न्याय खोज्दै माइतीघरमा रिले अनशनमा बसेकालाई धरपकड !

असोज – २३, काठमाडौ । न्यायको खोजीमा नेपालगन्जदेखि पैदलै काठमाडाैं आएर माइतीघरमा रिले अनशनमा बसेका १३ जनालाई नियन्त्रण लिएर प्रहरीले मानव सेवा आश्रममा राखेको छ ।

माइतीघरमा शुक्रबार अनिश्चितकालीन रिले अनशन थालेका उनीहरूलाई साँझ प्रहरीले धरपकड गर्दै लिएर गएको थियो । प्रहरीले उनीहरुलाई मध्यरातमा रानीवनस्थित मानव सेवा आश्रममा पुर्‍याएको छ ।
बाहिर ५–६ जना प्रहरीले पहरा दिइरहेको आश्रमकी केन्द्रीय सदस्य सिर्जना ओलीले बताइन् ।’प्रहरीले उहाँहरुलाई राति ल्याएको हो । बाहिर प्रहरीहरु बसिरहेका छन्,’उनले भनिन् ।
१४ जनामध्ये रुबी खानलाई भने महानगरीय प्रहरी वृत्त लैनचौरमा राखिएको छ । वृतका डिएसपी दुर्गा दाहालले खानलाई आफूहरुले नल्याएको, अरु वृत्तले ल्याएकोमा जानकारी नभएको बताए ।

महिलाहरुको टोलीमै रहेकी सकिना खानले आफूहरुमध्ये ३ जना माइतीघरमा रहेको तर अरुलाई कहाँ लगिएको भन्ने थाहा नभएको बताइन् ।

न्याय माग्दा धरपकड

बाँकेको नेवाजी गाउँकी नन्कुन्नी धोबी आफ्नै घरमा मृत फेला परेको र परस्पुर गाउँकी एकल महिला निर्मला कुर्मी हराएको विषयमा स्थानीय प्रहरी–प्रशासनले चित्तबुझ्दो अनुसन्धान नगरेको भन्दै उनीहरू बुधबार काठमाडौं आइपुगेका हुन् । घटनाको सत्यतथ्य छानबिन गरी पीडितलाई न्याय दिनुपर्ने माग केन्द्र सरकारसँग राख्न काठमाडौं आउनुपरेको उनीहरूको भनाइ छ । टोलीमा ११ महिलासहित १४ जना छन् ।
२० दिन हिँडेर आएका उनीहरू शुक्रबार बिहानै ब्यानर बोकेर माइतीघर पुगेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here