अर्को साता बाइडेन र सीबीच भर्चुअल भेट हुने

एजेन्सी । अमेरिकी राष्ट्रपति जो बाइडेन र चिनियाँ समकक्षी सी चिनफिङबीच अर्को साता भर्चुअल भेट हुने भएको छ।

समाचार संस्था रोयटर्सले स्रोतलाई उद्धृत गर्दै अर्को साता जतिसक्यो चाँडो दुई नेताबीच कुराकानी हुने समाचारमा उल्लेख गरेको छ।
अमेरिकी राष्ट्रपति कार्यालय र वासिङ्टनस्थित चिनियाँ दूतावासले भने दुई नेताबीच कहिले कुराकानी हुन लागेको हो भन्नेबारे कुनै प्रतिक्रिया दिएका छैनन्।

यसअघि दुबै पक्ष सन् २०२१ सकिनुअघि नै दुई राष्ट्र प्रमुखबीच कुरा हुनु पर्नेमा भने सहमत भएका थिए।
अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले चीनसँग थालेको व्यापार युद्ध अहिले पनि जारी छ। यसै वर्षको सुरूमा अमेरिकी राष्ट्रपतिको कार्यभार सम्हालेका बाइडेन र सीबीच अहिलेसम्म प्रत्यक्ष भेटघाट भएको छैन। इटालीमा भएको जी-२० शिखर सम्मेलन र ग्लास्गोमा भएको कोप-२६ मा यी दुई नेताबीच साइडलाइन वार्ता हुन सक्ने अनुमान गरिएको थियो। राष्ट्रपति सी यी दुबै कार्यक्रममा सहभागी नभएपछि त्यो सम्भावना सकिएको छ।

२१ महिनादेखि सीले चीन छोडेका छैनन्। यो वर्षभरि उनी विदेश जाने कार्यक्रम पनि छैन। यो वर्ष प्रत्यक्ष भेट सम्भव नभएपछि दुई नेता भर्चुअल्ली भेट्न लागेका हुन्।
व्यापार युद्धसँगै पछिल्लो समय ताइवानका विषयमा पनि चीन र अमेरिकाबीचको तिक्तता बढिरहेको छ। यस्तो अवस्थामा संसारका दुई ठूला अर्थतन्त्र भएका मुलुकका शीर्ष नेताहरूबीच हुने भर्चुअल भेटलाई महत्वका  साथ हेरिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here