नेपालमा तेस्रोे लहरको संकेत, सातामै चार गुणाले बढ्यो कोरोना संक्रमण

काठमाडौ । नेपालमा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण बढ्दै गएको छ। पछिल्लो दुई दिनमा मात्रै देशभर करिब दुई हजार जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो। शनिबार र शुक्रबार गरी एक हजार ९१२ जनामा कोभिड संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार शनिबार ९४४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो। १३ हजार २६४ जनामा परीक्षण गर्दा ९४४ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार शनिबार २९७ जना कोरोना संक्रमणमुक्त भएका छन्। शुक्रबार र शनिबार कुनै कोरोना संक्रमितको मृत्यु भने भएन । शुक्रबार ९६४ जनामा संक्रमण पुष्टि भएको थियो ।
बिहीबार ५४०, बुधबार ४३५ र मंगलबार ३९३ जनामा संक्रमण पुष्टि भएको थियो। आइतबार कोरोना संक्रमण हुनेको संख्या २१६ मात्रै थियो। पछिल्लो एकसाताको यो तथ्यांकले पनि नेपालमा कोरोना संक्रमण बढ्दै गएको देखाउँछ । पुस २० गतेसम्म दुई सय माथि रहेको संक्रमितको संख्या एकसता पनि नबित्दै हजार नजिक पुगेको हो। कोरोनाको बढ्दो ग्राफले संक्रमणदर क्रमशः बढ्दै जाने संकेत गर्दछ । संक्रमणदर बढ्दै गएसँगै कोरोनाको तेस्रो लहर सुरु हुने चिन्ता थपिएको छ।
भारतमा ओमिक्रोन भेरियन्टको संक्रमण उच्च दरमा वृद्धि भइरहेका बेला नेपालमा पनि कोरोना संक्रमण बढ्न थालेको हो । नेपालमा शुक्रबार २४ जनामा कोरोनाको ओमिक्रोन भेरियन्टको संक्रमण पुष्टि भएको थियो । नेपालमा पहिलोपटक कोरोना भाइरसको ओमिक्रोन भेरियन्ट मंसिर २० गते दुई विदेशी नागरिकमा पुष्टि भएको थियो । कोरोना संक्रमण दर बढेसँगै सक्रिय संक्रमितको संख्या पनि बढ्न थालेको छ । शनिबारसम्म देशभर ६ हजार १४० जना सक्रिय संक्रमित आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here