बुधबार एमसीसी संसदमा टेबल गर्नेबारे देउवा, प्रचण्ड र नेपालबीच छलफल

काठमाडौ । प्रधानमन्त्री शेरबहादुर देउवाले सत्ता गठबन्धनमा शीर्ष नेतासँग आजपनि छलफल गरेका छन्। प्रधानमन्त्री देउवाले मंगलबार बिहान नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग बुधबार बस्ने प्रतिनिधि सभाको बैठकमा एमसीसी टेबुल गर्ने बारे छलफल गरेका हुन्।

देउवाले बुधबार बस्ने संसदको बैठकमा सभामुख अग्नीप्रसाद सापकोटालाई एमसीसी टेबल गराउने विषयमा प्रचण्ड-नेपालसँग आग्रह गरेको बालुवाटार स्रोतले जनाएको छ। बुधबार संसदमा टेबल गर्न  देउवाले प्रस्ताव गरेकोमा प्रचण्ड र नेपाल करिबकरिब सहमत भएका छन्।

प्रधानमन्त्री देउवाले प्रचण्ड र नेपालमार्फत कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाउन सभामुख सापकोटालाई आग्रह गरेका छन्। उनले एमसीसीबारे कार्यसूची तयार गर्न समेत भनेका छन्। देउवा प्रमुख प्रतिपक्षी दल एमालेले अवरोध जारी राखेपनि संसद् बैठक सञ्चालन गर्नुपर्ने पक्षमा रहेका छन्। देउवाले एमसीसीका विषयमा अन्तर्राष्ट्रियस्तरमा नै विश्वसनीयताको कुरा भएकाले सांसद र दलहरूले सदनमै कुरा राख्नुपर्ने धारणा राख्दै आएका छन्। एमसीसीबारे छलफल गर्ने प्रस्ताव सरकारले अघि बढाउने तयारी गरेको छ। 
सोमबारको सर्वदलीय बैठकपछि सभामुख सापकोटा आफू तयार रहेको जनाएका छन्। यसमा आफू निर्णायक नभएको, दलहरू नै सर्वेसर्वा भएको सभामुख सापकोटाले बताएका थिए। ‘राष्ट्रिय महत्वका विषयमा सबै दलबीच सहमति हुनु देशकै लागि राम्रो हो’, सभामुख सापकोटाले भने, ‘उहाँहरूले एमसीसीबारे आआफ्नो धारणा राख्नुभएको छ। म खुला छु। आज सबै गठबन्धन दलका कुरा सुने र मैले सभामुखको भूमिकामा काम गर्ने हो। सभामुखको भूमिका अम्पायर र निर्णायकको हुन्छ।’ 

यता नेकपा एमालेले एमसीसीबारे सत्तारुढ गठबन्धनले आफ्नो धारणा सार्वजनिक गरेपछि मात्रै पार्टीको धारणा सार्वजनिक गर्ने तयारी गरेको छ। एमाले एमसीसीको विषयमा एमाले पर्ख र हेर अवस्थामा रहेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here