नेपालमा बाघ लक्ष्यभन्दा दोब्बरले वृद्धि

नेपालमा पाटेबाघको संख्यामा दोब्बरले बढेको छ। विश्वबाटै लोप हुने आशंकाले सन्् २०१० मा रुसको सेन्ट पिटर्सबर्गमा बाघ पाइने देशहरूले गरेको प्रतिबद्धता अनुरूप नेपालले सुरु गरेको बाघ संरक्षण कार्यले सन् २०२२ मा लक्ष्य पूरा गरेको हो।

पछिल्लो गणनाको नतिजाअनुसार नेपालमा ३ सय ५५ वटा पाटेबाघ छन्।विश्व बाघ दिवसको अवसर पारेर शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रमबीच प्रधानमन्त्री शेरबहादुर देउवाले चौथो राष्ट्रिय बाघ गणनाको रिपोर्ट सार्वजनिक गरे। गत वर्षको मंसिर १९ गते सुरु भएर फागुन २८ गते सम्पन्न बाघ गणनामा सबैभन्दा धेरै बाघ चितवन राष्ट्रिय निकुञ्जमा रहेको उल्लेख छ। जहाँ १ सय २८ बाघ छन्। दोस्रोमा बर्दिया राष्ट्रिय निकुञ्जमा १ सय २५ र तेस्रो बढी पर्सा राष्ट्रिय निकुञ्जमा ४१ बाघ छन्। यस्तै चौथो शुक्ला फाँटा राष्ट्रिय निकुञ्जमा ३६ र पाँचौं बाँके राष्ट्रिय निकुञ्जमा २५ बाघ रहेको गणना रिपोर्टले देखाएको छ। यसरी ३ सय ५५ वटा पाटेबाघ पुगेको कृष्णसार संरक्षण क्षेत्र कार्यालय गुलरिया बर्दियाका संरक्षण अधिकृत विनयकुमार झाले बताए।

अघिल्लो गणनाको तुलनामा नेपालमा १ सय २० वटा पाटेबाघ बढेको छ। बाघ संरक्षणको प्रतिबद्धता गर्दा सन्् २०१० मा नेपालमा १ सय २१ वटा बाघ थिए। सन् २०२२ को गणनामा दोब्बर बढाउने लक्ष्यभन्दा १ सय १३ वटा बाघ बढी छन्। सन्् २०१८ को तुलनामा चितवनमा ३५, बर्दियामा ३८, पर्सा २३, शुक्ला २० र बाँके राष्ट्रिय निकुञ्जमा ४ वटा पाटेबाघ बढेका हुन्।बासस्थान व्यवस्थापन, उल्लेख्य आहारा प्रजाति, चोरी सिकारी नियन्त्रण र बाघ संरक्षणमा समुदायको सहकार्यले गर्दा बाघको संख्यामा वृद्धि भएको बर्दिया राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत विष्णुप्रसाद श्रेष्ठले बताए।

निकुञ्जमा वनमारा नियन्त्रण, पानी पोखरी निर्माणका कारण बाघका आहारा प्रजाति वृद्धि भएसँगै बाघको संख्या पनि बढेको हो। सरकारले मानव–बाघ द्वन्द्व घटाउन जीविकोपार्जनसम्बन्धी कार्यक्रम सुरु गर्न लागेको उनले प्रष्ट पारे। ‘कार्यक्रममार्फत जंगलमा हुने समुदायको परनिर्भरता घटाउने हाम्रो लक्ष्य छ’, उनले भने। जीविकोपार्जन कार्यक्रमले द्वन्द्व घटाउने विश्वास निकुञ्जको छ।राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका सूचना अधिकारी डिलबहादुर पुर्जा पुनले १० वर्षमा बाघको संख्या दोब्बर बनाउने लक्ष्य पूरा भएपछि अब झन्डै एक अर्ब रुपैयाँ बाघ संरक्षण, जीविकोपार्जन कार्यक्रम सञ्चालन गर्ने तयारी भइरहेको बताए। 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here