रसुवामा हुने माउण्टेन बाईक च्यालेन्जको खेलाडी दर्ता खुल्ला; अनलाइन बाट समेत भर्न मिल्ने

रसुवा, मङ्सिर – १ । रसुवामा हुने हाई अल्टिच्युड रसुवा माउण्टेन बाईक च्यालेन्जको खेलाडी दर्ता खुल्ला गरिएको छ ।
आयोजक प्रदेश खेलकुद विकास परिषद् बागमती प्रदेश र जिल्ला साइक्लिङ संघ रसुवाले प्रतियोगितामा सहभागी हुने खेलाडीका लागि दर्ता खुल्ला गरिएको बताएको छ ।
प्रतियोगितामा सहभागी हुन चाहने ब्यक्तिले अनलाइनमार्फत फारम भर्न सक्नेछन् । प्रतियोगिताको दर्ता शुल्क १ हजार राखिएको छ । मंसिर १० गतेसम्म दर्ता गर्न सकिने आयोजकले जनाएको छ ।
रसुवाको कालिकास्थानमा हुने प्रतियोगिता मंसिर १८ गते आयोजना हुदैछ ।

प्रतियोगितामा विभिन्न चार विधालाई समावेश गरिएको छ । प्रतियोगितामा १९ वर्षमाथिको इलाइट पुरुष र महिला तथा १८ वर्ष मुनिको जुयिनर तथा ३० वर्षमाथिको मास्टर स्पर्धामा प्रतिस्पर्धा हुनेछ ।
एलिटतर्फको शीर्ष तीन स्थान हात पार्नेले क्रमश नगद रु ४० हजार, २० हजार र १५ हजार हात पार्नेछन् । त्यस्तै चौथोदेखि दशौं स्थानसम्मका प्रतिस्पर्धिले ७ हजार ६, हजार, ५ हजार, ४ हजार, ३ हजार, २ हजार र १ हजार प्राप्त गर्नेछन् ।
मास्टर र जुनियरतर्फका शीर्ष तीन स्थान प्राप्त गर्ने खेलाडीहरुले क्रमशः १५ हजार, १० हजार र ७ हजार प्राप्त गर्नेछन् ।
चौथोदेखि दशौं स्थान हुनेहरुले गिफ्ट ह्याम्पर प्राप्त गर्नेछन् ।
प्रतियोगिता कालिका गाँउपालिकाको सहिद गेट कालिकास्थानबाट सुरु भई घुम्ति बजार, लामाटोल, गुम्बाडाडा, स्याउबरी हुँदै गणेश हिमाल र त्रिशुलीको रमणीय दृष्य हेर्दै नौकुण्ड गाँउपालिका लोकिल, आरुखर्क, गोर्मु, किमोर्जोङ, खाल्चेत, जिवजिबे हुँदै ३५ किलोमिटर पार गरी कालिका हिमालय क्याम्पसमा अन्त्य हुनेछ ।
साहसिक खेलकुदको विकास तथा सो क्षेत्रको पर्यटन प्रवर्द्धन गर्ने उदेश्यले प्रदेश खेलकुद परिषद् बागमतीले प्रतियोगिता आयोजना गरेको हो ।
यसअघि बागमती प्रदेश खेलकुद परिषद्ले दोखलाको चरिकोटमा राष्ट्रिय रिङ रेस्लिङ तथा काभ्रेपलान्चोकमा प्रत्येक वर्ष हुने पाँच पोखरी अल्ट्रा हाफ म्याराथनमा सह आयोजकको रुपमा काम गरेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here