बिनोद चौधरीको पद खारेजको माग गर्दै निर्वाचन आयोगमा परेको उजुरीले चौधरी पद मुक्त होलान ?

काठमाडौ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य विनोद चौधरीको पद खारेजको माग गर्दै निर्वाचन आयोगमा उजुरी परेको छ । सिरहा क्षेत्र ३ का महासमिति सदस्य डा. सुभाषचन्द्र यादवले चौधरी विधानविपरित केन्द्रीय सदस्य बनेको भन्दै पार्टी केन्द्रीय निर्वाचन समिति र निर्वाचन आयोगमा उजुरी दर्ता गराएका हुन्। चौधरी कांग्रेसको १४ औं महाधिवेशनमा मधेसी (खुला) कोटाबाट केन्द्रीय सदस्य निर्वाचित भएका थिए ।

कांग्रेसको विधानमा केन्द्रीय सदस्य बन्न १० वर्ष निरन्तर पार्टीको क्रियाशील सदस्य भएमात्र केन्द्रीय सदस्य बन्न प्रावधान भएपनि चौधरी २०७४ सालमा मात्र कांग्रेस प्रवेश गरेको उनको दावी छ।
यादवले चौधरीको अवैधानिक केन्द्रीय सदस्य पद खारेज गरी आफूलाई केन्द्रीय सदस्यमा मनोनयन गर्न समेत माग गरेका छन् । उनले आफूले नेपाली कांग्रेसको विधानको रक्षा र विधानको कार्यान्वयनका लागि उजुरी दर्ता गराएको बताएका छन्।
‘नेपाली कांग्रेसको विधान, २०१७ को परिच्छेद ७ दफा २१(८) मा १० वर्ष निरन्तर नेपाली कांग्रेसको क्रियाशील सदस्य भएको महाधिवेशन प्रतिनिधिबाट ४ महिला सहित ९ जना मधेशी केन्द्रीय सदस्य रहने व्यवस्था रहेको छ । नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिको २०७८।०७।२८ गतेको बैठकबाट बाधा अड्काउ फुकाउ सम्बन्धी प्रस्तावको निर्णयमा पार्टीको केन्द्रीय सदस्य रहेको व्यक्ति न्यूनतम १० वर्ष निरन्तर क्रियाशील सदस्य हुनु पर्ने पदमा उम्मेदवार हुन पाउने बाहेक अन्य जिल्ला सभापति, प्रतिनिधि सभा क्षेत्रीय कार्यसमितिको सभापति महानगर उपमहानगर सभापतिमा उम्मेदवार हुन पाउने छैन भनी भएको व्यवस्थाले समेत १० वर्ष निरन्तर क्रियाशील सदस्य भएको व्यक्ति मात्र केन्द्रीय सदस्यको पदमा उम्मेदवार हुन पाउने स्पष्टै छ, ‘उजुरीमा भनिएको छ।
उनले विनोद चौधरीको सम्बन्धमा नेपाली कांग्रेस केन्द्रीय कार्यालय र कांग्रेस केन्द्रीय निर्वाचन समितिमा उजुरी गर्दा पनि कुनै सुनुवाइ नभएपछि बाध्य भएर आयोगमा उजुरी दिएको बताए।
उनले भने,’ नेपाली कांग्रेसको विधान विपरित निवाचित भनिएको विनोद चौधरीको सम्बन्धमा नेपाली कांग्रेस केन्द्रीय कार्यालय र कांग्रेस केन्द्रीय निर्वाचन समितिमा उजुरी गर्दा पनि कुनै सुनुवाइ नगरेपछि राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा १४, १५, १७, ५७ समेतको आधारमा प्रस्तुत उजुर निवेदन पत्र पेश गरेको छु।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here