अस्थायी शिक्षकका जायज मागको सम्बोधन गर्ने : शिक्षा मन्त्री देवेन्द्र पौडेल

Interview with Nepal Communist Party (NCP) central committee member Devendra Poudel. Photo: Naresh Shrestha/ THT

कार्तिक – १६ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले शिक्षा क्षेत्रमा लामो समयदेखि गाँजिएर रहेका समस्या एकपछि अर्को गर्दै हल गरिने बताउनुभएको छ ।

नेकपा (माओवादी केन्द्र) निसीखोला गाउँपालिका र तमानखोला गाउँपालिकाले आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा उहाँले अस्थायी र करार शिक्षकको व्यवस्थापन तथा दरबन्दी मिलान लगायत अल्झेर बसेका शिक्षा क्षेत्रका समस्या समाधानका लागि काम अगाडि बढाइने बताउनुभएको हो ।

“शिक्षा क्षेत्रमा चुनौतीको थुप्रो छ, ४०औँ वर्षदेखि समस्याहरु गाँजिएर रहेका छन्, तिनलाई क्रमशः हल गरिनेछ”, उहाँले भन्नुभयो, “अर्थ मन्त्रालय र प्रधानमन्त्री कार्यालयसँग पनि यस विषयमा छलफल भएको छ, अब लगत्तै काम सुरु हुन्छ ।”
मन्त्री पाडैलले अस्थायी शिक्षकका जायज मागलाई नीति र विधिगत प्रबन्धमार्फत सम्बोधन हुने भन्दै शिक्षक दरबन्दी मिलानको काम सुरु भइसकेको बताउनुभयो ।

कार्यभार सम्हालेपछिको पहिलो फाइल दरबन्दी मिलानकै सदर गरेको उहाँले जानकारी दिनुभयो । “एकातिर शिक्षकको दरबन्दी अभाव र अर्कोतिर अस्थायी शिक्षकको समस्या यो अवस्थाको अन्त्य गर्न मन्त्रालयले काम अगाडि बढाएको छ”, मन्त्री पौडेलले भन्नुभयो । विशिष्ट परिस्थितिमा आफू मन्त्रालयको नेतृत्वमा आइपुगेको भन्दै उहाँले आफ्नो कार्यकाल शिक्षा क्षेत्रको सुधारमा खर्चने धारणा राख्नुभयो ।

मन्त्री पौडेलले शैक्षिक पूर्वाधार विकास र विद्यालय भवन पुनर्निर्माणको कामलाई पनि निरन्तरता दिइने बताउनुभयो । उहाँले अन्तरमन्त्रालय समन्वय गरेर जिल्लाको विकास, निर्माणमा पनि यथाशक्य भूमिका निर्वाह गर्ने प्रतिबद्धता जनाउनुभयो ।
देश माओवादीको एजेण्डामा चलेको बताउँदै आफूहरुले स्थापित गरेका विचारलाई तल्लो तहसम्म पुर्याउन कार्यकर्तालाई उहाँले आग्रह गर्नुभयो । फरक प्रसंगमा बोल्दै उहाँले अब नेकपा एमालेले देशको नेतृत्व गर्न नसक्ने भन्दै देशको प्रभावशाली पार्टीको रुपमा माओवादी स्थापित हुने बताउनुभयो ।

२०६४ सालको जस्तो माओवादी बनाउने संकल्प गरेकाले पार्टीले भरर्खरै ३२ वटा विभाग गठन गरी काम थालनी भएको बताउनुभयो । माओवादीमा नेतृत्वकोमा समस्या नरहेको भन्दै देश र जनतालाई गद्धारी हुने काम पार्टीले नगरेको दाबी गर्नभयो ।

निर्वाचन क्षेत्रका जनताको अपेक्षा मन्त्री भएपछि बढेको बताउँदै विद्यालयको पूर्वाधार निर्माण, शिक्षक दरबन्दी, पुल, मोटरबाटो लगायका योजना आफ्नो प्राथमिकतामा परेको उहाँको भनाइ छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here