कर्णालीको जुम्ला सहित विभिन्न जिल्लामा नुनको अभाव

काठमाडौ । कर्णालीको जुम्ला सहित विभिन्न जिल्लामा नुनको अभाव देखिएको छ।  कर्णाली राजमार्ग सञ्चालन हुँदा पछिल्लो समय यो समस्या टरेको भएपनि अहिले नुनको अभाव भएको साल्ट ट्रेडिङ कर्पोरेसनको कार्यालय जुम्लाका प्रमुख खगेन्द्र मल्लले बताए । 

१५ वर्षको अन्तराल पछि जुम्लाका नुनका गोदाम रित्तिएका हुन् । गाडी जुम्लामा २०६३ साल चैत ३० गते पुगेको थियो । कर्णाली राजमार्ग पुग्नुभन्दा पहिला जुम्लामा  नुनको विषयमा राजनीतिक खिचातानी गरिन्थ्यो । सडक विस्तारसँगै पहुँचवालाले मात्र नुन पाउने अवस्था अन्त्य भइ सहजै उपभोक्ताले नुन पाउने अवस्था भएको थियो । 

साल्ट ट्रेडिङ कर्पोरेसनको कार्यालय जुम्लाका प्रमुख खगेन्द्र मल्लले जुम्लामा भरिभराउ नुनका गोदाम रित्तिएको बताए । उनका अनुसार सडक पुगेपछि पहिलो पटक नुन अभाव भएको हो । जुम्लामा तीन वटा डिपो छन् । खलंगास्थित डिपोमा १ सय ७९ क्विन्टल मात्र नुन मौज्दात छ । मौज्दात हेर्दा असार अन्तिमसम्म पनि पुर्‍याउन सकिने अवस्था नरहेको प्रमुख मल्ल बताउँछन् ।

दैनिक नुन लिने सेवाग्राही डेढ सय जति पुग्छ छन् । मल्लका अनुसार प्रतिव्यक्ति पाँच केजी मात्र नुन दिने प्रवन्ध गरिएको छ । हप्ताको तीन दिन डिपो खुलाउने गरिएको छ। आइतबार, मंगलबार र बिहीबार नुन दिइन्छ ।

चालु आर्थिक वर्षमा जुम्लाको लागि ३ हजार क्विन्टल नुनको कोटा तोकिएको थियो । कोटा अनुसारको नुन समयमै पुगेर बिक्री भइसकेको छ । 

प्रदेश कार्यालयले नुनको अभावलाई मध्यनजर गर्दै २ हजार ३ सय क्विन्टल कोटा थपेको छ । तर नुनको ढुवानी गर्ने जिम्मेवारी पाएको ठेकेदारले ढुवानी गर्न मानिरहेको छैन् । नेपालगञ्जका ठेकेदार तुरुणध्वज खाणले नुन ढुवानीको जिम्मेवारी पाएका छन् । ठेकेदारसँग प्रतिकेजी ६ रुपैयाँमा ढुवानी गर्ने सम्झौता छ । अहिले पेट्रोलियम पदार्थको मूल्यवृद्धिसँगै ढुवानीको भाडा बढेको छ । बढेको भाडामा ढुवानी गर्दा ठेकेदारलाई प्रति ट्रिप १७ हजार रुपैयाँ घाटा हुने देखिन्छ । ठेकेदारले अहिले बढेको महँगीको आधारमा ढुवानी भाडा वृद्धि हुनुपर्ने अडान राखेका छन् । नत्र सम्झौता अनुसारको मूल्यमा नुन ढुवानी गर्न असमर्थ जनाएका छन् । 

अहिले जुम्लाको सिंजा गाउँपालिकामा अवस्थित नराकोट डिपो खाली भइसकेको छ । नुन लिन गएका सेवाग्राही रित्तो हात फर्किने गरेका छन् । बजारको महंगो नुन किन्नु पर्ने बाध्यता आइलागेको स्थानीय बसन्ती बुढाको गुनासो छ । कनकासुन्दरी डिपोमा २ सय ३४ क्विन्टल नुन मौज्दात छ । मौज्दात रहेको नुन जेनतेन यो महिना पुग्ने कार्यालय प्रमुख मल्लको भनाइ छ। अर्को महिनादेखि सबै गोदाम खाली  हुने अवस्था छ । 
जुम्लामा एक नगरपालिकासहित ७ गाउँपालिका छन् । नगरपालिका सहित ५ पालिकाले सदरमुकाम खलंगाको डिपोबाट नुन लिन्छन् । कनकासुन्दरी, सिंजा र हिमाका स्थानीयले नराकोट र कनकासुन्दरी डिपोबाट नुन उपयोग गर्छन् । साल्ट ट्रेडिङ कर्पोरेसन क्षेत्रीय कार्यालय नेपालगञ्जका प्रमुख मनोजकुमार चौधरीले जुम्ला बाहेक कर्णालीका हुम्ला, मुगु, कालिकोट र डोल्पा जिल्लामा नुनको अभाव नभएको बताए । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here