एकै दिन सेयर बजार परिसूचक नेप्से करिब १ सय अंकले घट्यो

काठमाडौ । एकै दिन सेयर बजार परिसूचक नेप्से करिब १ सय अंक घटेको छ । सोमबार ९९.८ अंक झरेपछि नेप्से २८२० अंकमा अडिएको छ । पुस १२ मा २५२१ अंकमा रहेको नेप्से एक महिनामै ४ सय अंकले उक्लिएर गत साता २९३१ अंकमा पुगेको थियो । एकै दिन १ सय अंक बजार घट्नुको मुख्य कारण स्थानीय तहको चुनाव मिति धकेल्ने सरकारको गृहकार्य रहेको सम्बद्ध अधिकारीहरू बताउँछन् । 

सत्तारूढ गठबन्धनले आइतबार मात्रै चुनावको मिति सार्ने सम्बन्धमा कानुनविद्सँग परामर्श गरेको थियो । त्यस क्रममा कानुनी छिद्र हटाउन संशोधन गरेर अघि बढ्ने लगभग सहमति जुटेको जनाइएको छ । चुनाव केही पर धकेलिने वातावरण बनेपछि बजारलाई ठूलो असर परेको नेपाल इन्भेस्टर्स फोरका निवर्तमान अध्यक्ष छोटेलाल रौनियारले बताए । ‘चुनाव समयमै हुने आशाले गर्दा गत सातासम्म बजार नघटीकन बढेको थियो । तर अहिले चुनाव सार्ने गरी कानुन संशोधनका कुरा आएपछि घटेको हो,’ उनले भने । वैशाख–जेठमा स्थानीय तहको चुनाव हुने आशाले पनि यसअघि बजार बढ्नमा टेवा पुगेको थियो । ‘बजारलाई असर पार्ने बैंकहरूको ब्याजदर यथावत् छ । क्षणिक सुधार देखिए पनि तरलता अभाव कायमै छ । अर्थतन्त्रका सूचक पनि खस्किरहेकै छन्,’ रौनियारले भने, ‘सेयरको गिरावट धेरै लामो समय नजाला ।’ सस्तोमा किनेकाहरूले सोमबार एक्कासि नाफा बुक गर्न खोज्दा पनि बजार घटेको उनले बताए ।

विगतका वर्षमा पनि चुनावका बेला सेयर बजार बढ्ने गरेको थियो । ‘चुनाव हुँदा अर्बौं रुपैयाँ पैसा खर्च हुन्छ, त्यसले प्रणालीमा तरलता बढ्न गई बजारलाई सकारात्मक असर पार्छ,’ रौनियारले भने । निर्वाचन आयोगले समेत वैशाखमा स्थानीय तहको चुनाव गर्न सकिने प्रस्ताव गरेको थियो । वैशाख–जेठमा पुँजीगत खर्च पनि बढ्ने गर्छ । चुनावसँगै पुँजीगत खर्च बढ्दा सिधा प्रभाव सेयर बजारमा पर्छ । चुनावले राजनीतिक स्थिरता प्रदान गर्न पनि सहयोग पुग्ने भएकाले त्यसलाई लगानीकर्ताले सकारात्मक रूपमा लिने गरेको रौनियार बताउँछन् । ‘चुनावपछि स्थिर सरकार आउँछ । त्यो सरकारमा जोस, जाँगर पनि हुन्छ भन्ने खालको सकारात्मक भावना बढाउँछु,’ उनले भने ।
सोमबार एकै दिन सेयर लगानकर्ताको सम्पत्ति करिब डेढ खर्ब (१ खर्ब ४१ अर्ब) घटेको छ । बजारमा सूचीकृत सम्पूर्ण धितोपत्रको कुल मूल्य (पुँजीकरण) आइतबार ४१ खर्ब २७ अर्ब २३ करोड बराबर थियो । सोमबार यो मूल्य घटेर ३९ खर्ब ८६ अर्ब ११ करोडमा सीमित भएको छ । सोमबार ६ कम्पनीको मात्रै मूल्य बढ्यो भने १८५ को घट्यो । कारोबार रकम भने आइतबारको तुलनामा बढेको छ । आइतबार ७ अर्ब ३ करोडको कारोबार भएकामा सोमबार ८ अर्ब ८८ करोडको भयो । सबै उपसमूह घटे । बैंकिङ ५४, विकास बैंक २३४, फाइनान्स ११०, होटल तथा पर्यटन १०७, जलविद्युत् १५४, लगानी ३, जीवन बिमा ५६९, उत्पादन २४४, लघुवित्त १८३, निर्जीवन बिमा ५०६, अन्य ८४ र व्यापार उपसमूह ११३ अंक घटे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here