आज बडादसैँ, देशभर टीका र जमरा लगाइ मनाइँदै

काठमाडाैँ । आज  नेपालीहरूको महान् चाड बडादसैँ मान्यजनहरूबाट टीका र आशीर्वाद ग्रहण गरी मनाइँदै छ ।
घरमा विधिपूर्वक राखिएको जमरा र टीका देवी दुर्गालाई चढाएपछि पूर्ण घडाको जलले अभिषेक गरी आफ्ना मान्यजनहरूबाट नवदुर्गा भवानीको प्रसाद, टीका र जमरा लगाउने प्रचलन छ । यो दसैँको सबैभन्दा महत्त्वपूर्ण दिन हो ।
आजको दिन परिवारमा आफूभन्दा ठुलाबडा, बाजे बज्यै, बाबुआमा, गुरु पुरोहित तथा मान्यजनको हातबाट नवदुर्गा भवानीको प्रसादको रूपमा रातो टीका, जमरा तथा प्रसाद थापी यस, ऐश्वर्य तथा दीर्घायु प्राप्त होस् भनी आशीर्वाद लिने गरिन्छ ।
टिका लगाउँदा आर्सीवाद दिने मन्त्र
आयू द्रोणसुते श्रीयो दशरथे शत्रुक्षयं राघवे।
ऐश्वर्यं नहुषे गतिश्च पवने मानञ्च दु¥योधने।
दानं सूर्यसुते बलं हलधरे सत्यञ्च कुन्तीसुते।
विज्ञानं विदुरे भवन्तु भवतां कीर्तिश्च नारायणे ।।
यो मन्त्र विशेषगरी पुरुषलाई टीका लगाउँदा आशीर्वाद दिन भनिन्छ । महिलालाई भने दुर्गा देवीको स्वरूप मानेर निम्न लिखित मन्त्रले आशीर्वाद दिइन्छ ।
जयन्ती मङ्गला काली भद्रकाली कपालिनी ।
दुर्गा क्षमा शिवा धात्री स्वाहा स्वधा नमोऽस्तुते ।।
समस्त नेपाली जनले विजयादशमीलाई एकता, भ्रातृत्व र प्रेमको रूपमा लिने गरेका कारण पनि सबै आफन्तजन एकै स्थानमा भेला भएर टीका लगाउने प्रचलन छ । मान्यजनको हातबाट दसैँको टीका लगाउन देश विदेशबाट समेत मानिसहरू आफ्नो गाउँघरमा पुग्ने गर्दछन् । टिका थाप्ने यो क्रम कोजाग्रत पूर्णिमासम्म लगाउने चलन छ ।
विजयादशमीका दिन आफ्ना मान्यजनबाट टीका ग्रहण गर्दा अन्य फूलको सट्टा घटस्थापनाको दिन पूजा कोठामा राखिएको समृद्धिको प्रतीक पहेँलो जमरा प्रयोग गरिन्छ । असत्यमाथि सत्य र आसुरी शक्तिमाथि दैवी शक्ति विजय भएको खुसीयालीमा दसैँ मनाउने चलन चलेको पौराणिक मान्यता छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here