नेपालमा फेरि कोरोना संक्रमणदर बढ्न थाल्यो: सतर्कता अपनाउन सरकारको अनुरोध

काठमाडौ । सरकारले कोरोना संक्रमणदर बढ्न थालेको भन्दै स्वास्थ्य सतर्कता अपनाउन आग्रह गरेको छ । पछिल्लो समय छिमेकी देश भारतमा कोरोना संक्रमणको दर बढ्न थालेकाले पूर्ण रूपमा स्वास्थ्य सतर्कता अपनाउन आग्रह गरिएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता समीरकुमार अधिकारीले पछिल्लो समय भारतमा कोराना संक्रमणदर बढिरहेकाले नेपालमा पनि संक्रमण बढ्न सक्ने भन्दै स्वास्थ्य सावधानी अपनाउन आग्रह गरे । संक्रमणदर कम भएसँगै आमसर्वसाधारणले स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्न छोडेको भन्दै पुनः पालना गर्न आवश्यक रहेको बताए ।

संक्रमण घटाउन जनस्वास्थ्यका मापदण्डहरू पालना गराउन, खोपलगायत विषयलाई केन्द्रमा राखेर सरकारले काम सुरु गरिसकेको पनि बताए । कोरोना नियन्त्रणका लागि प्रमुख जिम्मेवारी आमसर्वसाधारणको हुने भएकाले सबैले मापदण्ड पालना गर्नुपर्नेमा उनले जोड दिए ।
सहप्रवक्ता अधिकारीले अहिले भारतमा फैलिएको कोरोना ओमिक्रोनकै एउटा प्रजाति रहेको प्रारम्भिक तथ्य फेलापरेको जानकारी दिए । यद्यपि, यसबारेमा अध्ययन–अनुसन्धान भइरहेकाले थप विवरण आउन समय लाग्ने उनले बताए ।

कोरोनाको रोकथामका लागि विगतमा अपनाएका स्वास्थ्य सुरक्षाका मापदण्डहरूको पालना गर्नुपर्ने र कोभिड–१९ विरुद्धको खोप लगाउनुपर्ने उनले बताए ।
देश अहिले स्थानीय तह निर्वाचनमा होमिएकोले यसबाट कोरोनाको जोखिम बढ्न सक्ने भन्दै सावधानी अपनाउन आग्रह गरे । मन्त्रालयले निर्वाचनबाट हुन सक्ने कोरोनाको जोखिमलाई कम गर्न निर्वाचन आयोगसँग छलफल गरेर सावधानीहरू अपनाउन आग्रह गरेको जानकारी पनि दिए ।
स्वास्थ्य सुरक्षाका मापदण्ड अनिवार्य पालना गर्न, उमेदवारहरूलाई घरदैलो कार्यक्रम गर्दा पनि सुरक्षित तरिकाले गर्न र मतदातालाई पनि सावधानी अपनाउन आग्रह उनले आग्रह गरे ।
सहप्रवक्ता अधिकारीले विदेशबाट आउने नागरिकलाई सात दिन अनिवार्य क्वारेन्टिनमा बस्न र सबैले मास्क अनिवार्य लगाउन आग्रह गरे । कोरोनाविरुद्धको खोप लगाउन बाँकी रहेका व्यक्तिहरूलाई समयमै खोप लगाउन अपिल पनि गरे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here