औषधी ऐन र स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा ऐन सम्बन्धी विधेयक संशोधन

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकले राष्ट्रियसभामा उत्पत्ति भएका दुई विधेयकलाई पारित गरेको छ । ती विधेयकमा औषधी ऐन संशोधन विधेयक र स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा ऐन संशोधनसम्बन्धी विधेयक छन् ।

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भवनीप्रसाद खापुङले राष्ट्रियसभामा उत्पत्ति भएको ‘औषधी (तेस्रो संशोधन) विधेयक, २०७९ लाई पारित गरियोस्’ भनी प्रस्तुत गरिएको प्रस्तावलाई बहुमतले पारित गरेको हो । विधेयकको सैद्धान्तिक छलफलमा सांसद योगेशकुमार भट्टराई, पुष्पा भुसाल गौतम र विमला विकले भाग लिएका थिए ।
यसैगरी स्वास्थ्यमन्त्री खापुङले ‘स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी (पहिलो संशोधन) विधेयक, २०७९ लाई पारित गरियोस्’ भनी प्रस्तुत गरिएको प्रस्तावलाई सर्वसम्मतिले पारित गरेको हो । उक्त विधेयक उपरको छलफलमा सांसद कृष्णभक्त पोखरेल, दिव्यमणिराज भण्डारी, नारायणप्रसाद खतिवडा, पुष्पा भुसाल गौतम र घनश्याम खतिवडा लगायतले भाग लिएका थिए।
दुवै छलफलमा उठेका प्रश्नको जवाफ दिदै स्वास्थ्य मन्त्री खापुङले विधेयकलाई संविधानले दिएको समयसीमाभित्र रही दुवै विधेयक सदनबाट पारित र राष्ट्रपतिबाट प्रमाणित गर्नुपर्ने भएकाले विधेयकका सम्बन्धमा पेस भएका संशोधन प्रस्ताव फिर्ता लिन अनुरोध गरे ।
यसअघि सांसद प्रेम सुवालले दुवै विधेयक माथि पेस गरेको संशोधनको प्रस्तावलाई बैठकले बहुमतले अस्वीकृत गरेको थियो । यसैगरी बैठकले ‘योगमाया आयुर्वेद विश्वविद्यालय विधेयक, २०७६’ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाएको छ ।
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले प्रतिनिधिसभाको आजको बैठकमा पेस गर्नुभएको ती विधेयक सर्वसम्मतिले स्वीकृत गर्दै छलफलका लागि सम्बधित समितिमा पठाइने भएको हो । प्रतिनिधिसभाको अर्को बैठक यही असार ३० गते दिउँसो ३ बजे बस्नेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here