४२ करोड बक्यौता नतिरेपछि होटल याक एण्ड यतीलाई कारवाही, क्यासिनो इजाजत रद्ध


काठमाडौं । सरकारले दरबारमार्गमा रहेको याक एण्ड यती होटलले क्यासिनो संचालन वापतको रोयल्टी नतिरेपछि पाँच तारे वर्गीकरण रद्ध गर्दै चलअचल सम्पत्ति र बैंक खाता रोक्का राख्ने निर्णय गरेको छ।

४२ करोड २५ लाख रुपैयाँ रोयल्टी तिर्न पटकपटक ताकेता गर्दा समेत अटेरी गरेपछि सरकारले यो निर्णय गरेको हो। पर्यटन मन्त्रीस्तरीय निर्णयमार्फत होटलको पाँचतारे वर्गीकरण खोस्दै चलअचल सम्पत्ति र बैंक खाता रोक्का राख्ने निर्णय गरिएको हो। मन्त्रालयले होटलको क्यासिनो इजाजतपत्र समेत रद्धको निर्णय गरेको छ। होटलभित्र क्यासिनो रोयल संचालित छ।

‘क्यासिनो संचालन वापतको रोयल्टी लगायतका रकम दाखिला गर्न सूचना प्रकाशन गर्दा पनि तोकिएको अवधिभित्र दाखिला नगरेकोले क्यासिनो नियमावली, २०७०को नियम १४ बमोजिम त्यस होटलको नाममा जारी भएको क्यासिनो इजाजतपत्र रद्ध गर्ने, पाँच तारास्तरको वर्गीकरण प्रमाणपत्र रद्ध गर्ने, होटलको नाममा रहेको सम्पूर्ण अचल सम्पत्ति रोक्का राख्ने र बैंक तथा वित्तीय संस्थामा रहेका बैंक खाता तथा वित्तीय कारोबार रोक्का राख्ने निर्णय भएको छ,’ पर्यटन विभागद्वारा जारी विज्ञप्तिमा भनिएको छ।
पर्यटन मन्त्रालयले २०४८ साल पुस २२ गते होटलको नाममा क्यासिनो संचालनको इजाजतपत्र जारी गरेको थियो। विभागका अनुसार होटलले आर्थिक वर्ष २०७६/०७७ सम्मको बाँकी बक्यौता, आर्थिक वर्ष २०७७/०७८को इजाजत नवीकरण दस्तुर र आर्थिक वर्ष २०७८/०७९को रोयल्टी दस्तुर समेत गरेर ४२ करोड २५ लाख रुपैयाँ बुझाउन बाँकी रहेको छ।
विभागले पटकपटक सार्वजनिक सूचना प्रकाशित गर्दा समेत बक्यौता बुझाउन नआएको जिकिर गरेको छ। विभागले ३५ दिने, १५ दिने र एक साताअघि सात दिने सूचना प्रकाशित गर्दा समेत बक्यौता तिर्न नआएपछि यो निर्णय गरिएको जिकिर गरेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here