विदेशबाट नेपाल आउँदा के-के सामान ल्याउने वा नल्याउने र कति मात्रामा ल्याउने

विदेशबाट फर्किदा ल्याउन पाइने सामाग्रीबारे भन्सार विभागले परिपत्र जारी गरेको छ। विदेशबाट फर्किदा के सामाग्री ल्याउन पाइने, कति र के नपाइने भन्ने विषयमा फेरि स्पष्ट पारेको हो। 

विदेशबाट फर्किदा यात्रुहरुले आफ्नोसहित अरुका सामाग्री पनि बोकेर आउने गरेका छन्। यी सामाग्रीहरुमा सुन, मोबाइल, ल्यापटप, मदिराजन्य सामाग्री ल्याउने गरेका छन्। बर्सेनि आर्थिक वर्ष प्रारम्भमा विभागले सूचना जारी गर्ने गरेको छ। यतिबेला विदेशबाट आउनेले नियमानुसार ल्याउन पाइनेभन्दा धेरै सामान ल्याउन थालेको पाइएपछि विभागले स्मरणका लागि पुनः परिपत्र गरेको हो।
यी सामाग्री ल्याउँदा कानूनी व्यवस्थाको पर्याप्त जानकारी नभएका एवम् अन्य अपरिचित व्यक्तिलाई बाहिरबाट नेपाल आउजाउ गर्दा ललाइफकाइ त्यस्ता सामाग्री पठाउने गरेको अध्ययनमा देखिएको छ। 
के सामान कति ल्याउन पाइन्छ?
भन्सार ऐनअनुसार नेपालमा स्थायी बसोबास गर्ने नेपाली नागरिक विदेशमा गई फर्कदा व्यक्तिगत प्रयोगका लागि सुनको गहना ५० ग्रामसम्म ल्याउन पाउँछन्। यस्तै ऐन अनुसार ५० ग्राम भन्दा थप २ सय ग्रामसम्मको सुनका गहनालाई भन्सार महसुल बुझाई जाँचपास गर्न सकिने व्यवस्था छ। सोभन्दा बढी गहना ल्याएमा जफत हुन्छ। 
व्यक्तिगत प्रयोगका सुनका गाना बाहेक अन्य जुनसुकै स्वरूपको सुन अधिकतम १ सय  ग्रामसम्मलाई भन्सार महसुल लिई जाँचपास गर्न सकिने सोभन्दा बढी परिमाणको सुन त्याएमा त्यस्तो बढी परिमाण जफत गरिने नियममा भनिएको छ। 
यसैगरी व्यक्तिगत प्रयोगको ट्याब्लेट वा ल्यापटप एउटाभन्दा बढी ल्याएमा भन्सार महसुल लाग्छ। व्यक्तिगत प्रयोगको मोबाइल फोन एक वा सोभन्दा बढी भएमा भन्सार महसुल लाग्नेछ। मदिरा एक लिटरसम्म ल्याउन पाइन्छ, बढी भए जफत गरिने कानुनी व्यवस्था छ। 
यस्तै भन्सार विभागको अध्ययनमा विदेशबाट नेपाल आउने कतिपय यात्रुलाई अपरिचित वा सामान्य परिचित व्यक्तिले ललाईफमा कुनै मालवस्तु (जस्तै टचलाईट, आईरन, मिक्चर, रेडियो, स्पिकर, पानी तान्ने मोटर आदि) आफ्ना आफन्तका लागि पुर्‍याइदिन भनी अनुरोध गर्ने गरेका छन्। 
तर ती वस्तुहरुमा भन्सार चेकजाँचका क्रममा लुकाइछिपाइ सुन, चाँदी वा अन्न अवैध वस्तु राखेको फेला परी सम्बन्धित सामान ल्याउने व्याक्तिले कानून बमोजिम कारबाही भोग्नु परेको अवस्था छ । विभागले मालवस्तुमा कुनै अवैध वस्तु लुकाइएको छैन भन्ने सुनिश्चित नभएसम्म अरूको मालवस्तु नल्याउन आग्रह गरेको छ।