आज राष्ट्रिय बाल दिवस: बाल दिवसको कथा ब्यथा

काठमाडौ । वि.सं. २०२१ सालको भदौ ४ गतेदेखि मनाउन सुरु गरिएको राष्ट्रिय बाल दिवस २०६३ सालमा आएर भदौ २९ गते मनाउन सुरु गरियो ।

इतिहासलाई फर्केर हेर्दा नेपालमा बाल दिवश रत्नराज्य लक्ष्मीदेवी शाहले भारत भ्रमण गर्ने क्रममा भारतमा महात्मा गान्धीको जन्मदिनमा बाल दिवस मनाउने गरेको र भारतका प्रभावशाली नेताद्वारा समाजसेवामा सक्रियताका साथ लागेको देख्नुभयो ।

भारतबाट फर्केपछि मुमा रत्नद्वारा आफ्नो जन्मदिन पारी वि.संं. २०२१ भदौ ४ मा नेपाल बाल संगठन स्थापना गरी आफ्नै जन्मदिनमा बालमन्दिरमार्फत टुहुरा, अनाथ बालबालिकाको संरक्षणको थालनी गरेको दिनलाई नै राष्ट्रिय बाल दिवसको घोषणा गरी नियमित रुपमा मनाउन थालेको पाइन्छ ।
वि सं. २०४६ सालमा बहुदलीय प्रजातन्त्रको पुनर्स्थापनापछि गठित अन्तरिम सरकारले संयुक्त राष्ट्रसंघको बालअधिकारसम्बन्धी महासन्धी १९८९ लाई सन् १९९० को सेप्टेम्बर १४ मा अनुमोदन गरेको दिनलाई नै बाल दिवसको रुपमा मनाउने घोषणा गरेको थियो ।
त्यसैअनुसार वि.संं. २०६३ देखि भने भदौ ४ गतेलाई छाडेर भदौ २९ गते यो दिवसलाई देशव्यापी रुपमा मनाउने गरिएको छ । यो वर्ष पनि आजकै दिन “विपदमा बाल अधिकारको सुनिश्चितता हामी सबैको साझा प्रतिबद्धता” भन्ने नाराका साथ मनाउन लागिएको छ ।

निर्दोष आँखा, निर्दोष हाँसो, निर्दोष मन, हैरान पार्ने गरी दोहोरिने सामान्य प्रश्न, दोहोर्‍याइरहने गल्तीहरु, तोते बोली, बदमास र सैतानी व्यबहार, अवोध गतिविधि, सानो कुरामा खुसी र दुखी हुने बानी, कार्टुनमा रमाउने, अनि असीमित सपना बोकेका ती कलिला बालबालिका र तिनको सुरक्षा एवं संरक्षणको लागि बाल दिवस मनाउने गरिन्छ ।
बालबालिकासम्बन्धी ऐन २०७५ ले अठार बर्ष उमेर पूरा नगरेको व्यक्तिलाई बालबालिका भनी परिभाषित गरेको छ । बाल अधिकार बालबालिकाको जन्मसिद्ध वा नैसर्गिक अधिकार हो । सामाजिक सुरक्षा, शिक्षा दीक्षा, माया, स्नेह, शान्ति, समझदारी, बालमैत्री वातावरण, पोषिलो खानपान आदि बालबालिकाको नैसर्गिक अधिकार हो । अझ भन्नुपर्दा बाल अधिकार अन्तर्गत बाल बचाउ, बाल विकास, बाल संरक्षण, बाल सहभागिताजस्ता विषय पनि पर्छन् ।
बाल अधिकारका कुरा दस्तावेज र नारामा सीमित देखिएका छन् । नेपाल सरकारले बालबालिकाको थुप्रै हकको प्रत्याभूति गरे पनि कार्यान्वयनको पाटो फितलो भइदिँदा कयाै‌ं बालबालिका अधिकारबाट बञ्चित भएका छन् । अझै पनि सवारी साधनमा, होटल तथा रेष्टुरेण्टमा, केही उद्योग धन्दाहरुमा बालबालिकाले सस्तो मूल्यमा श्रम बेच्न तथा दुर्व्यवहार भोग्न बाध्य छन् । कतिपय बालबालिकाले सडकमै दिनरात बिताएका छन् ।

बालबालिकालाई उनीहरुको पढाई र अन्य व्यवहारमा अरुसंग तुलना नगरौं । हरेक बच्चा आफैंमा बिशेष हुन्छन् । केवल उनीहरुमा भएको क्षमता पहिचान गरी त्यसलाई उजागर गर्न प्रोत्साहन गरौं ।

सरकारी तथा निजी संस्थाले बेला बेलामा पुन:स्थापना गरे पनि सडक बालबालिकाको संख्या उल्लेखित रुपमा कमी आउन सकेको छैन । अझै पनि बालबालिकाको मुद्धा दिनहुँ खतरामा परिरहेका छन् । उनीहरुले उचित शिक्षा, स्वास्थ्य सेवा, पोषण र हिंसाबाट सुरक्षा पाउन सकेका छैनन् । जब प्रत्येक सरकार र नागरिकले बाल अधिकारसम्बन्धी आफ्ना कर्तव्यको पालना गर्दछ र प्रत्येक बालबालिकाले ती अधिकार दाबी गर्न सक्छन् तबमात्र बालअधिकार पूर्णरुपमा सुरक्षित हुनेछ ।
कोभिड- १९ को महामारीका कारण लागु गरिएको कडाइले बालबालिकाको पठनपाठन, मनोरञ्जनात्मक क्रियाकलापलगायतमा अवरोध आउनुले उनीहरुको साथी, सहपाठी, शिक्षक, तथा परिवारसँगकै सम्पर्क पनि पातलिएको छ । यसले उनीहरुलाई निकै असर गरेको छ । सबैको दैनिक जीवन, सम्बन्धहरु, स्रोत साधनहरु तथा सेवासम्मको पहुँचमा पनि यसले परिवर्तन ल्याइदिएको छ ।
युनिसेफका अनुसार अझै पनि धेरै देशले विद्यालय सञ्चालन गर्ने योजनालाई पर धकेलिरहेका छन् । कोभिड- १९ को कारणले विद्यालय बन्द भएको समयमा विश्वभर एक तिहाई अर्थात ४६ करोड ३० लाख बालबालिका दूर शिक्षाको पहुँचबाट बञ्चित छन् । महिनौंसम्म यति धेरै बालबालिकाको पढाइ एवं सिकाईमा पूर्ण अवरोध हुनु भनेको विश्वव्यापी शैक्षिक आपतकाल हो ।
नेपालमा पनि विद्यालय जानेमध्ये दुई तिहाई बालबालिका दूर शिक्षाको अवसरबाट बञ्चित छन् । १० मध्ये ३ बालबालिकाको मात्रै टेलिभिजन, रेडियो र इन्टरनेटमा आधारित सिकाइका माध्यमहरुमा पहुँच रहेको छ । तीमध्ये ८० प्रतिशत मात्रै दूर शिक्षाका माध्यमलाई आफ्नो सिकाई कार्यका लागि उपयोग गरिरहेका छन् ।
अनलाइन कक्षाको फाइदा शहरी क्षेत्रका बालबालिकाहरुले उठाइरहेका छन्, तर गाउँका निकै कम विद्यार्थीसम्म पनि यो सुविधा पुगेको छैन । थुप्रै बालबालिका जोसँग अनलाइन कक्षाका लागि सुविधा छैन, उनीहरुसँग मोवाइल या टीभीसमेत छैन । विशेष गरी दुर्गम क्षेत्रमा मोवाइल भए पनि इन्टरनेट छैन । अझै भनौं मोबाइल चार्ज गर्नका लागि बिजुलीसमेत छैन ।
युनिसेफले बालबालिका तथा परिवारका सम्बन्धमा गत जुलाईमा गरेको सर्वेक्षण अनुसार ४९ प्रतिशत परिवारले बन्दाबन्दीको बेलामा आफ्ना बालबालिकाको आवश्यकता पूरा गर्न सकिन्छ कि सकिन्न भन्ने विषयमा तनाव खेपिरहेका छन् ।
संसारभरका बालबालिकालाई अहिले आफ्ना अभिभावकको साथको आवश्यकता छ भने ती अभिभावकलाई रोजगारदाताको आवश्यकता छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा कोरोना भाइरसबाट १० बर्षभन्दा कम उमेरका करिव आठ सय बालबालिका संक्रमित भइसकेका छन ।
बेलायतका वैज्ञानिकहरुका अनुसार बालबालिकाहरुको नाकमा तीन हप्तासम्म भाइरस जीवित रहन्छ जसले गर्दा संक्रमित बालबालिकाले तीन हप्तासम्म संक्रमण सार्न सक्ने खतरा रहन्छ । तसर्थ बालबालिकाहरुलाई घरमै संक्रमणबाट बचाएर राख्ने उपाय अपनाउनुपर्छ ।
कोरोनाको जोखिम बढ्दै जाँदा आफ्नो बालबालिकाको सुरक्षाको लागि आम अभिभावकले छोराछोरीलाई साथीसंग खेल्न पठाउने, खाना चपाएर खुवाउने, जुठो खुवाउने, आँखामा परेको कसिंगर थुकले पुछिदिने जस्ता बानी अब हटाउनुपर्छ ।
कोरोना कहरमा कति नवजात शिशु र सुत्केरी आमाहरु महामारीको संक्रमणसंगको लडाइँमा पराजित भएका छन् । कयौं आमाहरु अस्पतालको बेडमा छटपटाएका छन् भने कयौं घरकै बेडमा एकान्त जीवन बिताएका छन्, जसले गर्दा आमाको न्यानो काखमा लोलाउने शिशु नराम्ररी प्रभावित भएका छन् ।
आमाको मुहारमा तनावको रङ्ग पोतिएको छ । कोरोना पीडाको पहाडले थिचेको छ । कोरोना नेपाल प्रवेशसंगै सुत्केरी आमा र नवजात शिशुलाई समात्यो । निर्दयी कोरोनाले नेपालमा जीवन लिएको पहिलो व्याक्ति नै सुत्केरी आमा परिन् । अवोध शिशुको विधाताले भाग्य लेख्न नभ्याउँदै आमाको न्यानो काख छुट्यो ।
फ्रान्सका दार्शनिक जिन ज्याक्स रुसोले मानव जन्मिँदा स्वतन्त्र जन्मिन्छ तर विस्तारै ऊ दायित्वको डोरीले बाँधिदै जान्छ भनेका थिए । संसारमा बालबालिकाबाहेक अरु कोही स्वतन्त्र छैन । निर्दोष र स्वतन्त्र त्यो बालापन नै सिकाइको महत्वपूर्ण समय हो । बालापनमा प्रशस्त माया पाएका बालबालिकाहरुले मात्र अरुलाई माया र विश्वास गर्न सकेका हुन्छन् ।
बालापनमा आमाको स्पर्शले  माया ममता सिकाउँछ, बाबाको हातको ठेलाले संघर्ष सिकाउँछ । स्कुलमा गुरुहरुले दिनुभएको गृहकार्यले अनुशासन सिकाउँछ । बेन्चमा संगै बस्ने साथीले मित्रता सिकाउँछ । बाटोमा हिँड्दा लागेका ठेसहरुले अघि बढ्न सिकाउँछ । तसर्थ यो समयमा बालबालिकालाई सत्य र आशावादी बन्न हरेक हिसाबले सिकाऔं ।
बालबालिकालाई उनीहरुको पढाई र अन्य व्यवहारमा अरुसंग तुलना नगरौं । हरेक बच्चा आफैंमा बिशेष हुन्छन् । केवल उनीहरुमा भएको क्षमता पहिचान गरी त्यसलाई उजागर गर्न प्रोत्साहन गरौं । बालबालिकालाई पैसा भन्दा धेरै समय दिन जरुरी छ । उनीहरुलाई स्पाइडरम्यान होइन सरल र असल बन्न प्रेरित गर्नुपर्छ ।
आजको दिन बाल दिवश मनाइरहँदा  हरेक बुबा आमाले पनि आफ्नो छोराछोरीसंग आफ्नो सम्बन्ध र आफूले दिएको समयको बारेमा सोंच्न जरुरी छ । मानिसहरुको जीवनशैली एकदमै व्यस्त हुँदै गइरहेको वर्तमान अवस्थामा आफ्ना छोराछोरीहरु हिँडेको बाटो बाबुआमाले हेर्न भ्याउनुपर्दछ ।
उनीहरु सही दिशातर्फ उन्मुख भएका छन् या छैनन् विचार पुर्‍याउनु जरुरी छ । उनीहरुका लागि पर्याप्त समय र माया ममता दिनु जरुरी छ । हाम्रा सम्पूर्ण बालबालिका असल भएको देख्न, सुन्न र अनुभव गर्न पाइयोस् । सबैलाई शुभकामना ।
(लेखक कृषि विकास बैंक बुटवल शाखाकी वरिष्ठ शाखा प्रवन्धक हुन्)