विराटनगर । स्थानीय तह निर्वाचनमा प्रदेश १ मा सत्ता गठबन्धनले राजेन्द्र लिङदेन नेतृत्वको राप्रपासँग तालमेल गर्ने भएको छ । वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको तयारी गरिरहेको सत्ता गठबन्धनले झापासहितका जिल्लामा राप्रपासँग तालमेल गर्ने भएको हो ।
प्रदेश १ का १४ जिल्लामध्ये झापामा राप्रपाको प्रभाव तुलनात्मक रुपमा राम्रो मानिन्छ । २०७४ सालको स्थानीय तह निर्वाचनमा झापाको तीन पालिका प्रमुख राप्रपाले जितेको थियो । गौरीगञ्ज र हल्दीबारी गाउँपालिका अध्यक्ष जितेको राप्रपाले कचनकवल गाउँपालिकामा अध्यक्ष र उपाध्यक्ष नै जितेको थियो । एमाले अध्यक्ष केपी शर्मा ओलीको गृह नगर दमकमा राप्रपा दोस्रो बनेको थियो ।
ओलीको गृहजिल्ला दमकमा राप्रपालाई साथमा लिएर जाने सहमति भइसकेको गठबन्धनका एक नेताले बताए । राप्रपा प्रदेश १ का अध्यक्ष राम थापाले सत्ता गठबन्धनसँग तालमेल गरेर जाने सहमति भएको अनलाइनखबरसँग बताए । ‘गठबन्धन गर्दा अनिवार्य हुन्छ, आवश्यकताका आधारमा तालमेल गर्ने सहमति भएको छ,’ उनले भने, ‘छलफल जारी छ ।’
स्रोतका अनुसार झापाको दमक नगरपालिका राप्रपालाई दिएर अन्य पालिकामा राप्रपाले गठबन्धनलाई सघाउने सहमति भएको छ । राप्रपा अध्यक्ष थापाले दमक आफ्नो पार्टीले पाउने बताए । राप्रपाले अध्यक्ष राम थापालाई नै मेयरको उम्मेदवार घोषणा गरिसकेको छ । गठबन्धनको तर्फबाट दमकमा माओवादीले उपमेयर पाउने सम्भावना छ ।
२०७४ सालको स्थानीय तह निर्वाचनमा दमकमा एमाले अध्यक्ष केपी शर्मा ओलीका आफन्त रोमनाथ ओली १० हजार ८०६ मतसहित निर्वाचित हुँदा दोस्रो स्थानमा रहेका राप्रपाका उम्मेदवार राम थापाले ७ हजार ६५५ मत ल्याएका थिए । तेस्रो स्थानमा रहेको माओवादी केन्द्रका उम्मेदवार रेवतराज पुरीले ६ हजार ८९८ मत ल्याएका थिए । दमकमा कांग्रेस चौथो स्थानमा थियो ।
२०७४ सालको स्थानीय तह निर्वाचनमा दमकमा एमाले अध्यक्ष केपी शर्मा ओलीका आफन्त रोमनाथ ओली १० हजार ८०६ मतसहित निर्वाचित हुँदा दोस्रो स्थानमा रहेका राप्रपाका उम्मेदवार राम थापाले ७ हजार ६५५ मत ल्याएका थिए । तेस्रो स्थानमा रहेको माओवादी केन्द्रका उम्मेदवार रेवतराज पुरीले ६ हजार ८९८ मत ल्याएका थिए । दमकमा कांग्रेस चौथो स्थानमा थियो ।
एमालेलाई पराजित गर्ने रणनीति अनुसार राप्रपासँग झापामा मात्रै तालमेल गर्ने सहमति भएको गठबन्धनका नेताहरू बताउँछन् । काङ्ग्रेस प्रदेश १ सभापति उद्धव थापाले आवश्यकताका आधारमा तालमेल गर्ने सहमति भएको बताए । ‘राप्रपासँग गठबन्धन भएको होइन, तालमेल हुन्छ,’ उनले अनलाइनखबरसँग भने, ‘त्यो तालमेल आवश्यकताका आधारमा हुन्छ ।’ दमकमा राप्रपाले दाबी गरेको बताउँदै उनले दमक राप्रपाले पाए अरुमा राप्रपाले गठबन्धनका उम्मेदवारलाई सघाउने बताए ।