आफूलाई प्रहरी चौकीतर्फ ल्याउँदा बाटोमा नै दुई प्रहरीले बलात्कार गरेको जाहेरी थियो । 
जाहेरीपछि प्रहरीले आफ्नै कर्मचारीलाई नियन्त्रणमा लिएर घटनास्थल मुचुल्का बनायो । घटनास्थल मुचुल्कामा महिलाले आफूलाई बलात्कार गरिएको भनिएको जङ्गलमा माडिएको स्थान भेटियो । घटना भएको भनिएको ४ दिनपछिको स्वास्थ्य परीक्षण र घटना भएको भनिएको दिन महिलाले लगाएको पेटीकोटमा मानव वीर्य पाइएको रिपोर्ट आयो । यद्यपि उक्त मानव वीर्य प्रतिवादीकै हो कि होइन भन्ने कुनै परीक्षण गरिएन । 
घटनास्थलमै सँगै रहेकी भनिएकी घाइतेकी दिदी सुशीला सुनारले बलात्कार नभएको र रिसले त्यस्तो जाहेरी दिएको बताइन् । दाङ जिल्ला अदालतले आरोपितलाई कसुरबाट सफाइ दियो । 
जिल्ला अदालतले आरोपितलाई सफाइ दिएपछि सरकारी वकिल कार्यालय तत्कालीन पुनरावेदन अदालत पुग्यो । पुनरावेदन अदालतले पीडितको बयान, घटनास्थल मुचुल्का र स्वास्थ्य परीक्षण तथा पेटीकोटको परीक्षणमा पाइएको ‘मानव वीर्य’लाई प्रमाण मान्दै जिल्लाको फैसला उल्टाएर दुई प्रहरी कर्मचारी (जवान र हवल्दार)लाई ७ वर्ष कैद र जनही एक लाख रुपैयाँ क्षतिपूर्ति पीडितलाई भराउने फैसला सुनायो । 
उक्त फैसलामा पछि सरकारी वकिल सामुहिक बलात्कार र प्रतिवादी प्रहरी हवल्दार निर्दोषिताको दावी गर्दै सर्वोच्च अदालत आइपुगे । सर्वोच्च अदालतमा प्रतिवादी प्रहरी हवल्दारले बलात्कार नगरेको तर उनको विपक्षमा औषधी उपचार खर्च भराउने गरी मिलापत्र गराएकाले त्यसको रिस साँध्न बदला भावले घटना भएको भनिएको चार दिनपछि जाहेरी दिएकाले त्यो बनावटी विचार अर्थात् आफ्टर थट रहेको भन्दै त्यसलाई प्रमाणका रुपमा लिन नमिल्ने जिकिर गरे । 
सर्वोच्च अदालतले तत्कालीन पुनरावेदन अदालतकै फैसलालाई सदर गरेपनि आफ्टर थट के हो र त्यसलाई अदालतले प्रमाणका रुपमा लिन मिल्ने कि नमिल्ने भनेर व्याख्या गरेको छ । फैसलाको एक अंश यस्तो छ :
‘आफ्टर थटको तर्कलाई अन्य प्रमाणहरूको अवस्था, पीडितको परिस्थिति तथा पीडितले आरोपीहरूलाई फसाउने मनसाय पर्याप्त रूपमा विद्यमान छ छैन भन्ने तत्वहरूसँग तुलना गरेर हेर्नु पर्दछ । मूलतः अफ्टर थटका तत्त्वहरूमा तथाकथित पीडितको आरोपी व्यक्तिलाई सताउने वा फसाउने मनसाय भएको तथ्य र प्रमाणबाट पुष्टि हुनु पर्दछ । जाहेरीमा घटनाको सत्य तथ्यपरक सूचना आउँदछ भन्ने मानिन्छ । यदि जाहेरी प्रत्यक्ष रूपमा अपराधको पीडित वा देख्ने व्यक्ति स्वयंले दिएको भए र तत्काल दिएको भए त्यसको प्रामाणिक महत्त्व उच्च रहन्छ । तर समयको अन्तरालमा एउटा उजुरी वा जाहेरी दिएर फेरि अर्को जाहेरी दिएको भए वा जाहेरीलाई फरक पार्ने बकपत्र गरेको भए वा जाहेरीलाई समर्थन नगर्ने अन्य प्रमाणहरू मिसिलसाथ संलग्न भए त्यस्तो जाहेरीलाई  आफ्टर थट वा बनावटी वा सोची विचारी दिएको वा सुनी सुनाई प्रकृतिको भन्न सकिन्छ । कुनै एक अपराधमा घटनाको सत्य तथ्य बाहिर आउँदै गर्दा एक वा एकभन्दा बढी निवेदन वा जाहेरी परेको हुन सक्दछ तर एकभन्दा बढी निवेदन वा जाहेरी पर्दैमा त्यस्ता सबै जाहेरीहरू आफ्टर थट भन्न मिल्दैन । अपराधको अवस्था र अन्य प्रमाणहरू हेर्दा कुनै एक मात्र जाहेरी परेको भए पनि र अपराध भएकै दिन वा भोलिपल्ट जाहेरी परेको भएपनि फसाउने मनसायसहित त्यस्तो जाहेरी परेको भए आफ्टर थट हुन सक्दछ । तसर्थ आफ्टर थट मा समयको अन्तराल महत्त्वपूर्ण होइन, सो अन्तरालमा पहिले परिसकेको जाहेरी वा तथ्य वा कुरामा फरक वा असर पर्ने गरी पछि फसाउने मनसायसहित अर्कै बेहोराको जाहेरी वा विचार वा कुरा आएको हुनुपर्छ । त्यसमा व्यक्तिले द्वेषपूर्ण तरिकाले कसैसँग बदला लिने वा फसाउने मनसाय देखिनु पर्छ र त्यसको पछाडि कुनै जरिया हुनु आवश्यक छ । बनावटी विचार (आफ्टर थट) बाट सिर्जित परिणामबाट गरिने अनुसन्धान कार्यसमेत बनावटी हुन्छ, त्यसको आधारमा न्यायालयले कसुर ठहर गर्न मिल्दैन ।’
फुर्वा मोक्तानले भावना तामाङविरुद्ध दिएको ठगी र आपराधिक विश्वासघातको जाहेरीविरुद्ध जाहेरी परेको ६ महिनापछि भावनाले फुर्वाविरुद्ध वैवाहिक बलात्कारको जाहेरी दिएकी छिन् । घटनाको लामो समयपछि दिइएको उक्त जाहेरी हेर्दा भावनाले बदला भावले नै फुर्वाविरुद्ध वैवाहिक बलात्कारको जाहेरी दिएको देखिन्छ र उक्त कार्य कानुनको भाषामा कसैलाई सताउने वा फसाउने मनसायले ‘आफ्टर थट’ रहेको हो कि होइन भनेर व्याख्या गर्नचाहिँ अदालतकै आदेश वा फैसला कुर्नुपर्ने हुन्छ ।

Source Ratopati

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here