धादिङमा सर्वोत्तम सिमेन्टले किन्यो १५ करोडमा खानी, काठमाडौ लक्षित उत्पादन गरिने

धादिङ । सर्वोत्तम सिमेन्टले धादिङको रोराङ गाउँपालिकामा दुई हजार टनको नयाँ प्लान्ट लगाउने भएको छ। पश्चिम नवलपरासीको सुनवलमा दैनिक तीन हजार टन सिमेन्ट उत्पादन गर्ने उद्योग रहेको कम्पनीले काठमाडौंको बजार लक्षित गर्दै नयाँ प्लान्ट लगाउन लागेको हो।

प्लान्ट लगाउन कम्पनीले रोराङ गाउँपालिका कान्द्राङगढीमा रहेको चुनढुंगा खानीसमेत किनिसकेको छ। कम्पनीले १५ करोड १ लाख रुपैयाँमा केही समय अघि खानी किनेको हो। सर्वोत्तमले २२ वटा कम्पनीलाई उछिन्दै यो खानी किनेको हो।
यो खानी पाउन कम्पनीले बढी मूल्य तिर्नुका साथै खानीको सर्वे लगायत प्रिजेन्टेसन स्ट्रङ भएर हो। यो खानीमा ४० वर्षलाई पुग्ने चुनढुंगा छ। यो खानी चिनियाँ संयुक्त लगानीको हुवासिन सिमेन्टभन्दा दुई किलोमिटर पर रहेको छ।
सौरभ समूहका चेयरम्यान एवं कम्पनीका प्रबन्ध निर्देशक विष्णु न्यौपानेले सबैभन्दा ठूलो बजार काठमाडौंलाई लक्षित गरेर प्लान्ट लगाउन खानी किनेको बताए।
‘धादिङमा सर्वोत्तम सिमेन्टको दोस्रो प्लान्ट हुनेछ। यसले काठमाडौं लगायतका वरपरको बजारलाई लक्षित गरेर प्लान्ट लगाउन  लागेका हौं,’ न्यौपानेले बिजमाण्डूसँग भने, ‘काठमाडौंको बजारमा नवलपरासीबाट सिमेन्ट ल्याएर प्रतिस्पर्धा गर्न नसकिने भएकाले धादिङमा प्लान्ट लगाउन लागेका हौं।’
सिमेन्ट उद्योगलाई ढुवानी भाडाका कारण मूल्यमा ठूलो फरक पर्छ। नवलपरासीबाट काठमाडौंसम्म सिमेन्ट ल्याएर बिक्री गर्दा धादिङमा रहेका केएल दुगड समूह र आउन लागेको चिनियाँ लगानीको हुवासिनसँग प्रतिस्पर्धा गर्न कठिन हुन्छ। पछिल्लो समयमा सिमेन्ट उद्योग धेरै भएकाले बजार लिने प्रतिस्पर्धा छ।
 
बजार लिन कम्पनीबीच थोरै मार्जिन राखेर बेच्ने समेत होड छ। त्यही भएर ढुवानी भाडाकै कारण प्रतिस्पर्धा गर्न नसक्ने भएकाले सर्वोत्तमले धादिङमा प्लान्ट लगाउन लागेको हो। ‘सिमेन्ट उद्योगमा दीर्घकालीन सोच राख्न सकिएन भने प्रतिस्पर्धा गर्न सकिदैन,’ न्यौपानेले भने, ‘अन्यत्रको बजार स्याचुरेशनको लेभलमा छ। त्यसकारण पनि काठमाडौं वरपरको बजारका लागि पनि नयाँ प्लान्ट लगाउनुपर्ने बाध्यता आएको हो।’
उनका अनुसार सुदूरपश्चिममा ‘ओभर प्रोडक्सन’ भइसकेको छ भने पूर्वमा खानी छैन। ‘सुर्खेत र दाङमा आवश्यक बजार छैन भने त्यहाँ उत्पादित सिमेन्ट अन्यत्र ल्याएर बेच्न सम्भव छैन्,’ न्यौपानेले सिमेन्टको बजारको अवस्था बारे भने।

कहिलेबाट उद्योग निर्माण सुरु हुन्छ ?
खानी पाएपछि कम्पनीले वन, गाउँपालिका लगायतबाट स्वीकृति लिने प्रक्रिया अगाडि बढाउने भएको छ। यो प्रक्रिया स्वीकृतिसँगै उद्योगका लागि जग्गा किन्ने काम अगाडि बढ्नेछ।
‘हामीले सकेसम्म छिटो प्लान्ट लगाएर उत्पादन थाल्ने योजना बनाएका छौं,’ उनले भने। उनका अनुसार धादिङको प्लान्ट पनि अत्याधुनिक प्रविधिको हुनेछ। सर्वोत्तमको नवलपरासीको प्लान्ट युरोपको भीआरएम प्रविधिको हो। न्यौपानेले नवलपरासीको जस्तै सेन्टर कन्ट्रोल अन्तर्गत कम्प्युटर प्रविधिमार्फत पूर्ण स्वचालित उद्योग हुनेछ।
सर्वोत्तमको नवलपरासीका लागि लिएको दीर्घकालीन ऋण अब ४० करोड मात्रै बाँकी छ। त्यो बाहेक चालु पुँजीका लागि लिइएको ऋण मात्रै छ।
 ‘उद्योगको लागि दीर्घकालीन ऋण समेत अबको केही महिनामा तिरिसक्छौं,’ न्यौपानेले भने, ‘वर्किङ क्यापिटलका लागि लिएको ऋण पनि धेरै छैन। हामीले बजारमा उठाउनुपर्ने पैसा पनि धेरै छ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here