राष्ट्रियसभाको निर्वाचन कार्यतालिका सार्वजनिक ; पुस २० मा उम्मेदवारी दर्ता गरिने

मंसिर – २१ । निर्वाचन आयोगले माघ १२ मा हुने राष्ट्रियसभाका निर्वाचन कार्यक्रम सार्वजनिक गरेको छ । कार्यक्रम अनुसार पुस २० गते उम्मेदवारी दर्ता गर्नुपर्ने छ । त्यसै दिन उम्मेदवारको नामावली प्रकाशित गर्ने कार्यक्रम रहेको निर्वाचन आयोगले जनाएको छ ।

पुस २० गते उम्मेदवारको मनोनयनपत्र दर्ता गर्ने र मनोनयनपत्र दर्ता भएको उम्मेदवारको सूची प्रकाशन गर्ने, पुष २१ गते उम्मेदवारको विरोधमा उजुरी दिने, पुस २२ र २३ गते मनोनयनपत्र र उजुरी उपर जाँचबुझ गरी निर्णय गर्ने तथा उम्मेदवारको नामावली प्रकाशन गर्ने, पुस २४ गते उम्मेदवारले नाम फिर्ता लिने, पुस २५ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने कार्यक्रम रहेको छ ।
निर्वाचको कार्यक्रम भने पुस १७ गतेबाटै सुरु हुनेछ । सो दिन मतदाताहरूको नामावली प्रकाशित हुने छ । नामावलीमा कुनै त्रुटी भए सच्याउने र उजुरी दिनका लागि पुस १८ र १९ गते तोकिएको छ ।

‘प्रकाशित नामावलीमा नाम समावेश हुन छुट भएका व्यक्तिले आफ्नो नाम समावेश गर्नको लागि दरखास्त दिने, नाम समावेश भएको व्यक्तिले आफ्नो नाम थर उमेर, पद आदि सच्याउन दरखास्त दिने तथा प्रकाशित नामावलीमा उल्लेख भएका मतदाताको विरोधमा उजुरी दिने कार्यक्रम रहेको छ’ आयोगले भने ।
माघ १२ मा राष्ट्रियसभाका एकतिहाइ सांसद निर्वाचित गर्न मतदान हुँदैछ । १९ जना नयाँ सांसद निर्वाचित गर्नका लागि मतदान हुन लागेको हो । प्रदेससभा सदस्य र स्थानीत तहका प्रमुख तथा उप प्रमुखले मतदान गर्ने छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here