नेकपा माओवादी केन्द्र निकटका धुर्ब विक्रम मल्ल सहित २ सय भन्दा बढी राप्रपा प्रवेश

कार्तिक – १४ । माओवादी केन्द्र निकट गणतान्त्रिक खेलकुद महासंघका संस्थापक अध्यक्ष समेत रहेका बालाजु डो– प्रतिष्ठानका अध्यक्ष धुर्ब विक्रम मल्ल राष्ट्रिय प्रजातन्त्र पार्टीमा प्रवेश गरेका छन् ।
शनिबार बालाजुस्थित डोजोमा आयोजित कार्यक्रममा उनीसहित सयौँ कार्यकर्ता राप्रपामा प्रवेश गरेका हुन् । उनीहरुलाई पूर्वगृहमन्त्री तथा राप्रपाका उपाध्यक्ष बुद्धिमान तामाङ र पूर्व पर्यटन राज्यमन्त्री पर्शुराम तामाङले स्वागत गरेका हुन् ।
मल्लले हिन्दुराज्य, राज संस्था स्थापना र संघीयता खारेजी माग सहित पार्टीले लिएको एजेण्डामा सहमत भएर पार्टी प्रवेश गरेको बताएका छन् ।
मल्लका अनुसार २ सय जनाले सोही कार्यक्रममा प्रवेश गरेर पार्टी सदस्यता फारम भरेका छन् । उनीहरु माओवादी केन्द्र, कांग्रेस र नेकपा एमाले लगायतबाट राप्रपा प्रवेश गरेका हुन् ।
द्वन्दकालदेखि नै माओवादी केन्द्रमा आवद्ध मल्लले नै माओवादी निकट जनमुक्ति सेनाको पिएलए स्पोर्टस् क्लब बनाएका थिए । माओवादी शान्तिप्रक्रियामा आएपछि राष्ट्रिय खेलकुद प्रतियोगितामा पिएलए स्पोर्टस् क्लबले भाग लिएपछि विवाद भएको थियो । नेपाली सेनाले उक्त खेल नै बहिष्कार गरेको थियो ।
मल्लले बालाजु डोजोबाट प्रतिष्ठित खेलाडीहरु उत्पादन गरेका छन् । कराँतेको अन्तर्राष्ट्रिय लाइसेन्स प्राप्त प्रशिक्षक रहेका उनले अन्तर्राष्ट्रिय धावक मिरा राई, विमला तामाङ, नविन रसाइली, अनुपमा अधिकारी लगायत दर्जनौँ खेलाडी उत्पादन गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here