नेपालको अर्थतन्त्र आगामी बर्ष झन् खस्किने प्रक्षेपण

काठमाडौँ । अहिले नेपालको अर्थतन्त्रमा केही सुधार हुँदै गइरहेको छ। अर्थतन्त्र सुधारको संकेत देखिए पनि आगामी वर्ष नेपालको अर्थतन्त्र अहिलेको भन्दा झन् खस्कने एसियाली विकास बैंक (एडीबी) ले अनुमान गरेको छ।
एडीबीले सन् २०२३ मा नेपालको आर्थिक वृद्धिदर ४.७ प्रतिशतमा सीमित हुने अनुमान गरेको छ। एडीबीले सन् २०२२ मा नेपालको अर्थतन्त्रमा ५.८ प्रतिशतको वृद्धि हुने अनुमान गरेको थियो ।
प्रतिवेदन सार्वजनिक गर्दै नेपालका लागि एडिबीका कन्ट्री डाइरेक्टर आनो कुस्वाले कोभिड १९ महामारीपछिको लकडाउन, डेंगु ज्वरोको प्रकोप लगायतले नेपालको स्वास्थ्य प्रणालीलाई कमजोर बनाइदिएको, जसले गर्दा नेपालको अर्थतन्त्रमा थप गिरावट आउने अनुमान गरिएको बताए ।
प्रतिवदेनमा सन् २०२४ मा नेपालको वैदेशिक मुद्राको संचितीमा अझ गिरावट आउने र मुद्रास्फितीमा थप दबाब पर्नेसमेत जनाइएको छ।
नेपालमा अहिले संचित मुद्रामा केहि सुधार हुँदै गएको राष्ट्र बैंकको विवरणमा उल्लेख छ। डलरको संचिति बढे पनि अहिले हरेक वस्तुको मूल्यले आकाश छोएको छ। देशलाई आवश्यक वस्तु विदेशबाट आयात गर्नु पर्ने भएकोले देशमा संचित रहेको वैदेशिक मुद्रा छिटै रितिने अर्थविद्हरुको अनुमान छ।
चालु आर्थिक वर्ष २०७९/८० को पहिलो महिनामा नेपालको वैदेशिक व्यापार घाटा १०.३८ प्रतिशतले घटेको छ। भन्सार विभागका अनुसार साउन महिनामा नेपालको कूल वैदेशिक व्यापार घाटा १ खर्ब १६ अर्ब ४७ करोड ६३ लाख ६५ हजार रुपैयाँ रहेको छ। सो अवधिमा नेपालले विभिन्न देशबाट १ खर्ब ३१ अर्ब २८ करोड ६० लाख ६६ हजार रुपैयाँको वस्तुहरु आयात गरेको छ। भने १४ अर्ब ८० करोड ९७ लाख रुपैयाँको वस्तुहरु निर्यात गरेको छ।
अघिल्लो आर्थिक वर्ष २०७८/७९ को साउन महिनामा नेपालको वैदेशिक व्यापार घाटा १ खर्ब २९ अर्ब ९६ करोड ६६ लाख २ हजार रुपैयाँ रहेको थियो। उक्त वर्ष नेपालले १ खर्ब ५० अर्ब ७३ करोड १७ लाख १९ हजार रुपैयाँको वस्तुहरु आयात र २० अर्ब ७६ करोड ५१ लाख १७ हजार रुपैयाँको वस्तुहरु निर्यात गरेको थियो।
अहिले साउन मसान्तसम्म बैदेशिक मुद्राको संचितिमा केहि सुधार आएको भए पनि आउँदो सालमा नेपालको अर्थतन्त्र राम्रो हुने संकेत नदेखिएको पुर्व गभर्नर तिलक रावलले बताए। उनले भने,’अहिले विश्वमा नै हरेक बस्तुको मूल्य बढ्दै गएको छ जसले गर्दा अहिले  संचितिमा रहेको वैदेशिक मुद्राले धेरै समय टिकाउँदैन।’
अहिले कोभिडको मारबाट केहि तंग्रिन खोजेका विश्वका विभिन्न अर्थतन्त्रहरुलाई युक्रेन र रुसबीचको युद्धले अझ नराम्रो असर गरेको छ। यसको असर नेपालमा पनि परेको छ। कोभिडले देशको अर्थतन्त्रलाई कमजोर पारेको छ भने  युक्रेन र रुस युद्धले इन्धनको मूल्य एकदमै वृद्धि भएको छ। खाद्यानको मूल्य पनि बढेको छ।
यो मूल्य वृद्धि नेपालमा मात्र नभएर अन्य राष्ट्रहरुमा पनि भएको उनले बताए। उनी भन्छन्,’यो मूल्य वृद्धि नेपालमा मात्र नभएर अन्य राष्ट्रहरुमा पनि भएको हो तर अन्य राष्ट्रहरु यस्ता समस्यासँग जुधेर आफ्ना जनताहरुलाई राहत दिइ अघि बढेका छन्।  तर नेपालमा त्यस प्रति केहि वास्ता छैन।’
नेपालका जनताहरु महंगीले पिल्सिरहेको र यस प्रति सरकारको केहि ध्यान नगएकोमा पुर्व गभर्नर रावलको गुनासो रहेको छ।  सरकार गठबन्धनका कुरा, चुनाव कसरी गर्ने, कसरी जित्ने र फेरी कसरी सत्तामा टिक्ने अथवा जाने भन्नेमा नै तल्लिन देखिन्छ। उनले हाम्रो देशका नेतृत्व पंतीमा रहेका नेताहरुले अर्थतन्त्र तर्फ ध्यान नदिएको समेत बताएका छन्।
नेपालको अर्थतन्त्र माओवादीको जनयुद्धदेखि नै तहसनहस हुँदै आएको छ। माओवादी संघर्षको बेलामा अर्थतन्त्रले पटक्कै ध्यान नपाएको विज्ञहरु बताउँछन्। त्यसबेला माओवादीको समस्या समाधान भएपछि अर्थतन्त्रले एउटा गति लिनेछ भनेर नेताहरुले भाषण गरेका थिए। तर त्यो सबै कुरा भाषणमा नै सिमित रहेको उनी बताउँछन्।
बजेटमा  नेपालको आर्थिक वृद्धि ८ प्रतिशतले भएको भने पनि हामीले ५ प्रतिशत भन्दा तलको आर्थिक वृद्धि भएको कुरा गर्नुपर्ने पुर्व गवर्नर रावल बताउँछन्। ‘बजेट पेश गरेर मात्र के भयो र तपाई हामी सबैलाई थाहा छ बजेटमा उल्लेख रहेका कुराहरु कार्यन्वयन हुदैन।’ उनले भने, ‘हरेक वर्ष किसानलाई मलखाद व्यवस्था गर्न अरबौ रुपैयाँ छुट्याइएको हुन्छन्। तर हरेक वर्ष किसानहरु मलखादको अभावमा समस्यामा हुन्छन् ।’
बजेटमा किसानका उब्जनीहरुको लागि राम्रो व्यवस्था गरिने छ। एउटा समर्थन मूल्यमा मल व्यवस्था गर्ने कुरा उल्लेख हुने गरेको छ।  तर किसानहरुले समयमा मल नपाउने र उत्पादन भएको बस्तु पनि समयमा बजार नपुग्नुका साथै राम्रो मूल्य नपाउने जस्ता समस्या अहिले पनि उस्तै छ।  ति समस्याहरु समाधान नहुञ्जेल नेपालको अर्थतन्त्रले गति लिन कठिन देखिन्छ।
नेपालको मुख्य बाली धान कै कुरा गर्ने हो भने पनि धान रोपाई नै बिगतको तुलनामा करिव ५ प्रतिशतले घटेको छ। खास गरि धानको भण्डार मानिने मधेशमा त करिव २५ प्रतिशतले धान रोपाइँ कम भएको भन्ने छ। कृषिमा देखिएका यस्ता समस्याले आर्थिक विकासमा समस्या आएको देखिन्छ। यस प्रति सरकारले चासो नदिएको हुनाले अर्थतन्त्र झन् खस्किने देखिन्छ।
नेपालमा हरेक बस्तु आयात मात्र हुने र निर्यात निकै कम हुने भएको हुनाले व्यापार घाटा बढेको हो। बिदेशीबाट हरेक बस्तु आयात गर्ने मात्र नभएर निर्यात गर्नको लागि उत्पादनशिल क्रियाकलापमा लग्नु पर्ने पुर्व गवर्नरले बताए। ५०/५५ अर्वको चामल देखि साग सब्जी माछा मासु सबै बस्तु आयात गर्ने गरेका छौँ। यी सबै वस्तु नेपालमा नै उत्पादन गर्नुपर्नेमा उनले जोड दिए।
नेपालले उत्पादन गर्न सक्ने बस्तु यहि उत्पादन बढ्यो भने ति बस्तुहरु विदेशबाट आयात गर्न पर्दैन।  जसले गर्दा व्यापार घाटा केहि कम हुन्छ। आर्थिक विकासको लागि हामी सक्षम भएको क्षेत्रमा क्रियाशील हुनुपर्ने उनले बताए।  उनले भने,’ हामी यस्ता बस्तु उत्पादन गरौँ जसले मूल्य र गुणस्तरको आधारमा हाम्रो अन्तरिक बजार र बाह्य बजारमा पनि अरु देशका बस्तुहरु संगै प्रतिस्पर्दा गर्न सकोस्।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here