प्रतिनिधिसभाको आगामी बैठकमा एमसीसी सम्झौता अघि बढाउने तयारी

मंसिर – २९ । प्रतिनिधिसभाको आगामी बैठकमा अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सँग भएको अनुदानसम्बन्धी सम्झौता पेस गर्ने तयारी भएको छ ।

स्रोतका अनुसार प्रधानमन्त्री शेरबहादुर देउवाले मंगलबार सुरु भएको हिउँदे अधिवेशनको पहिलो बैठकमै सम्झौता टेबल गर्न चाहेका थिए तर गठबन्धनका अन्य दलले बृहत् छलफल गर्नुपर्ने सुझाव दिएपछि आगामी बैठकमा अघि बढाउने तयारी गरिएको हो ।

देउवाले माओवादी अध्यक्ष पुष्पकमल दाहाललाई तत्काल एमसीसी अघि बढाउने विषयमा कुराकानी गरेका थिए । दाहालले एकपटक सर्वदलीय छलफल गरी अघि बढाउनु उचित हुने सुझाव दिएको स्रोतले जनाएको छ ।
अध्यक्ष दाहाल एमसीसी सम्झौता संशोधन गरेरमात्र संसद्बाट अघि बढाउने पक्षमा छन् । प्रतिपक्ष दल एमालेले एमसीसीबारे अझै धारणा बनाइसकेको छैन । ‘प्रतिनिधिसभाको आगामी बैठकमा एमसीसी टेबल गर्ने तयारी छ,’ स्रोतले भन्यो, ‘त्यसअघि गठबन्धनका तर्फबाट सर्वदलीय बैठक हुनेछ ।’ प्रतिनिधिसभाको दोस्रो बैठक पुस ६ का लागि बोलाइएको छ । (Source:ekantipur.com)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here