प्रधानमन्त्री देउवा द्वारा राष्ट्रका नाममा सम्बोधन; एक वर्षभित्रै तिनै तहको निर्वाचन हुने

माघ – ७ । प्रधानमन्त्री शेरबहादुर देउवाले तीन वटै तहको निर्वाचनका लागि पूर्व तयारी गर्न सम्बन्धित निकायहरूलाई आग्रह गर्नुभएको छ ।
आज राष्ट्रका नाममा सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री देउवाले आफू नेतृत्वको सरकारले एक वर्षभित्रै तीन तहको निर्वाचन गराउनुपर्ने दायित्व रहेको बताउँदै निर्वाचन तयारीमा लाग्न सरोकारवालालाई आग्रह गर्नुभयो ।

प्रधानमन्त्री देउवाले संविधानको कार्यान्वयन, शान्ति सुरक्षाको प्रत्याभूति र प्रदेश तथा स्थानीय तहका सरकारलाई सबलीकरण गर्ने कार्यलाई सरकारले उच्च प्राथमिकता दिएको समेत बताउनुभयो ।
उहाँले संसद्मा रहेका सबै राजनीतिक दलहरूबिच संवाद र सहमति जुटाउन सरकार प्रतिबद्ध रहेको बताउँदै संसद्मा विचाराधीन सबै विषय दलहरूबिचको संवादबाटै निष्कर्षमा पुगिने स्पष्ट पार्नुभयो ।
प्रधानमन्त्री देउवाले कोरोना महामारी सामना गर्न आफूले सरकारको जिम्मेवारी सम्हाल्दादेखि नै खोपलाई प्राथमिकतामा राख्दै आएको बताउँदै चैतसम्म खोप लगाउने योग्य सबैलाई खोप लगाउने प्रतिबद्धता गरे अनुसार अहिले पनि खोप अभियानलाई निरन्तर जारी राखेको बताउनुभयो ।
प्रधानमन्त्री देउवाले कोभिड रोकथाम तथा नियन्त्रणका लागि तीनै तहका सरकारबिच समन्वय भइरहेका र सकेसम्म अर्थतन्त्र र सामाजिक क्रियाकलापका काम असर नपर्ने गरी व्यवस्था मिलाइने जानकारी समेत दिनुभयो ।
प्रधानमन्त्री देउवाले छोटो अवधिमा गरिएको कार्य र प्राप्त उपलब्धिले मुलुकमा राजनीतिक स्थायित्वसँगै विकास र समृद्धि हासिल गर्ने बलियो आधार खडा गरेको र जनतामा आशा भरोसा बढ्दै गएको भन्दै सरकार सही दिशामा अगाडि बढिरहेको समेत बताउनुभयो ।
प्रधानमन्त्री देउवाले राष्ट्रका नाममा सम्बोधन गर्दै ६ महिनाको अवधिमा सरकारले गरेका मुख्य मुख्य उपलब्धिहरू आज सार्वजनिक गर्नुभएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here