अमेरिकाले दिने सहयोगमा फरक मापदण्ड र नीति अख्तियार गर्न नहुने; डा. महत

कार्तिक – १९ । नेपाली कांग्रेसका सहमहामन्त्री डा प्रकाशशरण महतले अमेरिकी अनुदानमा आधारित एमसिसी सम्झौताका विषयमा सत्य बोल्न कोही पनि डराउन नहुने बताएका छन्। विर्तामोडस्थित कांग्रेसको पार्टी कार्यालयमा बिहीबार आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा उनले भारत, चीन, कोरिया, जापान, युरोपियन युनियनलगायतबाट नेपाललाई वर्षेनी अनुदान र ऋणमा आधारित सहयोग प्राप्त हुने गरेको उल्लेख गर्दै सहमहामन्त्री महतले अमेरिकाले दिने सहयोगमा फरक मापदण्ड र नीति अख्तियार गर्न नहुने बताए। सबै मित्रराष्ट्रसँगको परराष्ट्र नीति समान हुनुपर्नेमा उनको जोड थियो।

एमसिसीमार्फत अमेरिकाले दिने सहयोग ऋण नभएर अनुदान भएको उनले स्पष्ट पार्नुभयो। विद्युतीय ट्रान्समिसन लाइन, सडक जस्ता महत्वपूर्ण पूर्वाधार निर्माणमा आउने सहयोग नेपालले स्वीकार गर्नुपर्ने नेता महतको धारणा थियो। विदेशी सेना आउने, विदेशको कानून लागू हुने, सार्वभौमसत्ता सङ्कटमा पर्ने जस्ता गलत र हुँदै नभएका हल्ला चलाइएकाले एमसिसीबारे जनतालाई सत्य कुरा सुनाउन नेताहरुले आँट गर्नुपर्ने उनको भनाइ थियो।

नेता महतले भारतीय जनता पार्टीको निमन्त्रणामा हालै भारत भ्रमणमा जाँदा सीमा समस्या र तुइन समस्याको समाधानका बारेमा खुलस्त रुपमा छलफल भएको जानकारी दिए। केपी ओली नेतृत्वको सरकारका पालामा भारतसँगका सम्झौताका विषयमा प्रष्ट कुरा र अडान राख्न नसकेको उनले आरोप लगाए। ओलीले सडक, मिडिया र जनतातिर फर्केर चर्को राष्ट्रवादी कुरा राखेर भ्रम छरेको डा महतको भनाइ थियो । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here