नुवाकोटको जोखिमयुक्त दुर्गम गाउँ नेगीको ‘भीमकाय ढुंगा’ सेनाले विष्फोट गरी हटायो

    नुवाकोट । भूकम्पले चीरा पारेको नुवाकोटको दुर्गम गाउँ नेगीमा ठाउँ सरेको भीमकाय ढुंगा विष्फोट गरी हटाइएको छ। सेनाले गत फागुनदेखि सो ढुंगा फुटाउने जिम्मा पाएकोमा बिहीबार सो ढुंगा फुटाएर सकिएको हो। 

    मानववस्ती माथिको ठूलो ढुंगा खसेर क्षति हुने त्रासमा लामो समयदेखि गाउँबासीको निद हराम गरेको थियो। सदरमुकाम विदुरदेखि ५० किलोमिटर पूर्वमा रहेको दुप्चेश्वर गाउँपालिका-१ नेगीमा रहेको २८ घरपरिवार सर्दै गरेको अजंगको ढुंगा र पहिरोको उच्च जाखिममा रहेका थिए। 
    गाउँपालिकाले सो वस्ती सार्न माग गरेपछि सरकारले सेनाको सहयोग लिएर मानव वस्तीमाथिको ढुंगा हटाएको हो। सो ढुंगा हटाउने जिम्मा पाएको नेपाली सेनाको जवरजंग गणले दुई महिनमा सो ढुंगा पूर्णरुपमा फुटाएको हो। 

    नुवाकोटको पर्यटकीय नेगीको ४७ घरधुरी वस्तीमाथिको ढुंगा भूकम्पले सारिदिएपछि निकै त्रासमा रहेकामा संघीय, प्रदेश र स्थानीय सरकारको लगानीमा वस्तीमाथिको ढुंगा हटाइएको दुप्चेश्वर गापाका निवर्तमान अध्यक्ष योविन्द्रसिह तामाङले जानकारी दिए। 
    उनका अनुसार ढिलै भए पनि स्थानीयबासीको माग सम्बोधन भएको छ, अब मानव वस्ती त्रासमुक्त भएको छ। दुई हजार घनमिटरको सो ढुंगा सेनानी काजीमान श्रेष्ठको नेतृत्वमा रहकेो सेनाको ४५ जना टोलीले लगातार दुई महिना लगाएर फुटाएको हो। २५ पटक विष्फोट गरेर सो ढुंगा फुटाइएको सेनानी काजीमान श्रेष्ठको भनाइ छ।

    मानव वस्तीभन्दा ठीक पाँच सय मिटर पश्चिमतर्फ माथि रहेको अजंगको ढुंगा भूकम्पले एक हात सारेर मानव वस्तीतर्फ धकेलेको कारण असुरक्षा बढेपछि स्थानीयबासीले आफ्नो, परिवार तथा घरसम्पत्तिको सुरक्षाका लागि सरकार गुहारेका थिए। सो ढुंगामुनि मानव वस्तीका साथै तादी खोलासमेत रहेको छ।
    ठूलो ढुंगा हटाउन हालः संघीय सरकारले २५ लाख र बागमती प्रदेश सरकारले २० लाख रुपैँया बजेट निकासा गरेको छ। ढुंगा फुटाउनका लागि दुई महिना अगाडि नै आवश्यक यन्त्रउपकरण हेलिकोप्टरमार्फत् ठूलो ढुंगा भएको स्थानमा लगिएको थियो।

    ढुंगा फुटाउने कार्य सकेर स्थानीयबासीलाई सुरक्षित राखेपछि नेगीवस्तीमा बिहीबार एक कार्यक्रम गरी नेगी ढुंगा फुटाउने अभियान सम्पन्न भएको घोषणा गरिएको छ। सो कार्यक्रममा नेपाली सेनाको मध्य कमाण्डका कमाण्ड सेनापति उपरथी बाबुराम श्रेष्ठले सेनाले जहिले पनि विपद तथा जिउधन सुरक्षामा विशेष कार्यक्रमहरु गरिहेको बताए। 

    कार्यक्रममा सेनाको नं. ६ बाहिनी वैरेनीका बाहिनीपति सहायकरथी रविन्द्र केसी, नुवाकोटका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद रिसाल, संघीय मामीला तथा कानुन मन्त्रालयका सचिव रुद्रसिंह तामाङलगायतले भीमकाय ढुंगा फुटाउने अभियान सम्पन्न भएसंगै नेगीवस्ती अव सुरक्षित रहेको बताए। 

    LEAVE A REPLY

    Please enter your comment!
    Please enter your name here