बागमती प्रदेशका मुख्यमन्त्री पाण्डेले आज विश्वासको मत लिने

कार्तिक – २२ । बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले आज संसद्बाट विश्वासको मत लिने भएका छन् । गत कात्तिक ११ गते गठबन्धनको तर्फबाट नेपालको संविधानको धारा १६८ को उपधारा २ अनुसार मुख्यमन्त्रीमा नियुक्त भएका पाण्डेले सोमबार ३ बजे प्रदेशसभाको बैठकमा विश्वासको मत लिने भएका हुन् ।

मुख्यमन्त्री पाण्डेको विश्वासको मत सम्बन्धी प्रस्ताव कात्तिक १४ गते नै प्रदेशसभा सचिवालयमा दर्ता भइसकेको छ । नेकपा (एकीकृत समाजवादी)का संसदीय दलका नेतासमेत रहेका पाण्डेको विश्वासको मत सम्बन्धी प्रस्तावमाथि भोलि बस्ने प्रदेशसभा बैठकमा छलफल हुने जनाइएको छ ।

पाण्डेलाई नेकपा माओवादी केन्द्र, नेपाली काँग्रेस र जसपाको समर्थन छ । प्रदेशसभाका सभामुख सानुकुमार श्रेष्ठका अनुसार बैठकमा समय रहेसम्म सम्पूर्ण प्रक्रिया टुङ्ग्याइने र मत विभाजनसमेत हुने गरी तयारी भइरहेको छ । विश्वासको मत सम्बन्धी प्रस्तावमा मत विभाजनका लागि आवश्यक सम्पूर्ण तयारी पूरा भइसकेको प्रदेशसभा सचिवालयले जनाएको छ । मुख्यमन्त्री पाण्डेको विश्वासको मत सम्बन्धी प्रस्तावमाथि छलफलका क्रममा प्रदेशसभामा आवद्ध दलका सदस्यहरुले क्रमशः आफ्ना धारणा राख्ने र छलफलमा उठेका प्रश्नहरुको जवाफ मुख्यमन्त्रीले दिएपछि मत विभाजन हुनेछ ।

यस्तो छ प्रदेशसभाको जोडघटाउ

मुख्यमन्त्री पाण्डेले वर्तमान अवस्थामा संसदबाट सजिलै विश्वासको मत प्राप्त गर्ने देखिन्छ । गठबन्धनमा रहेका नेकपा माओवादी केन्द्रका २३ जना, नेपाली काँग्रेसका २२ जना, नेकपा एकीकृत समाजवादीका १३ जना र जसपाका १ जनासहित ५९ जना सांसद्को समर्थनमा मुख्यमन्त्री बनेका पाण्डेलाई सरकार जोगाउन वा बहुमतका लागि कम्तीमा ५५ जना सांसदको साथ आवश्यक हुन्छ ।

बागमती प्रदेशमा आवद्ध अन्य साना दलका ८ जना सांसद् छन् । प्रदेशसभामा विवेकशील साझा पार्टीका ३, राप्रपा र नेमकिपाका २/२ र जसपाको एक जना सांसद् छन् । जसपा गठबन्धनमा रहेकाले यस अघि नै पाण्डेलाई मुख्यमन्त्री बनाउन पक्षमा हस्ताक्षर गरिसकेको छ । यता, विवेकशील साझा पार्टीसहित अन्य दलले भने यस बारेमा प्रतिक्रिया दिएका छैनन् ।
विश्वासको मतपछि मन्त्रिपरिषद् विस्तार
मुख्यमन्त्री पाण्डेले सदनबाट विश्वासको मत लिएलगत्तै मन्त्रिपरिषद् विस्तार गर्ने जनाइएको छ । उनले मुख्यमन्त्री नियुक्त भएकै दिन ३ जना मन्त्री नियुक्त गरी प्रदेश सरकार गठन गरेका छन् । पहिलो चरणमा उनले काँग्रेस संसदीय दलका उपनेता कृष्णलाल भँडेल, माओवादी संसदीय दलका उपनेता कुमारी मोक्तान र नेकपा एकीकृत समाजवादी संसदीय दलका उपनेता कृष्णप्रसाद खनाललाई मन्त्री नियुक्त गरेका थिए ।
मुख्यमन्त्री पाण्डेले भँडेललाई भौतिक पूर्वाधार विकास मन्त्रालय, मोक्तानलाई सामाजिक विकास मन्त्रालय र खनाललाई आन्तरिक मामिला तथा कानुन मन्त्रालयको जिम्मेवारी दिएका छन् । नेपाली काँग्रेस बागमती प्रदेशका सचेतक छिरिङ दोर्जे लामाका अनुसार सरकारले थोरै समयमा धेरै काम गर्नुपर्ने भएकाले आगामी एक साताभित्रै मन्त्रिपरिषद्ले पूर्णता पाउने छ ।
‘हामीसँग समय धेरै कम छ । प्रदेश र जनताको पक्षमा धेरै काम गर्न बाँकी छ । हिजोका दिनमा सरकारको नेतृत्व गर्नेहरु जनताको पक्षमा जिम्मेवार नबन्दा थुप्रै काम अधुरा छन्,’ उनले भने, ‘जनताको काम पूरा गर्न पनि र सरकारलाई सफल बनाउन पनि हामीले मन्त्रालय थप गर्नै पर्छ । सोही अनुसार बागमती प्रदेशमा १३ वटासम्म मन्त्रालय हुन सक्छ ।’  रासस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here