रुस द्वारा युक्रेनमा सैन्य कारबाहीको घोषणा

एजेन्सी । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले पूर्वी युक्रेनको डोनबास क्षेत्रमा सैन्य कारबाहीको घोषणा गरेका छन्। जारी तनावबीच छलफल गर्न संयुक्त राष्ट्रसङ्घको सुरक्षा परिषद्‌‌को आपत्कालीन बैठक बसिरहेकै बेला रुसी राष्ट्रपतिले टेलिभिजन सम्बोधनमार्फत्‌ पछिल्लो घोषणा गरेका हुन्। पुटिनले पूर्वी युक्रेनस्थित युद्ध क्षेत्रबाट आफ्ना हतियारहरू बिसाउन र घर फर्कन युक्रेनी सेनालाई आग्रह गरेका छन्।

यसअघि युक्रेनका राष्ट्रपति भोलोदीमिर जेलेन्स्कीले वार्ताका लागि आफूले गरेको पहलबारे रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले कुनै जबाफ नदिएको बताएका थिए। उनले राति ढिलो गरी देशवासीलाई सम्बोधन गर्दै यदि रुसले हमला गरे हामी आफ्नो रक्षा आफैँ गर्छौँ भन्ने बाचा गरेका थिए। राष्ट्रपति जेलेन्स्कीले युक्रेनसँगको सीमानजिकै रुसले ‘झन्डै २,००,००० सेना र हजारौँ लडाकु गाडी तैनाथ गरेको बताएका छन्।

राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरसले सेनालाई आक्रमणबाट रोक्न पुटिनलाई आग्रह गरेका छन्।  रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले पूर्वी युक्रेनको पृथकतावादी विद्रोही क्षेत्रलाई स्वतन्त्र क्षेत्रको मान्यता दिएका छन्। जसमा स्वघोषित जनगणतन्त्र दोनेत्स्क र लुहान्सक छन्। जुन रूसमर्थित विद्रोहीको पकड क्षेत्र हुन्। जहाँ विद्रोहीले सन् २०१४ देखि युक्रेनी सेनासँग लडिरहेका छन्। रूसले त्यहाँ आफ्नो सेनाले शान्ति स्थापना गर्ने बताएको छ। अमेरिकाले भने यसलाई ‘बकवास’को संज्ञा दिएको छ।
युक्रेनको स्थानीय समय अनुसार बिहीबार राति १० बजेदेखि एक महिना लामो सङ्कटकालीन अवस्थामा प्रवेश गर्दैछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here