काहाली लाग्दो नयाँ बसपार्क सामूहिक बलात्कार प्रकरणको विस्तृत विवरण

पौष – १४ । काठमाडौंको नयाँ बसपार्कस्थित मित्रनगरमा सामूहिक बलात्कारमा संलग्न थप एकजना पक्राउ परेका छन् । बुधवार थप एकजनालाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी सुदिप गिरीले बताए । फरारमध्ये मुगुका हस्त नेपाली पक्राउ परेका हुन् । उनीसँगै पक्राउ गरिएका आरोपीको संख्या ८ जना पुगेको छ । बलात्कारमा संलग्न सबै आरोपी वैदेशिक रोजगारीमा जाने तयारीमा रहेको प्रहरीको अनुसन्धानबाट खुलेको छ । ‘बलात्कारमा संलग्न आरोपी विदेश जाने तयारीमा थिए,’ परिसर काठमाडौंका एसएसपी गिरीले भने, ‘अदालतबाट म्याद लिएर घटनाबारे विस्तृत अनुसन्धान गर्छौँ ।’

घटनामा संलग्न ९ जना मध्ये मुगुका चन्द्र साउद अझै फरार छन् । पुस १२ मा सुर्खेतबाट काठमाडौं आएकी ३३ वर्षीया युवतीलाई बसपार्कमा भेटेका मुगुका युवराज बडुवालले गेष्ट हाउसमा लगेका थिए । पछि मुगु छायानाथ रारा नगरपालिका घर भएका हिक्मत नेपालीलाई उनले बोलाए । सो रात मदिरा सेवन गरेर दुई जनाले सामूहिक बलात्कार गरेको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ ।

भोलिपल्ट बिहान थप ७ जनाले अरु दुईवटा गेष्ट हाउसमा लगेर ती युवतीलाई बलात्कार गरेको प्रहरीको भनाइ छ । क्लोज सर्किट क्यामेरामा देखिएको फुटेजमा बडुवालसँगै ती युवती हिँडेर गेस्ट हाउसमा गएको देखिएको छ । पुस १३ मा अरु ४ जना आरोपीहरुले उनलाई अर्को गेस्ट हाउसमा लगेको देखिन्छ ।

अर्घाखाँची घर भएका गोपाल कुमार श्रीषले अन्तिम पटक बलात्कार गर्ने प्रयास गरेका थिए । त्यतिन्जेल ८ जनाबाट बलात्कारको पिडा खेपेकी युवती अर्धचेत भैसकेकी थिइन् । त्यसैले आफूले बलात्कार नगरेको र उनलाई ५ सय रुपैयाँ दिएर हिँडेको श्रीषले अनुसन्धान अधिकृतलाई बयान दिएका छन् ।

श्रीष वैदेशिक रोजगारीका लागि बुधवार कतार उड्दै थिए । पक्राउ परेपछि उनको कतार उड्ने टिकट काम लागेन । विदेशमा गएर कमाउने योजना पनि तत्कालका लागि विफल भएको छ ।

युवती आफैं प्रहरीमा पुगिन्

मंगलबार दिउँसो ३ बजे महानगरीय प्रहरी प्रभाग नयाँ बसपार्कमा एकजना युवती अर्धचेत अवस्थामा पुगिन् । र, भनिन्, ‘मलाई १० जना केटाहरूले बलात्कार गरेर भागे ।’ बसपार्कका इन्स्पेक्टरले सो सूचना काठमाडौं प्रहरीलाई जानकारी गराए । ‘त्यसपछि हामीले पीडितलाई प्रसूति गृहमा उपचारका लागि पठायौं’ एसएसपी गिरीले भने,‘अनि, सिसिटिभी फुटेजबाट अनुसन्धान सुरु गरेर आरोपीसम्म पुग्न सफल भयौं ।
सबैभन्दा पहिले पक्राउ परेका हुन्, गोपाल कुमार श्रीष । उनी गोंगबुमा भेटिए । युवती प्रहरीकहाँ पुगेको सुराक पाएपछि ६ जना आरोपी कलंकीमा जम्मा भएका थिए । काठमाडौं परिसरबाट खटिएको टोलीले ६ जनालाई कलंकीस्थित न्यू गण्डकी गेस्ट हाउस एण्ड खाजा घरबाटै पक्राउ गरेको हो । अनुसन्धानमा संलग्न एकजना अधिकृतले भने, ‘६ जना एकै ठाउँमा लुकेर बसेका रहेछन् ।’
आरोपी मध्येका युवराज बडुवाल, हिक्मत नेपाली, मुगु घर भएका रतन नेपाली, सुरेश सेजुवाल, दीपक नेपाली र शिवहरि बुढा एकै ठाउँमा लुकेर बसेका थिए ।
बुधवार बिहान पक्राउ परेका मुगुका हस्त नेपाली चाहिँ गोंगबुबाट पक्राउ परेका हुन् । पीडित युवती काम खोज्न सुर्खेतबाट काठमाडौं आएकी हुन् । उनका पति लामो समयदेखि भारतमा गएर बेपत्ता भएपछि दुई सन्तानको लालनपालनका लागि काठमाडौं आएको प्रहरीले बताएको छ । 
source : ratopati.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here