नुवाकोटको तारकेश्वरमा रोटे तथा जाँते पिङको संरक्षण अभियान संचालन

नुवाकोट । गाउँको पहिचान तथा संस्कृतिलाई संरक्षण गर्न नुवाकोटको तारकेश्वर गाउँपालिकाले अभियान सञ्चालन गरेको छ। 

गाउँघरको पुराना र परम्परागत वस्तु तथा संस्कृतिको संरक्षण अभियानबाट गाउँवासी निकै खुसी भएका छन्। 
सदरमुकाम विदुरदेखि २८ किलोमिटर दक्षिणमा रहेको तारकेश्वर गाउँपालिका-३ मा सदियौं पुरानो र लोप हुन लागेको परम्परागत पिङहरूको संरक्षण कार्य सुरु गरिएको गाउँपालिका कार्यालयले जनाएको छ।
गाउँपालिकाभित्र लामो इतिहास बोकेको रोटे र जाँतेपिङको महत्व उजागर हुन नसक्दा पछिल्लो समय लोप हुन लागेको परम्परागत रोटेपिङको संरक्षणमा गाउँपालिकाले विशेष चासो देखाएको हो। 
तारकेश्वर गाउँपालिका, सम्बन्धित वडा तथा स्थानीयवासीको आर्थिक तथा प्राविधिक सहयोगमा रोटेपिङको संरक्षण अभियान अन्तर्गत निर्माण कार्य भइराखेको प्रमुख प्रशासकीय अधिकृत राजु अधिकारीले बताए। 
उनका अनुसार परम्परागत रोटे पिङ तथा जाँते पिङ दैनिक कालिगढ खटिएर निर्माण गरिरहेका छन्।
लोपोन्मुख रोटे तथा जाँते पिङ संरक्षणमा तारकेश्वर गाउँपालिकाको अभियान नै रहेको गाउँपालिका अध्यक्ष शिव अधिकारी अविरलले बताए। 
सदियौं पुरानो रोटे तथा जाँते पिङ नाममा मात्र सीमित रहेको अवस्थामा यस वर्षदेखि तारकेश्वर-३ खानिगाउँस्थित रोटेपिङ स्थानीय डाडाँमा निर्माण गरिएको छ। 
अन्य पिङको तुलनामा रोटे तथा जाँते पिङ काठबाट बनाउनुपर्ने भएकाले धेरै खर्चिलो, मेहनत धेरै गर्नुपर्ने र नयाँ पुस्ताले महत्व नबुझ्दा लोप हुँदै गएकोमा यसलाई संरक्षण गर्न थालिएको अध्यक्ष अधिकारीले बताए। 
गाउँको पहिचानको संरक्षणका लागि गाउँपालिकाको तारकेश्वर-२ को सातदोबाटो र ३ को खानीगाउँमा परम्परागत रोटेपिङ तथा जातेपिङ निर्माण भइरहेको छ। 
हाल दुवै स्थानमा पिङ निर्माण अन्तिम चरणमा पुगेको छ। 
तारकेश्वर गाउँपालिका अध्यक्ष शिव अधिकारी अविरल र उपाध्यक्ष हरिप्रसाद रिमालले संयुक्त रूपमा अवलोकन गरी मौलिक परम्पराको संरक्षण गर्नु दायित्व भएको भन्दै मौलिकता झल्कने गरी पिङ निर्माण गर्न निर्देशन दिएसँगै परम्परागत चिनारीहरूको पुनर्निर्माण तथा संरक्षण सुरु भएको हो।

देबचन्द्र भत्त/अन्नपूर्ण पोस्ट

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here