नेपाली काँग्रेसको सभापतिमा देउवा विजयी

काठमाडौ । नेपाली काँग्रेसको १४ औं महाधिवेशनबाट सभापति पदमा पुनः शेरबहादुर देउवा विजयी भएका छन् । १३ औं महाधिवेशनमा पहिलो पटक काँग्रेस सभापति बन्न सफल देउवा १४ औं महाधिवेशनबाट पनि भारी मतान्तरका साथ निकटतम प्रतिद्वन्द्वी डा शेखर कोइरालालाई पराजित गर्दै सभापतिमा निर्वाचित भएका हुन् । 

मंगलबार भएको मतदानको मतगणना राति सवा ११ बजेदेखि सुरु हुँदा देउवाले लगातार अग्रता बढाउँदै लगेका थिए । मंगलबार दिउँसो ३ः३० बजेदेखि सुरु भएको मतदान निर्धारित समयभन्दा डेढ घण्टा ढिला राति ९ बजे सम्पन्न भएको थियो भने आवश्यक प्रक्रिया सुरु गरे राति सवा ११ बजेदेखि मतगणना थालिएको थियो । 

 सोमबार पहिलो चरणमा भएको मतदानमा ४ हजार ६७९ मत खसेकामा मंगलबार घटेर ४६२३ मत खसेको निर्वाचन समितिका एक अधिकारीले जानकारी दिए ।  काँग्रेसमा कुल मतदाता ४ हजार ७४३ जना भएपनि बाँकी अनुपस्थित भएका थिए । मतपरिणामअनुसार देउवाले २७३३ मत पाउँदा कोइरालाले १८५५ मत प्राप्त गरे । यस्तै ३५ मत बदर भयो । 

यसअघि सोमबार भएको निर्वाचनमा सभापति पदका प्रत्यासी कसैले पनि ५० प्रतिशत भन्दा बढी मत ल्याउन नसकेपछि पार्टी विधानअनुसार सबैभन्दा बढी मत ल्याउने देउवा र कोइरालाबीच दोस्रो चरणको  प्रतिस्पर्धा भएको थियो । पहिलो चरणको प्रतिस्पर्धामा विमलेन्द्र निधि, प्रकाशमान सिंह र कल्याण गुरुङ पनि सहभागि थिए । उनीहरु कम मत ल्याएर बाहिरिएपछि देउवा र कोइरालाबीच प्रतिस्पर्धा भएको थियो । दुईबीचको प्रतिस्पर्धामा बाहिरिएका तीनै जना उम्मेदवारले देउवालाई सघाएका थिए । पहिलो चरणको निर्वाचानमा  देउवाले दुई हजार २५८ र कोइरालाले एक हजार ७०२ मत प्राप्त गरेका थिए । सभापतिका अन्य प्रत्यासी  सिंहले ३७१,  निधिले २५० र  गुरुङले २२ मत प्राप्त गरेका थिए । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here