आज कुसे औंसी, बुबाको मुख हेर्ने दिन: यस पर्वको धार्मिक तथा सांस्कृतिक महत्त्वहरु

काठमाडौ । भाद्रकृष्ण औंसीका दिनमा मनाइने कुसेऔंसी पर्व आज घरघरमा पवित्र कुश भित्र्याएर मनाइँदैछ ।
सनातन वैदिक हिन्दू धर्मावलम्बी वर्षभरि घरघरमा गरिने देवकार्य एवम् पितृकार्यका लागि आवश्यक पर्ने कुश आजै घरमा राखेर पूजा गर्ने गर्छन् । ब्राहृमणहरू शास्त्रोक्त विधिअनुसार कुश पूजा गरी छेदन गरेर जजमानकहाँ पुर्‍याउने गर्छन् ।
कुश घरमा राख्नाले परिवारको कल्याण हुने धार्मिक विश्वास छ । वैदिक सनातन हिन्दू धर्मावलम्बी कुश, तुलसी, पीपल र शालिग्रामलाई भगवान् विष्णुको स्वरूप मानी पूजा आजा गर्ने गर्छन् । कुशको पूजा आजा गरी छेदन गरेर घरघरमा भित्र्याइने दिन भएकाले वर्षभरिका १२ औंसीमध्ये आजको औंसीलाई कुसेऔंसी भन्ने गरिएको हो ।

बुबाको मुख हेर्ने दिन पनि आजै
आजकै दिन छोराछोरीहरू आआफ्ना बाबुलाई मनपर्ने मिठाइ तथा भोजन गराई आदर सम्मान प्रकट गर्छन् । यसैकारण आजको दिनलाई ‘बाबुको मुख हेर्ने’ दिन र पितृ दिवससमेत भनिन्छ ।
आजका दिन बाबु नहुनेहरू भने काठमाडौँको उत्तरपूर्वी भेगस्थित वाग्मती, चन्द्रमती र सूर्यमती नदीका संगमस्थलस्थित गोकर्णेश्वर उत्तरगया पितृ तीर्थमा गई बाबुका नाममा तर्पण र श्राद्ध गरी सिदा दानसमेत गर्ने गर्छन् । रसुवाको वेत्रावतीमा समेत आज दिवङ्गत पिताका नाममा तर्पण, श्राद्ध र सिदा दान गर्ने गरिन्छ ।
पितृदेवो भवः भन्ने शास्त्रीय वचनअनुसार आजको दिनमा जीवित बाबुलाई मीठो मसिनो खान दिएर र दिवङ्गत पिताका नाममा तर्पण, श्राद्ध र सिदा दान गरेर खुसी पारेमा सुख मिल्ने धार्मिक विश्वास छ । गोकर्णमा आज मेलासमेत लाग्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here