नेपाल-भारत सीमा क्षेत्रको दसगजा नजिक भारतीय सेनाले पड्काए गोली

मोरङ । भारतीय सीमा सुरक्षा बल(एसएसबी)का जवानले नेपाल-भारत सीमा क्षेत्रको दसगजानजिक सोमबार दिउँसो गोली पड्काएका छन्। विराटनगर महानगरपालिका–१८ इस्लामपुरसँग सीमा जोडिएको भारतीय भूमिमा एसएसबीका जवानले ३ राउण्ड हवाई फायर गरेका हुन्। स्थानीयले दिएको जानकारी अनुसार मदिराको नसामा लट्ठ रहेका ती जवानले दिउँसो १ बजेतिर २ राउण्ड आकाश र १ राउण्ड जमिनतिर फायर गरेका थिए। सीमा क्षेत्रको सुरक्षामा खटिएका बेला एक्कासि हवाई फायर गरेका जवानलाई भने एसएसबीको टोलीले नियन्त्रणमा लिएर लगेको छ। 

मदिराको नसामा लट्ठ रहेका जवानले स्थानीयसँग विवाद भएपछि आत्मरक्षाका लागि हवाई फायर गरेको बताइएको छ। जवानले होहल्ला गर्न थालेपछि स्थानीयको भीड बढेको र त्यसपछि उनले गोली चलाएको नेपाली सुरक्षा अधिकारीको भनाइ छ। यसको आधिकारिक पुष्टि भने हुन बाँकी छ। 
घटनापछि सीमा क्षेत्रका बासिन्दा त्रसित एवं आतंकित बनेका छन्। घटनास्थल वरपर स्थानीयको ठूलो भीड लागेको थियो। घटनामा कुनै मानवीय क्षति भने भएन। 
मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले घटनाको पुष्टि गरे। सीमा क्षेत्रको दसगजाबाट घटनास्थल लगभग सय मिटर पर भारतीय भूमिमा रहेको उनको भनाइ छ। ‘भारतीय नागरिकसँगको विवादपछि हवाई फायर गरेको भन्ने कुरा आएको छ। यस बारेमा बुझ्ने काम भइरहेको छ,’ प्रजिअ दाहालले भने, ‘घटना भारतीय भूमिमा भएकाले विस्तृत कुरा आइसकेको छैन। किन गोली चलाइएको हो भन्ने खोज्दै छौँ।’ 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here