काठमाडौ । सामान्य व्यक्तिको बैंक खातामा करोडौंको कारोबार, दरिलो व्यवसाय नदेखिइ मासिक रूपमा करोडौं कारोबार हुन थालेपछि बैंक तथा वित्तीय संस्थाले राष्ट्र बैंकको वित्तीय जानकारी एकाइलाई शंकास्पद कारोबार रिपोर्ट(एसटीआर) पठायो।
एसटीआर पठाएपछि एकाइले कहाँबाट कसरी पैसा आएको छ भन्ने सूक्ष्म ढंगले अध्ययन गर्यो। यही अध्ययनसहित यो विषय राजस्व अनुसन्धान विभागलाई जानकारी गरायो।
राष्ट्र बैंकको वित्तीय जानकारी एकाइसँगै विभागको आफ्नै इन्टिलिजेन्समार्फत ती व्यक्तिलाई पक्राउ गरेर अनुसन्धान गर्यो। झण्डै एक महिनाको अनुसन्धानपछि विभागले मंगलबार जिल्ला अदालतमा ३७ करोड बिगोसहित मुद्दा दायर गरेको छ।
को हुन उनी ?
कुनै व्यवसाय नगरी करोडौंको रकम कारोबार गर्ने व्यक्ति थिए कैलालीका दिनेश खड्का। खड्का विद्यार्थी राजनीतिमा संलग्न थिए। उनी राजधानीको पशुपति क्याम्पसमा विद्यार्थी राजनीति गर्दै आएका थिए।
उनी पक्राउपछि छुटाउनका लागि ठूलै दबाब पनि आएको थियो। तर विभागको नेतृत्व दबाबमा टसमस भएन। खड्काले विभिन्न बैंकमा करोडौंको कारोबार गरेको देखिन्छ।
विभागले अनुसन्धान गर्दा ग्लोबल आइएमई बैंकबाट ९ करोड ७९ लाखभन्दा बढी रकम कारोबार भएको देखिएको छ।
खड्काले उनकी महिला साथी अनिता धितालको लक्ष्मी बैंकबाट ५ करोड ७७ लाख कारोबार गरेको भेटिएको छ। यस्तै खड्काकी दिदी भगवती खड्काको एनआइसी एसिया बैंकमा रहेको खाताबाट २० करोड ४२ लाखको कारोबार भएको भेटिएको विभागले जनाएको छ। यस्तै खड्काका बुबा नरबहादुर खड्काको ग्लोबल आइएमई बैंकबाट १ करोड ६४ लाख बराबरको कारोबार भएको देखिएको छ।
विभागको अनुसन्धानमा खड्काले करिब २ सय ५० जनाको नेटवर्क बनाएर विदेशबाट रकम ल्याउने र विविध प्रयोजनमा प्रयोग गर्ने गरेको खुलेको छ। उनले मोबाइल भुक्तानी प्लाटफर्म (वालेट) इ-स्क्रिल र क्रिप्टोकरेन्सी (अभौतिक/विद्युतीय मुद्रा) कारोबार प्लाटफर्म ‘बिनान्स’ मार्फत कारोबार गर्ने गरेको विभागको अनुसन्धानबाट फेला परेको छ। क्रिप्टोकरेन्सी कारोबार नेपालमा प्रतिबन्धित छ।
यससँगै विभागले खड्काविरुद्ध ३७ करोड ६४ लाख बिगो माग दाबी गर्दै जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गरेको छ।
अहिले राष्ट्र बैंकले डलर सटही तथा कारोबारमा कडाइ गरिरहेको छ। कानुनतः एक व्यक्तिले तेस्रो देशको भिसा लागेको राहदानी देखाएपछि १५ सय डलरसम्म साट्न पाइन्छ। तर अहिले बैंकहरुले एक व्यक्तिलाई दुई सयदेखि तीन सय डलरसम्म मात्रै सटहीको सुविधा दिइरहेको छ। थप डलर आवश्यक भए डलर कार्ड बनाएर लैजानुपर्ने हुन्छ।
बजारमा डलर अभाव भएपछि खड्काले राष्ट्र बैंकले तोकेको भन्दा बढी मूल्य लिएर डलर सटही गर्दै आएको समेत भेटिएको छ। यसरी आएको रकमलाई व्यावस्थापन गर्न खड्काले अर्कै व्यक्तिको नामको बैंक खाता चलाउँदै आएका थिए। पछिल्लो समय देशभित्र भित्रिने रेमिटेन्स विदेशमै बिटक्वाइन, इथर्नम, लाइटक्वाइन लगायतका क्रिप्टोकरेन्सीमा लगानी भइरहेको अनुमान सरकारले गरिरहेको छ। यसै क्रममा खड्काले बिनान्सको प्रयोग गरी इ-स्क्रिलबाट रकम भित्र्याएको फेला परेको हो।
खड्काको मोबाइल र अन्य प्राविधिक गतिविधि हेर्दा उनी देशमा अवैध भनिएको क्रिप्टोकरेन्सी र विद्युतीय सट्टेबाजी(इ-बेटिङ) प्लाटफर्म ‘वान एक्सबेट’ समेतमा संलग्न देखिएको विभागका अधिकारीहरुको भनाइ छ।
उनले क्रिप्टोकरेन्सीमा केही वर्षअघि लगानी गरेका थिए। स्रोतका अनुसार अन्तर्राष्ट्रिय बजारमा क्रिप्टोकरेन्सीको भाउमा उछाल आएसँगै उनले त्यसको बिक्रीबाट कुस्त आम्दानी गरेका थिए। सो रकम मोबाइल वालेट इ-स्क्रिलमार्फत नेपाल भित्र्याएका थिए। यसलाई विभागले ‘डलरको अवैध’ कारोबार मानेको हो।
अनुसन्धानमा सहभागी एक सदस्यले भने,’एक सामान्य व्यक्तिको नाममा धेरै रकम कारोबार हुन थालेपछि हामीले यसको अध्ययन थियौं। प्रारम्भिक अध्ययनमा अवैध डलर सटही, क्रिप्टो, सट्टेबाजी लगायतमा संलग्न देखिएको छ। थप अनुसन्धान गरी मुद्दा दायर गरेका छौं।’
के हो क्रिप्टो र सट्टेबाजी ?
क्रिप्टोकरेन्सी एक प्रकारको भर्चुअल करेन्सी (अभौतिक मुद्रा) हो। यसमा लगानी गर्न नेपालमा सरकारले अनुमति दिएको छैन। संसारका कयौं देशमा भने क्रिप्टो करेन्सी वैधानिक रूपमा कारोबार हुन्छ। तर छिमेकी मुलुका भारतमा समेत यो प्रतिबन्धित छ।
नेपाल राष्ट्र बैंकले क्रिप्टो करेन्सीको कारोबार वा माइनिङ गर्नेलाई कारबाही गर्ने चेतावनी समेत दिइसकेको छ। राष्ट्र बैंकले क्रिप्टो करेन्सीहरुको कारोबार, प्रयोग र माइनिङ गैरकानुनी भनेको छ।
यसका बाबजुद पछिल्लो समय क्रिप्टो करेन्सीको कारोबारहरु बढ्दै गएको र यसमा संलग्नता बढाउन क्रिप्टो तथा इ-बेटिङ कारोबारमा संलग्नहरुले नेपालीलाई प्रोत्साहित गर्न थालेको घटना बढेको छ।
सट्टेबाजी विभिन्न खेलमा खेल्नुअघि नै कसले जित्छ वा हार्छ भनि बाजी राख्ने गरिन्छ। यसमा डिजिटल वालेटबाट पैसा आदानप्रदान गरिन्छ। केही वर्षयता विभिन्न खेल गतिविधिहरुमा ‘वान एक्स बेट’ लगायतकाप्लाटफर्ममार्फत् नेपालबाटै करोडौंको सट्टेबाजी भइरहेको अनुमान छ। युवा पुस्तालाई लक्षित गर्दै विभिन्न युट्युब च्यानल तथा अन्य माध्यमहरुबाट कहलिएका सेलिब्रेटीहरुले समेत प्रचार गरेपछि यसको प्रयोग झनै बढेको हो। तर यो पनि एक किसिमको अनलाइन/डिजिटल जुवा नै भएकाले यसलाई पनि नेपालमा अवैध मानिएको छ।